
पुष २७ गते लाई पृथ्वी जयन्ती र नेपालको राष्ट्रिय एकता दिवसको रूपमा मनाइन्छ।
इतिहास शिरोमणी बाबुराम आचार्यको सुझावमा विक्रम सम्बत २०१२ देखि नेपालमा पुष २७ गते राष्ट्रिय एकता दिवसको रूपमा मनाउन थालिएको हो।
पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँछ ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे-चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह (वि.सं.१७७९-१८३१) शाहबंशीय राजा थिए। स-साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। यिनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ। नेपालमा २००७ सम्म त राणा शासन थियो । जब प्रजातन्त्र आयो । त्यसपछि योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्बीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रकृया शुरू गरेका थिए । त्यो भन्दा पहिले पनि मनाइन्थ्यो होला तर राणा परिवारमा कसरी मनाइन्थ्यो त्यो कुरो थाहा भएन । जनताको सहभागिता थिएन ।

२००९ सालदेखि योगी नरहरीनाथले सरकारसंग समन्वय गरेर एउटा समारोह समिति गठन गरी आफै त्यो समितिमा बसेर राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रूपमा मनाउन प्रारम्भ गरिएको हो । योगीजीले त्यो प्रयास नगरेको भए पनि पृथ्वी जयन्ती त हुन्थ्यो होला तर कुन रूपमा हुन्थ्यो ? त्यो यसै भन्न सकिदैन । तर, संस्थापक रूपमा यसको प्रारम्भ योगी नरहरीनाथकै अग्रसरतामा भयो । योगी जतिञ्जेल बाँचे, राष्ट्रहितको कार्य गरेर बाँचे । प्रत्येक वर्ष पृथ्वी जयन्तीको दिनमा एउटा न एउटा कार्यक्रम गरेर सबै नेपालीले मनाउदै आएका छन् । [२] पृथ्वीनारायण शाह ले ससाना क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ्ग गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेका थिए। पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भयो। पछि नेपाल अंग्रेज युद्ध पछि सुगौली सन्धि सम्म यो भू-भाग नेपाल अधिनस्थ थियो। नेपालको इतिहासका शीर्षस्थ एवम् श्रदेय पुरूष पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइ रहे।नेपाल एकीकरण अभियानको पूर्णविराम चाँही यिनका पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालामा भएको नेपाल-अङ्ग्रेज एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पछि भयो। वि.सं. १८७३ सालमा सुगौलीको सन्धि नहुञ्जेल सम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चल्यो ।
प्रारम्भिक जीवन
पृथ्वी नारायण शाह (राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहदेव) नेपाल भित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए। वि.सं. १७७९ पौष २७ गते बिहिबार यिनको जन्म भएको थियो।
उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती थिए। सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो। धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि उनी निपूर्ण थिए।
