
हनुमानढोका दरबार परिसरमा विधिपूर्वक इन्द्रजात्राको लिङ्गो, इन्द्रध्वज ठड्याइँदैछ । इन्द्रध्वज उत्थान गरेपछि वर्षा र सहकालका देवता इन्द्रको सम्मानमा इन्द्रजात्रा शुरु हुन्छ ।
भाद्रशुक्लपक्षको द्वादशीदेखि शुरुहुने इन्द्रजात्रा आश्विनकृष्णपक्षको चतुदर्शीसम्म मनाइन्छ । परम्पराअनुसार काभ्रेको नालास्थित वनमा तान्त्रिक विधिले मन्तरेर छाडिएको बोकाले छोएको रुख ढालेर लिङ्गो बनाई काठमाडौं ल्याइन्छ ।
काभ्रेदेखि काठमाडौसम्म सडकमा लिङ्गो तानेर हनुमानढोका ल्याइपुर्याइन्छ । यसलाई सजाएर पूजा गरी शुभ साइतमा ठड्याउने चलन छ । लिङ्गो ठडयाउँदा नेपाली सेनाका सैनिकले हर्ष बढाइँ गर्छन् । लिङ्गो ठड्याएको अवलोकन गर्न स्थानीय बासिन्दा र पर्यटक भेला हुने गर्छन् ।
इन्द्रध्वजोत्थानपछि शुरु हुने इन्द्रजात्रा ८ दिनसम्म मनाइन्छ । लोकमा अब पानी पुग्यो जलवर्षा रोक्नु भनेर देवराज इन्द्रलाई सन्देश पठाउन इन्द्रध्वजोत्थान गरिएको कथन छ ।