
नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन भने इस्वी सम्बतमान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ । सो दिनमा प्रचलित परम्परा अनुसार बिभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ । यस अवसरमा आपसमा सद्भावको आदान प्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस दिन सार्वजनिक बिदा पनि हुन्छ । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ ।
नेपालमा नयाँ वर्ष

विक्रम सम्बत
विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो हो। यो पात्रो नेपाल, भारत जस्ता देशहरूमा चलनचल्तीमा रहेको छ। यो सम्वत् भारतमा भन्दा पनि नेपालमा निकै प्रचलित सम्बत् हो। यो नेपालको राष्ट्रिय पात्रो हो । यो प्राचीन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि छ । यस पात्रो अनुसार वर्षको आरम्भ बैशाख महिनाको पहिलो दिनबाट हुन्छ । विक्रम सम्बत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्बत् लाई सौर्य पात्रोमा आधारित पात्रो भनिएको हो। यस सम्बत् सूर्य सँग सम्बन्धित भएकाले यस पात्रोमा सूर्य ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् । राजा विक्रमादित्यले आरम्भ गरेको विक्रम सम्बतको नेपालमा आधिकारिक रूपमा चन्द्र शमशेरको कार्यकाल देखि प्रचलनमा आएको हो ।
🌞 किन बैशाख १ गते नै नयाँ वर्ष हो?
विक्रम सम्वत पात्रो सौर प्रणालीमा आधारित छ। सूर्य जब आकाशीय पथ (ecliptic) मा १२ वटा राशिहरू (प्रत्येक ३०°) पार गरेर ३६०° पूरा गर्छ, त्यो बेला मीन राशिबाट बाहिर निस्केर मेष राशिमा प्रवेश गर्छ। सूर्यले जब मीन राशि पार गरी नयाँ मेष राशिमा प्रवेश गर्छ, त्यसैलाई विक्रम सम्वतको नयाँ वर्ष अर्थात् बैशाख १ गते मानिन्छ।
नेपाल सम्बत
नेपाल सम्बतको आरम्भ शंखधर साख्वाले गरेका थिए । नेपाल सम्बत ११३३ वर्ष पहिले भक्तपुरका राजा राघब देवको आज्ञामा नेपालको कार्यालहरुमा चलाईएको थियो । नेपालमा औपचारिक रूपले यो सम्बत चन्द्रसम्शेर राणाको कार्यकालसम्म प्रचलनमा रह्यो । यो सम्बतको पहिलो दिन विक्रम सम्बतको कार्तिक शुक्ल पक्षको दिनमा हुन्छ । यस दिन विशेषत: नेवार समुदायले न्हुदँ अर्थात नयाँ वर्षको रूपमा मनाउने गर्दछन् ।
ल्होसार
ल्होसार तामाङ, शेर्पा, गुरुङ, थकाली आदि जातीले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । ‘ल्होछार’ शब्दमा ‘ल्हो’ को अर्थ वर्ष वा साल हुन्छ भने ‘छार’ वा ‘सार’को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ ‘नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तो : मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ । यसरी यस समुदायले बाह्र वर्षो एक युगको परिकल्पना गरेको हुनसक्छ ।
तोल ल्होसार | तमु ल्होसार | ग्याल्पो ल्होसार | सोनाम ल्होसार
इस्वी सम्बत
इस्वी सम्बत ग्रेगोरियन क्यालेण्डर वा क्रिश्चियन क्यालेण्डरमा आधारित साल हो । यसमा जनवरी १ तारिखको दिनमा नयाँ वर्षको आरम्भ हुन्छ । यो दिन विशेष ईसाई धर्मालम्बीहरूले नयाँ वर्षको रूपमा मनाउने भए तापनि हिजोआज विश्वका प्राय सबै देशहरूमा नयाँ वर्ष मनाउने गरिन्छ ।