यिनको पहिलो विवाह मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसंग भएको थियो। गोरखा र मकवानपुर विच ओहोर दोहोर गर्नु पर्दा उपत्यकाको भूबनोट र त्यहाँको आर्थिक अवस्थालाई उनले राम्रोसँग नियाले। त्यस बखत गोरखाका १२०० घरधुरीका जनतालाई ६ महिना खान पुग्ने अन्नपात वा आर्थिक हैसियत थिएन। त्यसैकारणले उनले अन्नपातले सम्पन्न र उन्नतिशील काठमाडौं उपत्यकालाई विजय गर्ने मनसाय बनाईसकेका थिए। [३] वि.स १७९८ मा काठमाडौं आएका पृथ्वीनारायण शाहले गोरखा दरबारको तर्फबाट ल्याएका पगरी भक्तपुरका राजा रणजित मल्ललाई दिए भने त्यसको कदरस्वरूप रणजित मल्लले राजकुमार वीरनरसिंह मल्लसंग उनको मितेरी लगाई दरबारमा स-सम्मान लामो अवधिसम्म राखेका थिए। गोरखा फर्किदा चाँगुनारायण, पशुपति र गुहेश्वरी पशुपतिनाथको दर्शन गर्न गएको कुरा थाहा पाई काठमाडौंका राजा जयप्रकाश मल्लले उनलाई दरबारमा ल्याई मितेरी लगाएका थिए।
नेपाल एकिकरणको प्रयत्न
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौं स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ वर्ण र ३६ जातको फूलबारीको सृष्टि गरे। पृथ्वीनारायणको उद्देश्यलाई युगको मागका रूपमा इतिहासकारहरूले हेरेका छन्। तत्कालीन बाइसे र चौबीसे राज्यहरू, उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बुआन क्षेत्रहरू सबैतिर एउटा सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको थियो, जसको स्थान पृथ्वीनारायण शाहले पाएका थिए।

तनहुँमाथिको आक्रमण
नुवाकोट र वेलकोटको विजयपछि गोरखालीहरूले लामीडाँडामा कब्जा गरे। तर तनहुँद्वारा लामीडाँडा कब्जा गर्ने इच्छा रहेकाले तनहुँ र गोरखालीहरूबीच भिडन्तको सम्भावना बढ्यो। तर पृथ्वीनारायण शाहले गुरु गौरेश्वर पन्तलाई पठाई तनहुँको राजासंग सन्धि गर्ने भन्ने खवर पठाएकाले तनहुँका राजा त्रिविक्रम सेनविच केहि समय वार्तालाप भएपछि निर्धारित समयानुसार तिरमा लुकी बसेमा गोर्खाली सैनिकहरूले त्रिविक्रम सेनलाई वन्दी बनाई छोटो समयका लागि तनहुँमाथि कब्जा गरे। यस प्रकारको कामबाट लमजुङ, कास्की, पर्वत आदि क्रुद्ध हुने सम्भावना भएकाले वि.स. १८१० मा त्रिविक्रम सेनलाई मुक्त गरे। वि.स. १८१२ मा गोर्खाली सैनिकले लमजुङ र तनहुँका संयुक्त फौजसंग युद्ध गर्न परेको थियो। यस युद्धमा गोर्खाले ठुलो जनधनको क्षति वेहोर्न पर्यो। तर पनि नालदुम, दहचोक, महादेव पोखरी, सिरानचोकको साथै कुलेखानि, इपा, माल्टा आदिमा कब्जा भएकाले गोरखाको सिमाना मकवानपुर सम्म पुग्यो।
किर्तिपुरमाथि पहिलो आक्रमण
