ज्या: पुन्हि – पनौति जात्रा

पनौतीको ‘ज्याः पुन्ही’ जात्रा

जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमनाउने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्याउनेले कहिल्यै सुख पाउँदैनन् भन्ने स्थानीय बूढापाकाको भनाइ छ। पनौतीमा जात्रामा सामेल हुनु एक परम्परागत नियमजस्तै हो। यहाँ त्रयोदशीदेखि पूर्णिमाको रातसम्म पनौतीवासी हिलेजात्रा धूमधामले मनाउँछन्। यसपछि, भोलिपल्टदेखि नै खेतको काम सुरु गर्ने चलन छ। जात्रा सकेर रोपाइँ थाल्ने परम्परा पहिलेदेखि चलिआएको हुँदा यसलाई हिलेजात्रा वा ज्याःपुन्ही पनि भनिन्छ। जात्रा मनाएको चार दिनपछि पनौतीमा हावाहुरी चल्न थाल्छ र वर्षा सुरु हुन्छ।

यस दिन हिन्दु अनि बौद्ध मार्गी सबैले उल्लासमा साथ मनाउने गर्दछन् ।बौद्धमार्गीहरूका लागि यो दिन ज्या पुन्हि भनेर मनाउने परम्परा छ। पुन्हि भनेको पूर्णिमा हो र यस्लाई गैडु पूर्णे पनि भनिन्छ। यस दिन, राजकुमार सिद्धार्थ ज्ञानको खोजीमा घर छोडेर निस्किएको मानिन्छ।बुद्धले जब घर छोडे, उनले पत्नी र छोरा छोडेर निस्केका थिए। यसरी गृहस्थ जीवन त्यागेर परिवारलाई कष्टमा पारेको भनेर केही आलोचना पनि हुने गर्दछ। तथापि, केही बौद्ध ग्रन्थहरूमा बुद्धलाई अर्को जन्ममा ज्ञान प्राप्तिमा सहयोग गर्नकै लागि उनकी पत्नी यशोधरा त्यो जीवनमा आएकी थिइन् भनेर स्पष्ट पारिएको छ।

यहाँको जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि वर्षा हुनैपर्छ। प्रत्येक वर्ष यस्तै हुँदै आएको अनुभव पनि छ, यहाँका बासिन्दासँग। किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारीपट्टिका ब्रम्हायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्मतीबाट बासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए। त्यसैको स्मरणमा जात्रा शुरु गरिएको मानिदै आइएको स्थानीय समाजसेवी तुयुकाजी ताम्राकारले बताए। ५० मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रूपमा दुई बास पुर्याइने र एक घण्टा लगाएर तर्ने गरिन्छ। तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको ठूलो जात्राका रुपमा लिइन्छ।

जात्राअन्तर्गत त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा पूजाअर्चना गरिन्छ। साथै, ईन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा रहेको गणेशमूर्तिलाई खटमा राखी धुमधामकासाथ नगर परिक्रमा गराइन्छ। जात्राको मुख्य आकर्षण अर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र ईन्द्रेश्वरका तीन रथको भागदौडसँगै यौन क्रियाकलापमा रमाउँदै एकापसमा जुधाउने काम हुन्छ। स्थानीयवासी वृद्धाको भनाइमा पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन्। महादेव भने त्रिवेणीमा हामफाली लुक्छन्, तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन्।

भाग्ने र पिछा गर्ने कार्यका रुपमा रथ जुधाइन्छ। रथ जुधाइसँगै अविरजात्रा पनि हुन्छ। लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका ईन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन्। सोही क्रममा ब्रम्हायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन्। धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनजन्य प्रस्तुतिका रुपमा लिइन्छ। रथ जुधाउँदा जोश झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तछाडमछाड गर्छन् अनि, थाक्दैनन् पनि। रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको इन्दे्रश्वर मन्दिरका पुजारी रमेश जङ्गमले बताए। उहाँका अनुसार काम–क्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको पनि छ। जङ्गमले भने“देवतारुपी रथलाई केही वर्षदेखि दिउँसो जुधाउने गरिएको छ।”

विशेष पूजामा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य आचार्यजूहरू सुस्तरी हिँड्नुपर्छ। यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भनिन्छ। कर्माचार्य खोलापारी गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास गरिन्छ। कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठूलो अनिष्ट हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्नेले जात्रालाई निरन्तरता दिएको विश्वास गरिँदै आइएको छ। जात्रामा चिउरी र केरा खाएर घुम किन्नुपर्ने मान्यता छ। यसपछि यी सामग्रीको बिक्री पनि शुरु हुने जनविश्वास छ। जात्रामा चिउरी चपाएर जिब्रो पड्काउँदै युवायुवती हौसिएका देखिन्छन्। जात्रा अवधिभर पाहुना बोलाइ स्वागत सत्कारका साथ भोज गरिने भएकाले प्रत्येक घरमा बलिदिने प्रथा अझै कायम छ।

पनौतीमा यसदिन सार्वजनिक बिदा दिने चलन छ ।

1313