भूमि पूजा (भुमे पर्व)

मगर समुदायले भूमिको पूजा गर्दै मनाउने पर्व हो भूमि पूजा। वर्षातमा बाढी पहिरोजस्ता प्राकृतिक विपत्ति नहोस् भन्ने कामना गर्दै पूजा गर्ने चलन छ । खाद्यान्न बालीमा प्राकृतिक प्रकोप तथा दैवी विपत्ति नहोस् भनेर परम्परादेखि नै  मगर समुदायले यो पूजा गर्दै आएका छन् । यसलाई भुमे पूजा पनि भन्ने चलन छ । मगर समुदायले असारमा रोपाई सुरु गर्नु अगावै पञ्चत्व स्वरूपमा भूमिको पूजन गर्ने गर्छन् ।

विशेषगरी रोल्पा, रुकुम, सल्यान, पाल्पा, दैलेख, जाजरकोट दाङ लगायत राप्ती अञ्चलका अधिकांस जिल्लाहरुमा धूमधामसँग भूमि पूजा गर्ने गरिन्छ । यसलाई मगर जातिले पर्वकै रुपमा मनाउने गर्दछन् । ठाउँ अनुसार भूमिको पूजा गर्ने चलन छ। भूमे पूजाको सम्बन्ध कृषि र बादलसँग रहेको छ ।

जेठको अन्तिम दिनमा लेकबाट फुल टिपेर ल्याई खेत, खरियानमा भूमे पूजा गरिन्छ । लेक अर्थात् बादलहरू रहने उच्च भूमिबाट ल्याएका फूलहरू खेतका फाँटमा राखेर पूजन गरेपछि वर्षाको कमी नहुने मान्यता छ । यस वर्ष देशभरी निकै चर्को गर्मी र खडेरी बढ्दा भ्यागुताको बिहेदेखि अन्य थुप्रै विधिहरू गरेर बर्खाको आह्वान गरिरहेको यस अवस्थामा भूमे पुजाको महत्व झन् बढेको छ । बाढी पहिरो, हुरी बतास जस्ता प्राकृतिक प्रकोपबाट बच्न र खेतीपाती राम्रो होस् भन्नका लागि भूमिको पूजाले महत्व राख्दछ । सनातन दर्शनमा भूमिलाई गौ रूप समान मानिन्छ । भूमिको पूजा गरेमा  वर्षभरि कुनै पनि बिपत्ती नआउने विश्वास गरिन्छ । यो पर्वबाट भावनात्मक एकता कायम गरी सामूहिक सोचको विकास गर्न समेत महत्वपूर्ण भूमिका खेल्दछ । यो पूजालाई मगर समुदायले सांस्कृतिक चिनारीका रूपमा समेत लिने गर्दछन् । तर यो संस्कृति पुस्तान्तरण नहुँदा भने हराउँदै जान थालेको छ । यसर्थ प्रकृति र संस्कृतिसँग जोडिएको यो पूजाको महत्वलाई थप बढाउन  र निरन्तरता दिन सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । 

2481