वि.स. १८१४ मा पृथ्वीनारायण शाहले किर्तिपुरमा आक्रमण गरे। यसमा गोरखाको तर्फ १२०० सैनिक थिए। तर किर्तिपुरले काठमाण्डौ, ललितपुर र भक्तपुरका सैनिक समेत सहयोग मागेकाले किर्तिपुरतर्फ ३०० जति सैनिक थिए। यी दुईपक्षवीच बल्खु खोलामा ६ घन्टासम्म लडाई हुँदा धेरै गोरखालीहरुले वीरगति प्राप्त गरे। किर्तिपुरको कब्जामा परेका पृथ्वीनारायण शाह राजवध गर्न नहुने नैतिक नियमको कारणले मात्र यहाँ बाचेका थिए। किर्तिपुर्को पहिलो युद्धमा विरगती प्राप्त गरेका काजी कालु पाण्डेका ठाउमा उनको छोरा वंशराज पाण्डेलाई र सेनापति पदमा शिवराम सिंह बस्न्यातका छोरा केहरसिंह बस्न्यातलाई नियुक्त गरी सैनिक पुनर्गठन गर्ने अभिभारा सुम्पिए। वि.स. १८१६ मा शिवपुरी र काभ्रेमाथि विजय प्राप्त गरे।
मकवानपुर विजय
वि.स. १८१९ को भाद्र महिनामा बंशराजपाडे र केहरसिंहले सङ्गठन गरेको सैनिक साथै महोद्दामकिर्ति शाह, दलमर्दन शाह, शुरप्रताप शाह, नन्दु शाह, दलजित शाहहरुका साथ पठाएको ठुलो संख्यामा मकवानपुरमा आक्रमण गरे। यहा १० घन्टासम्म लडाई चलेको थियो र अन्तत: दिग्वन्ध्न सेनले आत्मासम्पर्ण गरे।
गोरखा माथि आक्रमण
वि.स. १८२० मा दिग्वन्धन सेनलाई मद्धत गर्ने निहुमा तनहुँका राजा त्रिविक्रम सेन, पाल्पाको राजा मुकुन्द सेन तृतीय, कास्कीका राजा सिद्धिनारायण शाहको संयुक्त सैनिकले गोरखाको अधिनमा रहेको हर्मी, भिरकोट, धापकोट, चवांगली, धौराली, लकान्कोटमाथि आक्रमण गरी लुटपाट गरे।
किर्तिपुरमाथि दोश्रो आक्रमण
वि.स १८२१ को भाद्र महिनामा शुरप्रताप शाह, दलजित शाह र श्री हर्ष पन्तको नेतृत्वमा किर्तिपुर माथि दोर्श्रो आक्रमण भयो। यस युद्धमा पनि किर्तिपुरलाई पहिले जस्तै उपत्यकाबाट सैनिक सहयोग प्राप्त नभए पनि किर्तिपुरका जनताले गोर्खाली सैनिकलाई गोपुर किल्ला तोडी किर्तिपुरमा प्रवेश गर्ने मौका दिएनन। यस युद्धमा किर्तिपुरद्वारा निशाना लगाइएको तिरबाट शुरप्रतापको आँखा फुट्नुका साथै अन्य केहि फौज फर्कन वाध्य भए।
किर्तिपुरमाथि तेस्रो आक्रमण
किर्तिपुरमाथि तेस्रो पटकको युद्धको नेतृत्व काजी वंशराज पाडेले लिएका थिए। उनले चारैतिरबाट गोपुर किल्लालाई घेरी खेतालाका रुपमा केहि सैनिक किर्तिपुर पठाए। त्यसबखत किर्तिपुरमा धान भित्राउने समय परेकाले वंशराज कीर्तिपुरेहरुलाई आत्मसम्पर्ण गर्न भने। यो युद्धमा किर्तिपुरलाई छिमेकी राज्यहरुबाट सैनिक सहयोग भएको थिएन। वि.स. १८२२ चैत्र ३ गते धनवन्त काजीले गोपुर किल्लामा आत्मसम्पर्ण गरे।
सल्यानसंगको सम्बन्ध
वि.स १८२३ मा सल्यानी राजा श्रीकृष्ण शाहका छोरा रणभिम शाहसंग आफ्ना छोरी विलासकुमारीको विवाह गराई मैत्री सम्बन्ध कायम गरे। छिल्ली, दाङ, देउखरीलाई दाइजोको रुपमा दिए।
काठमाडौं उपत्यका माथिको आक्रमण
