समुद्रमन्थनबाट प्राप्त हलाहल विषको सेवनबाट डाह भई शीतलता प्राप्त गर्न पार्वतीको माइती हिमालय पर्वतमा जान हिँडेका शिवले नीलाद्री पर्वतमा त्रिशूल रोप्दा पानीको तीनधारा बगी नीलखेतमा जम्दा गोसाइँकुण्ड उत्पत्ति भएको र शिव त्यहीँ शयन गरेको बताइन्छ । शिवलाई गोसाइँकुण्डमा शयन गरेको अवस्थामा अहिले पनि देखिने भक्तजन बताउँछन् ।



प्रत्येक वर्ष ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीसम्म गोसाइँकुण्ड, पाँचपोखरी, वाग्मती नदीका विभिन्न तीर्थस्थल, देवघाट, त्रिवेणी, रिडीलगायत स्थानका तीर्थस्थलमा स्नान गरेमा दश जन्मदेखिका पाप नाश हुने शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।
दश दिनको अवधिमा तीर्थस्थल गएर वा जान नसकेमा घरमै तीर्थ आह्वान गरी स्नान गरेमा दश प्रकारका पाप हरण हुने मान्यता छ । ज्येष्ठ शुक्ल पक्षका दश दिन गङ्गा वा नदी किनारमा गई स्नान गरेमा दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ ।
कसैले नदिई कुनै वस्तु लिनु, विनायज्ञ हिंसा गर्नु, परस्त्री गमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलवको प्रलाप गर्नु, अरुको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरुलाई हानि पु¥याउने इच्छा राख्नु र बिनाकारण दूराग्रह राख्नेजस्ता पाप यस अवधिमा गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ ।
यसैका लागि स्वर्गबाट पृथ्वीमा भगीरथले गङ्गा अवतरण गराएको सम्झनामा देशभरका नदीमा दशहरा स्नान गरिन्छ । यी दश दिनमा सुन्दरीजलस्थित वाग्मती र शैलमती मिसिएर बनेको सिद्धगयामा गङ्गादशहरा मेला लाग्ने गर्छ । विगतका दुई वर्षमा कोरोनाका कारण सिद्धगयामा आएर स्नान गर्न नसकेका तीर्थयात्रीको यस वर्ष भने बृहत् मेला लागेको स्थानीयवासी सुशील सिम्खडाले बताउनुभयो । सिद्धगया तीर्थका बारेमा स्कन्दपुराणलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
सुन्दरीजलको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाइरहेका दुई झरनाको नजिकमा सिद्धगया तीर्थ पर्दछ । वाग्मती र शैलमतीको सङ्गममा रहेको सिद्धगयामा गङ्गादशहरा स्नान गरी भगवान् शैलमतेश्वरको दर्शन गरेमा पापमोचन भई मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।
यस अवधिमा सिद्धगयाका साथै कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको सङ्गममा रहेको हत्यामोचनघाट, रसुवाको गोसाइँकुण्ड, कपिलवस्तुको वाणगङ्गा, नवलपरासीको त्रिवेणीसङ्गमलगायत देशभरका नदीमा दशहरा स्नान मेला लाग्ने गर्दछ । शरीर, मन र वचनले गरिने दश प्रकारका पाप दश दिने अवधिमा स्नान गरेर नाश हुने विश्वासमा गङ्गा दशहरा भनिएको धर्मशास्त्रविद् गौतमले बताउनुभयो ।
हत्यामोचनघाटमा गङ्गा दशहरा स्नान मेला
हत्या मोचन तीर्थ स्नान विशेष गरी वाग्मती नदी किनार, जोरपाटी (काठमाडौँ) स्थित हत्यामोचन घाटमा गंगादशहरा पर्वमा गरिने एक पवित्र स्नान हो। पौराणिक कथा अनुसार, परशुरामले माता रेणुकाको हत्या गरेपछि पापमुक्तिका लागि यहाँ स्नान गरेको मानिन्छ। यो स्नानले ब्रह्महत्या जस्ता गम्भीर पाप र दोषबाट मुक्ति दिलाउने विश्वास गरिन्छ। मुख्यतया हत्यामोचन तीर्थस्नान ज्येष्ठ शुक्ल पक्षको दशमी तिथि दिन गरिन्छ।
मुख्य विवरणहरू:
- स्थान: काठमाडौँको गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाको संगमस्थल, जोरपाटीस्थित वाग्मती नदी किनार।
- पौराणिक महत्त्व: परशुरामले मातृ हत्याको पाप पखाल्न हजारौँ तीर्थ धाउँदा पनि नभएपछि यहीँ आएर स्नान गरेको पौराणिक मान्यता छ।
- अवसर: गंगादशहरा पर्वको अवसरमा यहाँ मेला लाग्ने गर्दछ।
- विश्वास: यस स्थानमा स्नान गर्नाले ब्रह्म हत्या जस्ता ठुला पापहरू मेटिने र मन शुद्ध हुने जनविश्वास छ।
यसका साथै, भारतको यमुनानगरमा रहेको ‘कपाल मोचन’ तीर्थ पनि ब्रह्म हत्या दोषबाट मुक्ति पाउने प्रमुख स्थान मानिन्छ।