
बैशाख शुक्ल पूर्णिमाको दिन धेरै महापुरुषहरुको यस धर्तिमा पर्दापण भएको छ, यिनै महान पुरुष र सिद्धयोगीहरुमा गुरु गोरखनाथको पनि नाम आँउदछ । वैशाख महिनामा पर्ने पूर्णिमा लाई चण्डी पूर्णिमा भनिन्छ। यसै दिन बुद्ध जयन्ती, कूर्म जयन्ती, उभौली पर्व अनि गोरख नाथ जयन्ती पनि पर्दछ। नाथ सम्प्रदायका शुरुवात गर्ने यि महान सिद्धयोगीको जन्म भएको यस पावन दिनका धेरै महत्वपूर्ण आयामहरु छन् । गुरु मत्स्येन्द्रनाथ नेपालको बुगंमतीमा जन्म भएका काठमाण्डौवासीका इष्ट गुरु, सहकालका देवता अनि सिद्ध गुरु हुन्, यिनै सिद्ध गुरुका पुत्र अनि शिष्यका रुपमा गुरु गोरखनाथको धर्तिमा आगमन भएको हो । गोरखनाथ मठका अनुयायीहरुले गुरु गोरखनाथ जयन्ती या गुरु गोरखनाथको जन्म अनि मृत्यूमा बिश्वास गर्दैनन, उनीहरुका अनुसार गोरखनाथ गुरु अनन्तकाल देखि विधमान सिद्ध गुरु जो जीवन मृत्यूको चक्रवाट विल्कुलै अलग हुनुहुन्छ ।
नेपालको राजपरिवार पनि गुरु गोरखनाथको कृपाले पुलकित भएक कथनहरु छन्, गोरखा राज्यको नाम पनि गोरखनाथसंग मेल खान्छ यद्धपी गोरखाको नाम र गोरखनाथ बिचको आधिकारिक समबन्ध भनें पाइएको छैन । पृथ्वी नारायण शाहलाई पनि गुरु गोरखनाथले एकीकरणपूर्व दर्शन दिएका कथनहरु आजसम्म पनि दुरुस्तै सुनिन्छ ।
नाथ सम्प्रदायका अनुसार विष्णुले आफू कलमको फूलमा बिराजमान हुँदा श्रृष्टि गर्ने इच्छा राख्दा आफू वरिपरि पानी मात्रै पाएका अनि पाताल मा गुरु गोरखनाथलाई भेट गरेर गोरखनाथले दिएका खरानी पानीमा छरेपछि त्यस खरानीको प्रतापले भुँई भएको कथन छ । हुन पनि हो, गोरखको कर्थ नै धर्तिको रक्षा भन्ने बुझिन्छ । आदिनाथ महादेवका शिक्षाहरुलाई सरलीकृत गर्दै सनातन संस्कारको रक्षा अनि जागरणलाई अगाडि बढाउनमा गुरु गोरखनाथको उल्लेखनीय योगदान छ ।