किर्तिपुर गोर्खाको कब्जामा पर्न गएका निकट भविष्यमै उपत्यकामा आक्रमण सम्भावना भएकाले जयप्रकाश मल्लले ललितपुर र भक्तपुरका राजाहरूसंग वैठक गरी गोर्खा सैनिकको विरुद्ध सशक्त सैनिक अभियान गर्नुपर्ने विचार व्यक्त गरेका थिए। तर ललितपुर र भक्तपुरका राजाले अनुकुल प्रतिक्रिया नजनाएकाको र गोर्खालीको पहिलो आक्रमण कान्तिपुरमै हुनेछ भन्ने ठानी जयप्रकाश मल्लले अंग्रेजहरूसंग सैनिक तथा हातहतियारको सहयोग मागे। राजा जयप्रकाश मल्ललाई सहयोग गर्न वि.स. १८२३ मा किनलकको नेतृत्वमा २४०० सैनिक पूर्वी नेपालको सिन्धुलीगढी हुदै काठमाण्डौतिर बढ्यो। यो कुराको जानकारी पृथ्वीनारायण शाहलाई पहिले नै भएकाले सिन्धुलीगढीको रक्षार्थ बिरभद्र पाडेँ र वीरभद्र उपाध्याय र वंशु गुरुङको समुह ढुंगेवासमाथि आइपुग्दा वंशु गुरुङले प्रत्यासित रुपमा चढाई गरे भने अघि बढीसकेको फौजमाथि वंशराज र वीरभद्र उपाध्यायको फौजले पौवागढीमा आक्रमण गरेकाले सारा अंग्रेज फौज आफुसंग रहेको हातहतियार र बन्दुकहरू छाडी आफ्नो प्राण बचाउन जङ्गलतर्फ भागाभाग गरे।
कान्तिपुरमाथि आक्रमण
पृथ्वीनारायण शाहले उपत्यकालाई चारैतर्फबाट घेरी नाकाबन्दी गरेकाले उपत्यकामा चरम आर्थिक सङ्कट छाएको थियो। त्यसमा पनि काठमाडौंका राजा जयप्रकाश मल्ल कठोर विचार, घमण्डी र संकालु प्रवृतिका भएकाले रानी र भारदारहरू रिसाई उनलाई पदच्युत गरी उनका छोरा राज्यप्रकाश शाहलाई राजा बनाएका थिए। तर पछि उनले पुन: आफ्नो सत्ता प्राप्त गरे तर उनलाई आफ्नो छोरा, रानी र भारदारहरूको सहानुभूति प्राप्त भएन। आफ्नो शक्ति कायम राख्न विदेशी सैनिक झिकाई देवी देवताको गुठि मासेकाले धर्मप्राण नेपाली जनता क्षुब्ध भएका थिए भने विदेशी सैनिकलाई बढी तलब समेत दिने गरेकाले कान्तिपुरका सैनिकमा निराशा उत्पन्न भएको थियो।
ललितपुरको पतन
यस्तो स्थति बुझेर पृथ्वीनारायण शाहले वि.स. १८२५ आश्विन १३ मा इन्द्र जात्राको समय पारि नरदेवी, टुडिखेल र भिमसेनस्थान गरी ३ तर्फबाट आक्रमण गरी कान्तिपुर माथि विजय गरे। राजा जयप्रकाश मल्ल भागेर ललितपुरका राजा तेजनरसिह मल्लका गई शरण लिए। वि.स १८२५ आश्विन २५ गते पृथ्वीनारायण शाहले धनवन्त र केहरसिंहलाई ललितपुर पठाई आत्मसम्पर्ण गराउन पठाए। पाटनका राजाले विना कुनै युद्ध भागे ।
भक्तपुर विजय
काठमाडौंका राजा जयप्रकाश मल्ल र ललितपुरका राजा तेजनरसिह मल्ल भागेर भक्तपुरका राजा रणजित मल्लको शरणमा पुगे। राजा रणजित मल्लले आत्मासम्पर्णको सट्टा छिमेकी राज्य र अंग्रेजसंग समेत सीक सहयोग मागेकाले अनावश्यक ढिलासुस्ती गर्न झुने सम्झी भक्तपुर माथि आक्रमण गर्न वंशराज पाण्डे, कहरसिंह बस्न्यात, रामकृष्ण कुँवर, अमरसिहं थापा, कालीदास खड्का आदिका साथ १५०० सशस्त्र फौज पठाए। भक्तपुरमा युद्ध भयो जसमा ठुलो जनधनको क्षति भयो। झन्डै २००० भन्दा बढीको मृत्यु र ५०० भन्दा बढी घर ध्वस्त भयो। हार स्वरूप वि.स. १८२६ मंसिर १ गते रणजित मल्लले आत्मासम्पर्ण गरे। यसै युद्धमा जयप्रकाश मल्लको खुट्टामा गोलि लाग्यो। उनको इच्छा अनुसार पृथ्वीनारायण शाहले उनलाई पशुपति जाने व्यवस्था मिलाईदिए। ६७ वर्षीय वयोवृद्ध मितबाबु रणजित मल्लले इच्छाबमोजिम उनलाई काशीबासको उचित व्यवस्था मिलाए। त्यहा पुगेको १८ महिना पछि उनको मृत्यु भयो। ललितपुरका राजा तेजनरसिंह मल्लले कुनै इच्छा व्यक्त नगरेकाले उनलाई आजीवन भक्तपुर दरबारमा कैद गरियो।
