
यस दिन गणेशको व्रत बस्दा धनदेखि मनले चिताएको सम्पूर्ण पूरा हुने विश्वास गरिन्छ । मंगलबार मंगल ग्रहले प्रतिनिधित्व गर्ने बार हो । त्यस्तै चतुर्थी तिथि भगवान गणेशजीको उत्त्पति भएको तिथिको रुपमा लिइन्छ । गणेशजी जन्मिएको दिन मंगलबार र चतुर्थी तिथिको संयोग परेकाले त्यस दिनलाई मंगल चौथी भनिएको हो । यसलाई ‘मङ्गल चतुर्थी’ र ‘अङ्गारक चतुर्थी’ पनि भन्ने गरिन्छ।
यस्तो संयोगलाई गणेशको पूजाआराधना र प्रसन्नताका निम्ति अत्यन्त महत्त्वपूर्ण तिथिका रूपमा लिइएको छ । मंगल चौथीको दिन गणेश भगवानको स्मरण गर्दै व्रत बस्ने वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुको परम्परा छ ।
गणेशपुराणको उपासनाखण्डमा भगवान् गणेशको जन्मवृत्तान्त छ। यस वृत्तान्तमा बताइए बमोजिम गणेशको जन्म भाद्र महिनाको शुक्ल पक्षको चतुर्थी तिथिका दिन भएको हो। प्रत्येक वर्ष यस दिनलाई ‘गणेश चौथी’ भनेर मान्ने गरेको पाइन्छ। सामन्यतया नेपाली परम्परामा यो पर्व तीजको भोलिपल्ट र ऋषिपञ्चमीको अघिल्लो दिन पर्ने गर्दछ। भगवान् गणेशको जन्म भएको उक्त दिन मङ्गलबार नै थियो भन्ने विश्वास गरिन्छ, त्यसैले चतुर्थी र मङ्गलबारको संयोग भएको दिनको महत्ता बढेको हो भन्ने विश्वास छ।
यस दिन व्रत बसे सम्पूर्ण अनिष्टबाट बच्न सकिने, सन्तान प्राप्ति, विद्या, बुद्धि, काम शिद्ध हुने, मांगालिक योगको प्रभाव नहुने र मानसम्मान मिल्ने धनप्राप्ति गराउने गणेश पूराणमा उल्लेख छ । उनलाई बिघ्नहर्ताको रुपमा पनि लिइन्छ । त्यसैले कुनै पनि कार्यमा बाधा आइरहेको छ भने पनि उनको स्मरण गर्दै पूजाआराधाना र व्रत बस्दा समाधान हुने विश्वास रहिआएको छ ।
मंगलबार भगवानको व्रत बस्न इच्छुक व्रतालुले यस दिनबाट प्रारम्भ गरेमा शुभ हुने बताइएको छ । त्यति मात्र होइन, कुनै पनि शुभ कार्य यसै दिनबाट सुरु गर्दा फलदायी हुने विश्वास गरिन्छ ।