
गुरही अर्थात गुरिया पर्व थारु समुदायको सबैभन्दा जेठो पर्व मानिन्छ । श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथिको यस पर्वलाई महिनाको हिसाबले जेठो पर्व चाहिँ मानिँदैन किनभने थारु समुदायको नयाँ वर्ष माघे सङ्क्रान्ति बाट सुरु हुन्छ र यस हिसाबमा गुरिया पर्व जेठो या पहिलो पर्वका रूपमा पर्दैन । तर मानव जीवनको बिकासक्रमलाई आधार मानेर गुरिया पर्वलाई बाल पर्व का रूपमा मान्दै पहिलो पर्व भएको हुनसक्छ । भाइ बहिनीको माया प्रेमको प्रतिकका रूपमा यस पर्वमा थारु महिलाहरूले गुडिया अर्थात् पुतली बनाउने गर्दछन् भनेँ पुरुषहरूले त्यस गुरियालाई सोँठा, कोर्रा या लट्टीले चलाउँदछन र खेल्छन् । यसरी बालापनमा खेलिने भाँडाकुँडीको झल्को दिने यस पर्वले गुडियासंगै आफ्ना पीडा, रोग व्याध र कष्टहरू जाने विश्वासका साथै भातृत्वको एक मिठो दृष्टान्त उजागर गर्दछ ।
गुरिया भनेको के हो ?
गुडिया बाट आएको गुरिया सामान्यतया खेल्ने पुतली भनेर पनि बुझ्न सकियो भनेँ गुरही भनेको चाहिँ तराई भेगमा पाइने, खोला या नदी किनार अनि बालीहरूमा देखिने पुतली जस्तो देखिने र उड्न सक्ने किरा हो । पश्चिमी नेपालका कैलाली, कञ्चनपुर, दाँङ्ग तिर यसलाई गुरिया भनिन्छ भनेँ कसै कसैले यसलाई झिंगौरा पनि भन्छन् । मध्यपहाडि भागमा भनेँ यसलाई गाइने किरा पनि भनिन्छ । हेलिकोप्टर जस्तो देखिने र विभिन्न रङ्गहरूमा पाइने भएकाले यस किरालाई हेलिकोप्टर किरा पनि भनिएको पाइयो ।
पश्चिमी थारु भाषामा गुरिया भन्नाले मोतीको माला भन्ने अर्थ पनि लाग्दछ पनि तर गुडिया बनाउने पर्व भएकाले यस पर्वको नाम गुडिया बाट नै गुरिया भएको विश्वास गरिएको पाइन्छ ।
के के गर्छन् गुरही (गुरिया) पर्वमा?

गुरही (गुरिया) पर्व नाग पञ्चमीको दिनमा मनाइन्छ । जुन दिनमा थारु समुदायका घरहरुमा खुर्मा, बरिया (पुरी जस्तै परिकार) जस्ता तेलमा पकाइने परिकारहरु बनाउने गरिन्छ । साथै घर घरमा घुघरी (चना, केराऊ, मटरा आदि तेलमा पकाइएको परिकार, मकैको भुजा) तयार गर्ने गरिन्छ । गच्छे अनुसार घरमा अन्य खानेकुरा पनि बनाउने गर्दछन् । केटीहरु, महिलाहरु चिरकुट (कपडाका रङ्गीचङ्गी टुक्राहरु) बाट पुतला बनाउने गर्दछन् । कसैले ती पुतलालाई गुरही (गाइने किरा) मानी पिट्ने गर्दछन् भने कसैले ती पुतला (गुडिया, गुरिया) लाई बहिनीका अवगुण मानी पिट्ने गर्दछन् । पुतला पिट्ने सोंटा, कोर्रा रारा र मूँज (ढकिया बनाउँदा प्रयोग गरिने सामाग्री)को प्रयोगले सुन्दर, रङ्गीचङ्गी बनाइएको हुन्छ । ठूला केटा वा पुरुषले सोंटासँग खासै)सरोकार राख्दैनन्, उनीहरु गुरही (गुरिया) पिट्दा सामान्य लट्ठी, केराका हरियो डाँठले पनि पिट्ने गर्दछन् ।साँझपख, सूर्यास्त हुने बेलातिर केटीहरु, महिलाहरु गुडिया (गुरीया) र घुघरी लिईआफ्नो भेषभूषामा सजिएर चौबाटो-चौराहामा पुग्छन् । केटाहरु, पुरुषहरु पनि आफ्नो भेषभूषामा सोंटा, कोर्रा, लट्ठी लिई चौराहा (चौबाटो) पुग्छन् । गुरुवाले कुश राखी, मकैको भुजा, दारु, घुघरी चढाई पुजा गरिसकेपछि जम्मा भएका केटीहरु, महिलाहरु गुरिया(गुरही) चौराहामा फाल्छन् र केटाहरु, पुरुषहरु सोंटा, कोर्रा, लट्ठीले पिट्छन् ।
