पद्मिनी एकादशी

हरेक तीन वर्षमा एक पटक अर्थात् अधिकमास (मलमास) को शुक्ल पक्षमा पर्ने अत्यन्तै दुर्लभ र पवित्र एकादशी नै पद्मिनी एकादशी हो। अधिकमास भगवान विष्णु (पुरुषोत्तम) को प्रिय महिना भएकाले यस दिन गरिने व्रतको फल अन्य एकादशीभन्दा सयौँ गुणा बढी हुने शास्त्रमा उल्लेख छ।

महत्त्व र पौराणिक कथा

धार्मिक विश्वास अनुसार, यस व्रतको प्रभावले जीवनका सम्पूर्ण पाप नष्ट हुनुका साथै संस्कारी सन्तान प्राप्ति र पारिवारिक सुख समृद्धि मिल्दछ। मृत्युपश्चात् मोक्ष प्राप्ति हुने जनविश्वास समेत रहेको छ।

भविष्य पुराणका अनुसार, त्रेतायुगमा महिष्मतीका राजा कृतवीर्यकी रानी पद्मिनीले सन्तान प्राप्तिका लागि माता अनुसूयाको मार्गनिर्देशनमा पहिलो पटक यो कठिन व्रत बसेकी थिइन्। व्रतको प्रभावले प्रसन्न भई भगवान विष्णुले उनलाई पराक्रमी पुत्रको वरदान दिनुभयो। पछि उनकै गर्भबाट महाप्रतापी राजा कार्तवीर्य अर्जुन (सहस्रार्जुन) को जन्म भयो, जसले रावणलाई समेत परास्त गरेका थिए। रानी पद्मिनीले सुरु गरेको हुनाले यसलाई ‘पद्मिनी एकादशी’ भनिएको हो।

पूजा र व्रत विधि

  • व्रतको सुरु (दशमी): व्रतको अघिल्लो दिन साँझमा सात्विक र हल्का भोजन मात्र गर्नुपर्छ।
  • मुख्य दिन (एकादशी): बिहान सबेरै उठेर स्नान गरी भगवान विष्णु र लक्ष्मीको पूजा आराधना गरिन्छ। आफ्नो स्वास्थ्य अनुसार निराहार (पानी पनि नपिई) वा फलाहार (दूध, फलफूल खाएर) व्रत बस्न सकिन्छ।
  • रात्रि जाग्राम: यस दिन रातको समयमा सुत्नु हुँदैन। रातभर दीप प्रज्वलन गरी भजन-कीर्तन र विष्णु सहस्रनामको पाठ गर्ने गरिन्छ।
  • व्रत समापन (द्वादशी): भोलिपल्ट बिहान पूजापाठ गरी, ब्राह्मण वा गरिबलाई भोजन र जलसहितको घडा दान गरेपछि मात्र शुभ मुहूर्तमा व्रत खोलिन्छ (पारण गरिन्छ)।

Read about अधिकमास

2622