चौबीसे राज्यमाथि आक्रमण
उपत्यकाका तिनैवटा शहरमा अधिकार कायम भएपछि पृथ्वीनारायण शाहले पश्चिममा चौबिस राज्य विजय गर्न वि.स. १८२८ मा वंशराज पाण्डे र केहरसिंह बस्न्यातको नेतृत्वमा पठाएको फौज र चौविस राज्यका संयुक्त फौजबीच वि.स. १८२८ मा घमासान युद्ध भयो। १६ घण्टाको अविरल युद्ध हुँदा केहरसिंह बस्न्यातसहित ५०० भन्दा बढी गोर्खालीले वीरगत प्राप्त गर्नुका साथै वंशराज पाण्डे, प्रभु मल्ल जस्ता सेनापतिहरु पनि शत्रुको कब्जामा पर्न गएकाले रणवीर पाँडे र प्रभु मल्लले आफ्ना हातहतियार शत्रुलाई बुझाई बाँकी सैनिक लिई निराश भई पराजित अवस्थामा काठमाडौं पुगे। पृथ्वीनारायण शाहले आफ्ना हातहतियार शत्रुपक्षलाई सम्पर्ण गर्नेहरुको जागिर समाप्ति गरी बन्दुक मोल बापत ६० रुपैयाँ लिएका थिए। यो पराजयले गोर्कालीहरुको महत्वकांक्ष, मान, प्रतिष्ठामा चोट लागेको थियो भने शत्रुहरुमा गोर्खा विरुद्ध कडा मुकाविला गरेमा विजय हुन् सकिन्छ भन्ने प्रतिरक्षात्मक भावना जागृत गरेको थियो।
मृत्यु
वि.सं. १८३१ (सन् १७७४) मंसिरको मध्यतिर जाडो छल्न नुवाकोट गएका पृथ्वीनारायण शाह नुवाकोट दरबारमा बिमारी परे । स्वास्थ्य झन्-झन् खराब हुँदै गएपछि उनैको इच्छाअनुसार त्यहाँको देवीघाट लगियो । नौ दिनसम्म घाटमै रही माघ १ गते बिहान सात बजे उनको निधन भयो । कतै कतै सिकार खेल्न गएको बेलामा बाघको आक्रमणमा परी गहिरो चोट परी घाइते भएको हिँदा मृत्यु भएको समेत उल्लेख छ। घाटमै राखिएको बेला उनले नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा उपदेशहरु दिएका थिए, जसलाई ‘दिव्य उपदेश’ समेत भनिन्छ। “नेपाल दुई ढुंगाबीचको तरुल जस्तो रहेछ। दक्षिणको बादशाह महाचतुर रहेछ। जाइकटक नगर्नु, झिकी कटक गर्नु। नेपाल चार वर्ण, छत्तिस जातको साझा फूलबारी हो।” इत्यादि सान्दर्भिक उपदेशहरु पृथ्वीनारायण शाहले दिएका थिए। माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा उकुच र ठेउला आएर नुवाकोट जिल्लामा पर्ने त्रिशुली र तादी नदीको संगम ‘मोहन तिर्थ’ वा देवीघाटमा उनको मृत्यु भयो।
दिव्योपदेश
श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह आफ्नो अन्तिम समयमा शेरा दरबार दिएका दिव्योपदेशका कारणले चर्चित छन् । उनका उपदेशहरू आजपनि समय सान्दर्भिक रहेको धेरैको बुझाइ छ । पृथ्वीनारायण नारायण शाह भन्दथे कि “बुढाहरू मर्दा कोहि अर्ति दिन्छन्, पछिल्ला पुस्तालाई ती कुर घतिला हुनाले एकले अर्कालाई भन्दै राज्य सञ्चालन गर्दै जान्छन् । पृथ्वीनारायणले आफ्नो अन्तिम समय तिर भारदारहरूलाई उपदेश दिएका दिए । उनका अन्तिम सन्देशहरूबाट त्यस्ता पेचिला र चोटिला कुराहरू झल्कन्छन्।