गुरिया (गुरही) पर्वबारेमा कथा/किम्बदन्ती
गुरिया/गुरही पर्वबारे एउटा कथा छ। पौराणिक काललाई हेर्ने हो भने आर्य र अन्य जातिबिच प्रतिस्पर्धा र समय समयमा बैरभाव भएको देखिन्छ। त्यतिबेला आर्य र नागवंशको बैबाहिक सम्बन्ध पनि थियो र समयक्रममा बैरभाव पनि। ऋषि जरत्कारुको पत्नी नाग जातिकी थिइन्, जसबाट आष्टिक ऋषि जन्मेका थिए। पाँच पाण्डवका माता कुन्तीका माता पनि नाग कन्या थिइन्। महाभारतका अभिमन्युका पुत्र राजा परिक्षित थिए, जसलाई तक्षक नागले डसेको थियो। परिक्षितका छोरा जन्मेजय राजा भएपछि सोही रीसले नागजातिको भीषण संहार गरेका थिए। तर समय बित्दै जाँदा तिनै तक्षक नागको चौथो पिंढीको एक कन्याको बिबाह, राजा परिक्षितको चौथो पिंढीमा हुन पुगेको थियो। केहि समयपछि बिबाहित ती नाग कन्याले एक महिलासँग आफू नाग बंशको भएको र यो कुरा कसैसँग नभन्न आग्रह गरिन्। ती महिलाले अर्की महिलासँग पनि उनी नाग वंशकी कन्या भएको तर अरुलाई नभन्न आग्रह गरिन्। यसो गर्दागर्दा यो कुरा शहरमा फैलियो र नाग वंशका महाराजसम्म पुग्यो। महिलाको मनमा कुनै पनि कुरा लामो समयसम्म टिक्दैन भन्ने रीसले राजा आगो भए र शहरका सबै केटी, महिलाहरुलाई चौराहामा जम्मा गर्न लगाए। उनले सबैलाई कोर्राले पिट्न लगाए र मारे। त्यस बेलादेखि नै गुडिया पिट्ने चलन चलेको हो भन्ने पनि एउटा भनाई छ।
एउटा रोचक प्रसङ्ग यस्तो छ। एक शहरमा राजाका छोराछोरी (दाजु–बहिनी) बस्थे। उनीहरु एकअर्कालाई निकै माया गर्थे। दाजु चाहिं भगवान भोलेनाथ र कालीका भक्त थिए र दिनदिनै मन्दिर जान्थे। जहाँ एउटा नाग देखिन्थ्यो। उनले नागलाई दिनदिनै दूध खुवाउँथे। सर्प भगवान भोलेको अति प्यारा प्राणीमध्ये पर्छ, उनको गहना मानिन्छ। भक्त बालकलाई देखेर नाग निस्कन्थ्यो। उ बालकको खुट्टामा मायाले लतपटिन्थ्यो र मणि छोडेर बिलाउँथ्यो। एक दिन पुजा गर्न निस्कने बेला बहिनीले आफू पनि मन्दिर जाने अड्डी लिइन्। दुबैजना चना, केराउ, मटराको घुघरी, दूध, (परिकार), मकैको भुजा लिएर मन्दिर गए। मन्दिरमा पुग्दा नाग फेरी देखा पर्यो र दाजुको खुट्टामा मायाले बेरियो। बहिनीलाई लाग्यो कि मेरो दाजुलाई नागले डस्यो, उनी चना, केराउ, भुजा, दूध राखेको ढकियाले पिटेर सर्पलाई मारिदिइन्। दाईले सर्पको बारेमा बहिनीलाई पुरा कहानी बतायो। कहानी सुनेर बहिनी निकै रोइन् र पश्चाताप गरिन्। दाजुको लागि सर्प र बहिनी बराबर थिए। घटनापछि त्यहाँ भएका मानिसहरुले भने ‘सर्प देवताको रुप हुन्छ, त्यसैले बहिनीलाई दण्ड र सर्पलाई पूजा जरुरी छ, तर बहिनीले दाजुको प्राण बचाउन मात्र यसो गरेकीले बहिनीको रुपमा गुडियाले हरेक बर्ष दण्डित हुन आवश्यक छ, यसले दाजु–बहिनीको माया–प्रेम अझ बढेर जान्छ।’ त्यसवेलादेखि दाजु, भाई, दिदी बहिनीको त्यो माया–प्रेमलाई सम्झन, अमर बनाउन यो समुदायमा नाग पञ्चमीको दिनमा केटीले गुरिया फाल्ने र केटाले पिट्ने चलन चलेको हो।
