
चार युग सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुग को प्रारम्भ समयमा परेको तिथिलाई युगादि तिथि भनिन्छ। युग + आदि अर्थात् युगको आरम्भ हुने तिथि। जस दिन अतीत वा भविष्यमा कुनै नयाँ युग सुरु भयो वा हुनेछ, त्यसैलाई युगादि तिथि भनिन्छ।
१. सत्ययुग: कार्तिक महिनाको शुक्ल पक्षको नवमी तिथिलाई सतयुगको आदि तिथि मानिएको छ।
२. त्रेतायुग: वैशाख शुक्ल पक्षको तृतीया तिथिलाई त्रेतायुगको आदि तिथि भनिन्छ, जसलाई हामी अक्षय तृतीयाको नामले पनि चिन्छौँ। यस दिन भगवान् नारायणले दुष्टहरूको संहारका लागि भृगुवंशी भगवान् श्री परशुरामको रूपमा पृथ्वीमा अवतार लिनुभएको थियो।
3. द्वापरयुग: फाल्गुण कृष्ण अमावस्यालाई द्वापर युगादि तिथि मानिन्छ।
४. कलियुग: भाद्र कृष्ण त्रयोदशीलाई कलियुगको प्रारम्भ तिथि भनिन्छ।
यी चार युगादि तिथिहरू हुन्। यी दिनमा गरिएको दान र होमलाई अक्षय (जसको नाश वा क्षय हुँदैन) मान्नुपर्छ। युगादि तिथिहरू अत्यन्तै शुभ हुन्छन्। यस दिन गरिएको जप, तप, ध्यान, स्नान, दान, यज्ञ, हवन आदि सबैको फल अक्षय हुन्छ।
प्रत्येक युगमा सय वर्षसम्म दान गर्दा प्राप्त हुने फल, युगादि-कालमा एक दिनको दानबाटै प्राप्त हुन्छ।यो हिन्दू धर्मग्रन्थहरूमा उल्लिखित हिन्दू धर्मको एक व्रत–संस्कार हो। यसको उल्लेख नारद पुराण, हेमाद्रि, तिथितत्त्व, निर्णयसिन्धु, पुरुषचिन्तामणि, विष्णु पुराण तथा भुजबल निबन्धमा प्राप्त हुन्छ।