
काठमाडौँको पशुपति क्षेत्रस्थित देवपाटनमा हरेक वर्ष आषाढ कृष्णपक्ष भलभल अष्टमीका दिन त्रिशूल जात्रा मनाइन्छ। यो जात्राको ऐतिहासिक पृष्ठभूमि तान्त्रिक परम्परा र लोककथासँग जोडिएको छ। किंवदंती अनुसार, प्राचीन कालमा नागार्जुन पहाडबाट आउने राक्षसहरूले देवपाटनका बालबालिकालाई मारेर खाने गर्दथे। यस समस्याबाट मुक्ति पाउन तान्त्रिक भूमि आचाजुले राक्षसका बालबालिकालाई तन्त्रशक्तिले मारी त्रिशूलमा रोपेर नगर परिक्रमा गराएका थिए। त्यसैको सम्झनामा राजा अमर मल्लको पालादेखि अष्टमातृका देवीहरू जगाई यो जात्रा चलाउन थालिएको मानिन्छ।
जात्राको अर्को महत्वपूर्ण र रोचक पक्ष भूमि आचाजुको पारिवारिक वियोगसँग जोडिएको छ। पूजाका क्रममा देवीलाई झुक्किएर आफ्नै छोरा बलि दिएका आचाजुले छोरालाई पुनर्जीवित पार्न अमृतको घडा लिन जाँदा, उनकी श्रीमतीले काठमाडौँका माइती खलकको कुरा सुनेर धैर्यता गुमाउँदा छोराको अन्त्येष्टि भइसकेको थियो। यसै घटनाका कारण काठमाडौँवासीसँग क्रुद्ध बनेका देवपाटनवासीहरूले जात्राका क्रममा काठमाडौँका बासिन्दालाई गालीगलौज गर्ने अनौठो परम्परा अझै जीवित छ।
चार दिनसम्म चल्ने यस जात्रामा भुवनेश्वरी, जयवागीश्वरी, वत्सलेश्वरी लगायतका देवीहरूको खट यात्रा गरिन्छ। भण्डारी थरका श्रेष्ठ नेवारहरूको नेतृत्वमा हुने यस जात्रामा बालबालिकाहरूलाई त्रिशूलले घोपे जस्तो गरी (प्रतिकात्मक रूपमा) खटमा राखेर नगर परिक्रमा गराइन्छ। तान्त्रिक विधिबाट सञ्चालन हुने यो जात्राले उपत्यकाको प्राचीन संस्कृति, तन्त्र विद्या र स्थानीय जनविश्वासलाई उजागर गर्दछ।