अर्को एक किम्बदन्तीका अनुसार एक जना ब्यक्ति त्यौहार मान्न आफ्नो बहिनीलाई बोलाउन गएको थियो। बहिनीको बिहा धनी घरमा भएको थियो। गरिब दाजुलाई देखेर उनी मान मर्यादामा बेवास्ता गरिन्। उनको बेवास्ता र अपमानका कारण दाजु घर फिर्ता भए। बहिनी एक्लै माइती आइन्। बहिनीको बानी ब्यहोराका कारण माइती पक्षले पनि जति गर्नुपर्ने हो, मानमर्यादा गरेन। बिदाईको दिनमा माइती पक्षले बहिनीलाई नदी पार गरेपछि, अब कहिल्यै नआउनु भनी बिदाई गरे रे। बिदाईको दिनमा नाग पंचमी थियो। त्यसबेला देखि नै कपडाको गुरिया (गुरही) लाई पिट्ने र नदीमा सेलाउने चलन चलेको हो भन्ने भनाई पनि छ।
त्यसैगरी अर्को किम्बदन्ती पनि छ। स्वर्गका राजा ईन्द्रले पृथ्वीमा मनुवाहरुको हालखबर बुझ्न एकजना परीलाई पठाएका थिए रे। मानवरुपमा आएकी ती चमत्कारी परीले धेरै बर्षसम्म हालखबर बुझ्दा बुझ्दा पृथ्वीलोकका मानिसहरुसँगको मायामोहले बाँधिइन्। समय पुरा भएपछि देवलोक (स्वर्ग) का राजा ईन्द्रले परीलाई बोलाए। मानिसहरुले तिनी गएपछि आफूहरु समस्यामा पर्ने बताए। उनले मानिसहरुको रोग, ब्याध, दुःख, कष्ट आफू लिएर जाने बताए। मानिसहरुले उनलाई भब्य मान सम्मानका साथ बिदाई गरे। त्यो दिन नाग पञ्चमी थियो। त्यसबेलादेखि गुरही (गुरिया) पिट्ने चलन चलेको हो भन्ने भनाई पनि छ।
निष्कर्षमा के भन्न सकिन्छ भने यस सम्बन्धमा समुदायमा चलेका अरु पनि किम्बदन्तीहरु होलान्। प्राय : कथा, किम्बदन्ती केटी वा महिलासँग जोडिएका छन्। कुरा जेसुकै होस्, यस पर्वमा मान्छेले गुरहीको प्रतिकको रुपमा होस्, केटीको प्रतिकको रुपमा होस्, खराब चरित्रका कुनै ब्यक्तिको प्रतिकको रुपमा होस्, कपडा नै प्रयोग गर्छन् र कपडाको गुडिया, खेलौना नै बनाउँछन्। त्यही गुडिया शब्द नै थारु भाषाको बोलचालमा गुरिया हुन पुग्यो। कतिपय ठाउँमा यसलाई गुरही पर्व भन्ने गर्न थालियो भने कतिपय स्थानमा यसलाई गुडिया (गुरिया) पर्वको नामले चिनियो। तर यो पर्व नाग पञ्चमीकै दिनमा पर्ने हुनाले यो पर्वको सम्बन्ध नागसँग अवश्य छ भन्ने कुरा स्पष्ट हुन्छ र नाग पञ्चमीमा अप्रत्यक्ष रुपमा घुघरी वा भुजा चढाई गुरुवाले नागको पनि पुजा गर्दछन्। यो पर्व पहिलेदेखि चल्दै आएको र भाई–बहिनीबिचमा आपसी प्रेम र सदभाव झल्किने हुँदा यसलाई भाई–बहिनीको आपसी प्रेम स्मरण गर्ने दिनको रुपमा पनि बुझ्ने गरिन्छ। कथा, कहानी, किम्बदन्ती जे जस्तो होस्, यसमा भाई–बहिनी, महिला, पुरुष दुबैको संलग्नतामा अवगुण, दुर्गुणलाई फाल्ने, रोग–ब्याध, दुःख–कष्टलाई फाल्ने, पिट्ने र सुख, शान्ति जस्ता राम्रा कुराको कामना गर्ने गरिन्छ। गुरिया पिटेपछि, सेलाएपछि गाउँघरमा सुख शान्ति हुन्छ भन्ने जनविश्वास छ।