भलभल अष्टमी

नेपालको ऐतिहासिक एवं सांस्कृतिक सहर भक्तपुरमा ‘भलभल अष्टमी’ लाई नवदुर्गा गणको देहावसान हुने अर्थात् अन्त्येष्टिको दिनका रूपमा विशेष महत्वका साथ मनाइन्छ। यस दिन आठ महिनासम्म नगरका विभिन्न टोल तथा उपत्यकाका अन्य स्थानमा नाच प्रदर्शन गर्ने नवदुर्गा देवगणको विसर्जन गरिन्छ। धार्मिक विश्वास अनुसार, भलभल अष्टमीको रातमा नवदुर्गाले प्रयोग गर्ने मुकुटहरूलाई तान्त्रिक विधिपूर्वक ब्रह्मायणी पीठको परिसरमा जलाएर अन्त्येष्टि गरिन्छ। यसरी मुकुट जलाउनुलाई देवगणको भौतिक शरीर त्याग गरी मोक्ष प्राप्त गरेको मानिन्छ र सोही दिनदेखि नवदुर्गा द्योंछें (देवता घर) मा नियमित पूजाआजा समेत बन्द हुने गर्दछ।

सांस्कृतिक एवं प्राकृतिक दृष्टिकोणले पनि यो दिनको छुट्टै विशेषता छ। ‘नदी वेगेन शुद्धति’ भन्ने मान्यता अनुसार, वर्षायामको यस समयमा हनुमन्ते खोलामा ठूलो बाढी (भलभल) आउने र त्यसले नदीको फोहोर बगाएर शुद्ध बनाउने विश्वास गरिन्छ। सोही कारण यस तिथिलाई ‘भलभल अष्टमी’ भनिएको हो। यस दिन विसर्जन भएका नवदुर्गा देवगणको पुनः जन्म विजया दशमीको दिन हुने जनविश्वास छ। तन्त्रमन्त्रद्वारा प्रतिष्ठित यी मुकुटहरूको विसर्जनपछि समाजमा अनिष्ट हुन सक्ने डरले भक्तपुरवासीहरूले सुरक्षाका लागि ‘पासुका’ (रक्षाबन्धन) लगाउने परम्परा समेत रहेको छ।

2492