परासिमा त्रिवेणीमेला

नवलपरासीको त्रिवेणीमा माघे औँसीका दिन बिशाल मेला लाग्ने गरेको छ । विनयी त्रिबेणी गाऊपालिका वडा नं.६ त्रिबेणी धाममा करिब एक हप्ता सम्म चल्ने मेलामा बिशेष गरी माघे औशीको दिन त्रिबेणी धाम स्थित नारायणी नदिमा स्नान पश्चात सुर्यको अराधना गर्दा पुण्य प्राप्त हुने बिश्वास गरिन्छ । एतिहासिक एव पर्यटकिय क्षेत्र मानीने त्रिवेणी धाममा नारायणी, सोन भद्र र पुर्ण भद्र नदिको संगम स्थल मानिन्छ । त्रिबेणी धाममा माघे औशीको दिन हरेक बर्ष मेला लाग्ने गरेको छ ।

भारतको विहार, उत्तर प्रदेश र नेपालका विभिन्न स्थानबाट भक्तजन यहाँ स्नान गर्न र पूजापाठ गर्न आउछ । अघिल्लो दिनबाटै आएका भक्तजन त्रिवेणी धाममा दर्जनौँ मठमन्दिरमा रातभर भजनकीर्तन गरेर रात कटौछन्।

माघे औँसीमा त्रिवेणी धाममा स्नान गर्न देवतासमेत आउने जनविश्वास रहेकाले औँसीमा यहाँ स्नान गर्नाले पुण्य मिल्ने परापूर्वकालदेखिको विश्वास रहिआएको छ ।

स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी नदीको सङ्गमस्थल त्रिवेणीधाम भएकाले र महिनामा माघ श्रेष्ठ महिना भएका कारण औँसीका अवसरमा बाबुआमा नहुनेले यहाँ श्राद्ध गर्ने र दान दिने चलन रहि आएको छ। त्रिवेणी धाम त्रेता युगमा वाल्मीकी ऋषिको तपोभूमि, लवकुशको जन्मस्थल, सीतामाता धर्तीमा पाताल प्रवेश गरेको स्थल भएकाले यो स्थान प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल हो।

परापूर्वकालमा हात्ती र गोहीको लडाइँमा भगवान् नारायणले अवतार लिएर हात्तीलाई मोक्ष दिलाएको कारण यस धामलाई गजेन्द्र मोक्ष धाम भन्ने गरिएको जनविश्वास रहँदै आएको छ।

त्रिवेणी धामको महत्त्व ।

यसको महिमागान वराह पुराण र स्कन्द पुराणको हिमवत्खण्डले पनि गरेका छन् । त्रिवेणी धाममा गजेन्द्रमोक्ष, भक्तेश्वर शिव मन्दिर, लक्ष्मी वेंकटेश्वर मन्दिर, नागाबाबा कुटी, राधाकृष्ण मन्दिर, कोटिहोम यज्ञशाला, संस्कृत विद्यालय र सुन्दर बगैंचाहरू छन् । यो स्थान प्राकृतिक रूपमा सुन्दर र धार्मिक रूपमा महत्वपूर्ण छ । स्नान, पितृतर्पण, श्राद्ध, उपनयन, कर्णभेदन, अन्नप्राशन, चूडाकर्म तथा अन्य संस्कारहरू सम्पन्न गर्ने उपयुक्त स्थानका रूपमा त्रिवेणी धामलाई नै लिने गरिएको पाइन्छ ।

कात्तिक मेला, कुम्भ मेला, रामनवमी, व्यास पूर्णिमा, होली, छठ र बुद्ध जयन्तीका अवसरमा यहाँ ठूलठूला मेला लाग्दछन् । त्यति बेला तीर्थयात्रीहरूको ठूलो भीड लाग्ने गर्दछ । त्रिवेणी धामका मेलामा नेपालका भन्दा भारततिरका श्रद्धालुहरूको ज्यादा घुइँचो हुने गर्दछ । त्रिवेणीको स्नान अति उत्तम मानिन्छ । स्वर्गबाट देवता र अप्सराहरूसमेत यहाँ स्नानका लागि आउने गर्दथे भन्ने जनविश्वास छ ।त्रिवेणी धामको ख्याति जनक वंशदेखि चलेको मानिन्छ । तसर्थ यस स्थानको महिमा राम–सीता तथा रामका गुरु वाल्मीकिसँग पनि गाँसिएको छ ।
नारायणी नदीको किनारमा रहेको हुनाले पनि यसको धार्मिक महत्व ज्यादा रहेको हो । नारायणी नदीमा शालिग्राम नदीका रूपमा रहेको कालीगण्डकी मिसिने र शालिग्राम विष्णुको प्रतिरूप मानिने हुँदा त्रिवेणी धाम वैष्णव तीर्थका रूपमा पनि प्रसिद्ध छ । नजिकै वाल्मीकि आश्रम, हरिहरक्षेत्र र देवघाट लगायतका अन्य प्रसिद्ध तीर्थहरू रहेकाले पनि त्रिवेणी धामको महत्व बढेको हो ।

2329