
भगवान् विष्णुले कूर्म (कछुवा) का रूपमा दोस्रो अवतार लिनुभएको सम्झनामा आज कूर्म जयन्ती मनाइँदैछ। सत्य युगमा वैशाख शुक्ल पूर्णिमाका दिन भगवान् विष्णुले देवताको रक्षा गर्न कूर्म अवतार लिनुभएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। वैदिक ग्रन्थअनुसार, जब पृथ्वीमा धर्म संकटमा पर्छ, तब भगवान् विभिन्न रूपमा अवतरित भई मानव कल्याणका लागि कार्य गर्नुहुन्छ। भगवान् विष्णुले मत्स्य, कूर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कीका रूपमा अवतार लिनुभएको धर्मशास्त्रविद्हरू बताउँछन्।
समुद्र मन्थनको समयमा देवता र दैत्य मिलेर मन्दराचल पर्वतलाई मदानी बनाएका थिए, तर पर्वत समुद्रमा डुब्न थालेपछि भगवान् विष्णुले कूर्म रूप धारण गरी आफ्नो पीठमा पर्वतलाई अड्याएर मन्थन गर्न मदत गर्नुभयो। यस मन्थनबाट विभिन्न रत्नहरू उत्पन्न भए, जसमा धनकी देवी लक्ष्मी, उच्चश्रवा घोडा, पारिजात वृक्ष, कोस्तुभमणि, र अन्त्यमा अमृत निस्किएको उल्लेख छ। अमृत प्राप्त गर्न देवता र दैत्यबीच १२ वर्षसम्म युद्ध भयो, जहाँ देवताहरू विजयी भए। यस घटनाले कूर्म अवतारको महत्त्व झल्काउँछ, जसले धर्म र सत्यको पक्षमा योगदान पुर्यायो।
भगवान् कूर्मले देवताहरूलाई सत्य र निःस्वार्थ कर्मको महत्त्वबारे उपदेश दिनुभयो। उहाँले भन्नुभयो कि जो घमण्ड र अभिमानमा लिप्त हुन्छ, उसले कहिल्यै सच्चा सुख प्राप्त गर्न सक्दैन। यस उपदेशअनुसार, वैशाख शुक्ल पूर्णिमाका दिन भगवान् कूर्मको पूजाआराधना गरिन्छ। यस अवसरमा श्रद्धालुहरू व्रत, कथा वाचन, तथा धार्मिक अनुष्ठान गरी भगवान्को कृपा प्राप्त गर्ने प्रयास गर्छन्। हाल विश्वभर फैलिएको महामारीको कारण धेरै भक्तजनहरूले घरमै कूर्म जयन्ती मनाउँदै पूजा गरिरहेका छन्।