तुलसी रोपण – हरिशयनी एकादशी

हरिशयनी एकादशीलाई तुलसी रोपण दिवस, देवशयनी एकादशी पनि भनिन्छ । प्रत्येक वर्षको ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राखिन्छ भने आषाढ शुक्ल एकादशीका दिन मठमा रोपिन्छ ।

तुलसीलाई वैदिक सनातन धर्मालम्बीहरूले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको पूजा आराधना गरे पनि तुलसी एक बहु उपयोगी बिरुवा मानिन्छ । धार्मिक तथा आयुर्वेदको दृष्टिकोणले पनि अति नै महत्त्वपूर्ण मानिन्छ ।

तुलसीको मुख्य दुई प्रजाति रहेको हुन्छ – कालो तुलसी र सेतो तुलसी । कालो तुलसी गाढा हरियो र कालो रङ्गको हुन्छ भने सेतो तुलसी सेतो, हल्का हरियो रङ्गको हुन्छ । यी दुवै प्रकारका तुलसीमा औषधीय गुण भरिपूर्ण रहेको हुन्छ ।

यस दिनमा नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राख्नुको साथै एक पर्वको रुपमा मनाउने गर्दछन् । पुराणहरूका मतानुशार भगवान विष्णु यस दिन देखि चार महिनासम्म (चातुर्मास) पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् । यही प्रयोजनले यस दिनलाई ‘देवशयनी’ तथा कार्तिकशुक्ल एकादशीलाई ‘प्रबोधिनी’ एकादशी भनिन्छ ।

देवशयनी एकादशी व्रतविधि

एकादशीको दिन प्रातःकाल उठेर घरको साफ-सफाई तथा नित्य कर्मबाट निवृत्त हुने । स्नान गरेर पवित्र जल घरमा छर्कने । घरको पूजा स्थल अथवा कुनै पनि पवित्र स्थलमा प्रभु श्रीहरि विष्णुको सुन, चाँदी, तामा अथवा पितलको मूर्ति स्थापना गर्ने । तत्पश्चात उसको षोड्शोपचार सहित पूजन गर्ने र त्यसपछी भगवान विष्णुलाई पीताम्बर आदिले विभूषित गर्ने । तत्पश्चात व्रत कथा सुन्नु पर्छ । त्यसपछी आरती गरेर प्रसाद वितरण गर्ने । अन्तमा सेतो चादरले ढाकेको गद्दा-तकिया भएको खाटमा श्री विष्णुलाई शयन गराउनु पर्छ । व्यक्तिलाई यि चार महीनाको लागि आफ्नो रुचि अथवा अभीष्टका अनुसार नित्य व्यवहारका पदार्थहरूको त्याग र ग्रहण गर्ने ।

देह शुद्धि या सुन्दरताको लागि परिमित प्रमाणको पञ्चगव्यको, वंश वृद्धिको लागि नियमित दूधको, सर्वपापक्षय पूर्वक सकल पुण्य फल प्राप्त हुनाको लागि एकमुक्त, नक्तव्रत, अयाचित भोजन अथवा सर्वथा उपवास गर्ने व्रत ग्रहण गर्ने ।

आजको दिन के त्याग गर्ने- मधुर स्वरको लागि गुड, दीर्घायु अथवा पुत्र-पौत्रादिको प्राप्तिका लागी तेल, शत्रुनाशादिको लागी तिलको तेल, सौभाग्यको लागि मिठो तेल, स्वर्ग प्राप्तिको लागी पुष्पादि भोग, प्रभु शयनका दिनहरूमा सबै प्रकारका मांगलिक कार्य जहाँसम्म हुनसक्छ नगर्ने । खाटमा सुत्ने, भार्यासँग मैथुन गर्नु, झूठो बोल्नु, मांस, मह र अरुले दिएको दही-भात आदिको भोजन गर्नु, मूला, पटोल एवं भण्टा आदिलाई पनि त्याग्नु पर्छ ।

तुलसीको फाइदाहरू

तुलसीको पात, बीउ, हाँगा, जरा आदि सबैजसो भाग औषधीय गुणले भरिपूर्ण मानिन्छन् । आयुर्वेदमा तुलसीको प्रयोगको कैयौँ विधि बताइएको छ ।

फाइदाहरू

– छाती दुखेमा तुलसीको पात र तोरीको तेल मिसाएर पकाई बिस्तारै छातीमा मालिस गर्दा फाइदा गर्छ ।

– तुलसीको पातको रसमा ज्वानो मिसाएर खाँदा पेटको जुकालाई मार्छ ।

– बान्ता भएमा तुलसीको रसमा अलैँची वा सुकुमेलको धुलो मिसाएर सेवन गर्दा फाइदा हुन्छ ।

– मुखको दुर्गन्ध हटाउन तुलसीको पातलाई चपाउँदा फाइदा गर्छ ।

– शीघ्र स्खलन, स्वप्न दोष, नपुंसकता, लिङ्ग शिथिलता आदिमा तुलसीको पात, डाँठको रस आदिमा मह मिसाएर सेवन गर्दा फाइदा हुन्छ ।

– कुनै पनि शारीरिक सङ्क्रमण तथा ज्वरोमा तुलसी उपयोगी मानिन्छ ।

– तुलसीको पात र बेसारलाई मिसाएर घाउ खटिरामा लगाउँदा फाइदा गर्छ ।

– खोकी लागेको बेला तुलसीको पात र अदुवाको टुक्रा पकाएर रस निकालेर मह मिसाएर सेवन गर्दा फाइदा गर्छ ।

– तुलसीको पातको रस सुत्नुभन्दा अगाडी अनुहारमा लगाउँदा डन्डिफोरबाट छुटकारा मिल्छ ।

– टाउको दुख्दा तुलसीको रसले निधारमा मालिस गर्दा फाइदा गर्छ ।

– बच्चालाई मनतातो पानीमा तुलसीको पातको रस सेवन गराउँदा पेट स्वस्थे त हुन्छ नै, छाती दुख्ने, कफ जम्ने समस्या पनि हट्छ ।

– तुलसीको रसले मुख कुल्ला गरेमा दाँत तथा गिजाबाट आउने रगत बग्न रोकिन्छ ।

– हरेक दिन तुलसीको ताजा पात मिसाएको चिया पिउँदा उच्च रक्तचाप नियन्त्रण गर्छ । साथै तनाव हटाउँछ ।

– तुलसीको पात चपाएर पनि खान सकिन्छ । पातको चूर्ण बनाई अदुवा, मरीच आदिमा मिसाई चिया बनाएर पिउँदा फाइदा गर्छ ।

– कपाल झर्नबाट रोक्न पनि तुलसीको पत्ताको धूलो उपयोगी हुन्छ ।

– तुलसीको पात पकाएर बिहान खाली पेटमा नियमित रूपमा पिउँदा अजीर्ण एवं अपचको समस्या कम हुन्छ ।

708