कुकुर तिहार

कुकुर तिहार वा नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीको दिन हो। यस दिन मृत्युका देवता यमराजलाई प्रसन्न पार्ने कुकुरको पूजा गर्ने गरिन्छ। कुकुरलाई यमराजको दूत मानिन्छ। कुकुर तिहारको दिन कुकुरलाई टीका तथा घाँटीमा फूलको माला लगाइन्छ। यस दिन कुकुरको सम्मान स्वरूप मासु, दूध, अण्डा र कुकुरको खाना लगायत विभिन्न खाद्य पदार्थहरू खान दिइन्छ। यस दिन कसैले कुकुरप्रति अनादरपूर्ण व्यवहार गरेमा त्यसलाई पाप मानिन्छ। 

कुकुरलाई आज्ञापालक एवम् रक्षकको रूपमा लिइन्छ। विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्दछ। कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको पाइन्छ। त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ। कुकुर तिहार विश्वव्यापी रूपमा गैर आवसीय नेपालीहरूले मनाउने गर्छन्।

पृष्ठभूमि

तिहार नेपालबाट सुरु भएको पाँच दिन लामो हिन्दू चाड हो। दसैँपछिको यो दोस्रो ठूलो चाड हो। कुकुर तिहार तिहारको दोस्रो दिन मनाइन्छ। तिहारपर्वको समयमा गाई, काग लगायत धेरै जनावरहरूको पनि पूजा गरिन्छ।

प्राचीन संस्कृत महाकाव्य महाभारतमा स्वर्ग जाने क्रममा पाँच पाण्डवलाई कुकुरको साथमा राखिएको छ। पाँच पाण्डवहरू आफ्नी पत्नी द्रौपदी र भाइहरूसँग हिमालय चढे। युधिष्ठिर र तिनको कुकुरबाहेक ती सबै बाटोमा लडेर मरे। त्यसपछि युधिष्ठिरले देवताहरूका राजा इन्द्रलाई भेटे, जसले उनलाई स्वर्गमा स्वागत गरेका थिए। स्वागत गर्ने क्रममा उनले आफ्नो कुकुरलाई पछाडि छोड्नु पर्ने शर्त अगाडि राखे। युधिष्ठिरले आफू कुकुर बिना स्वर्गमा प्रवेश गर्न अस्वीकार गरे र पृथ्वीमा फर्किने बताए। यमराज कुकुरको रुपमा आएका थिए र उनले आफ्नो रुप प्रस्तुत गरे। इन्द्र उनको कर्मबाट प्रभावित भए र युधिष्ठिरका लागि स्वर्गको ढोका खोलिदिए।

यमसँग श्यामा र शर्वरा नामका दुई कुकुर थिए जसले नरकको ढोकाको रक्षा गर्छन्। नेपाली हिन्दूहरू कुकुरको पूजा गर्नाले उनीहरूले मृत्युलाई सकारात्मक रूपमा हेर्ने विश्वास गर्छन् र कुकुरले उनीहरूको अन्तिम यात्रामा उनीहरूलाई पछ्याउँदछ। कुकुरहरूले तिनीहरूलाई नरकमा यातनाबाट जोगाउनेछन् आशा व्यक्त गर्छन्।कुकुरलाई यमको दूत मानिन्छ र उनलाई खुसी पार्नका लागि कुकुरको पूजा गरिन्छ।

Happy Tihar
1180