हनुमान जयन्तीको तिथि कात्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथी र चैत्र महिनाको शुक्ल पक्षको पूर्णिमा तिथी गरेर दुवै दिनलाई मानिएको छ ।

चैत्र महिनाको पूर्णिमाका दिन स्त्री पुरुष बाल वृद्ध सबैले पवित्र नदीमा स्नान गरेर आफूलाई पवित्र तुल्याउँदछन्, यस दिन घरघरमा लक्ष्मी-नारायणलाई प्रसन्न तुल्याउन व्रत सम्पादन गरिन्छ र सत्यनारायणको कथा श्रवण गर्ने प्रचलन छ । शास्त्रमा मतैक्य नहुनाले चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजीको जन्म दिवस मनाउने त गरिन्छ, यद्यपि वायु पुराणादि-अनुसार कार्तिक महिनाको शुक्ल चतुर्दशीका दिन हनुमान् जयन्ती अधिक प्रचिलित छ, तर पहिलो जन्म दिवस हो भने दोस्रो विजय अभिनन्दन महोत्सव हो ।
हनुमान (हनुमान्, अंजनेय र मारुति पनि) परमेश्वरको भक्ति (हिन्दू धर्ममा भगवानको भक्ति)को सबैभन्दा लोकप्रिय अवधारणाहरू मध्ये र भारतीय महाकाव्य रामायणमा सबैभन्दा महत्त्वपूर्ण व्यक्तिहरू मध्ये एक हुन। उनी केही विचारहरूको अनुसार ११औँ अवतार रुद्रावतार(रुद्र – भगवान शिवको अवतार), सबैभन्दा तागतवर र बुद्धिमान अवतार मानिन्छ। उनको सबैभन्दा प्रसिद्ध उपलब्धि, जसरी कि रामायणमा वर्णित छ, बाँदरहरूको सेनाको तथा अग्रणी रूपमा रहेको राक्षस राजा रावण सँग युद्ध।
उनलाई बजरंग बली पनि भनिन्छ किन भनें उनको शरीर एक वज्रको समान थियो। हनुमान पवन-पुत्रको रूपमा चिनिनु हुन्छ किन भनें पवन देव (हावाको देवता)ले हनुमानको पालन-पोषणमा महत्त्वपूर्ण भूमिका देखाउनुभाको थियो।
हनुमान संबन्धि कथन
हनुमान वायुका छोरा मानिएका छन्। उनले कुनै रूप धारण गर्न सक्थे। उनी रामका परमभक्त हुन्। शतरुद्र संहितामा हनुमानलाई एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ। रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनुपूर्व नै अस्तित्वमा आइसकेका थिए। यसरी रामायणभन्दा पूर्व हनुमानको अस्तित्वको आभाष भए तापनि रामायण नै हनुमानको बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो। कुस्ती खेल्ने हरेक अखडाहरू, शारीरिक स्वास्थ्य केन्द्रमा हनुमानका मूर्तिहरू स्थापना गरिएका हुन्छन्। विशेषगरी गाउँको सीमा क्षेत्रमा पनि हनुमानका मूर्तिहरू स्थापना गरिएका हुन्छन्। स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगत्मा ठूलो प्राणी कोही छैन। परब्रम्हा, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठूलो कोही पनि छैन भनिएको छ।[४]
पवन तनय ब्ल पवन समाना
बुद्धि विवेक विज्ञान निधाना |
कवन् सो काज कठिन जग माही
जो नहि होय तात तुम्ह पाहीं ||

हनुमान पुजन महत्त्व
वैष्णव सम्प्रदायमा हनुमानलाई ब्रम्हचारी, सङ्कटमोचक, सिद्धिदाता, शत्रुविजयको लागि पनि पूजा गर्ने गरिन्छ। उनको पूजा र उपासना गरेमा रोग व्याधिबाट, शत्रु बाधाबाट, राजाको भयबाट, प्राकृतिक शक्तिको बाधाबाट, पिचासी शक्तिबाट, भूतबाट, बोक्सीबाट, बतासबाट, खोलाबाट, आगोबाट, राक्षसी शक्तिको प्रकोपबाट र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने धारणा आज पनि वैष्णव सम्प्रदायका समर्थकहरूले विश्वास गर्ने गर्दछन्। वर्तमान समयमा मानिसहरू उनलाई सङ्कटमोचन, कष्टबाट मुक्ति, शत्रु विजय र भूत, पिचासबाट मुक्ति पाउनको लागि पूजा गर्दछन्। हनुमानको पूजा विशेषगरी सङ्कटबाट मुक्ति पाउनका लागि यस सम्प्रदायको मानिसहरूले गर्दछन्।विशेष गरी प्रयाभिज्ञा शक्ति, ब्रम्हचार्य शक्ति, कठोर व्रत शक्ति, बुद्धि, माधुर्य शक्ति प्राप्त गर्नको लागि हनुमानको पूजा गरिन्छ। यस मतका अनुयायीहरूले उनलाई शत्रु विजय प्राप्त गर्नको लागि पनि पूजा गर्ने गर्दछन्। हनुमानलाई भक्तियोगको लागि महत्त्वपूर्ण मानिन्छ। उनले भक्तियोग र कर्मयोगद्वारा रामको सामिप्य प्राप्त गरेका थिए। वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिको लागि पनि पूजा गर्ने चलन छ। आठ प्रकारका यौगिक शक्तिहरू अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व उनमा थिए। साथै हनुमानलाई परब्रम्हा र रौद्ररूपमा पनि स्मरण गरिन्छ।