विश्व योग दिवस – विश्व संगीत दिवस

विश्व योग दिवस

आज संसारभरि लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रुपमा हिन्दु, बौद्ध, र जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो । योगको सोझो अर्थ हो जोड्नु । योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसंग सम्बन्धित गर्न सक्छ– शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्य इत्यादि । यी सबैको केन्द्रमा गरिने सम्बन्धनलाई नै योगको रुपमा बुझिन्छ । वास्तवमा योगले जीवात्मालाई परमात्मासंग जोड्छ । यस जोड्ने क्रियालाई योग भनिन्छ ।  
योगश्चित्तवृत्ति निरोधः ।।योगसूत्र ।। 

चित्त वृत्तिको निरोध नै योग हो । यो भनाई हो पतञ्जलिको । योगको उद्देश्य चित्त वृत्तिहरुको निरोध हो । अर्थात् चित्त र वृत्तिलाई ठीक बाटोमा डोर्याउनु नै योग हो । 
यौगिक क्रियाको वैज्ञानिक व्याख्या सर्वप्रथम पतञ्जलिले योग सूत्रमा गरेका हुन् । यस पुस्तकका संसारका सबै भाषाहरुमा अनुवाद भइसकेको छ । व्यास र वाचस्पति मिश्रले यस ग्रन्थको सबभन्दा पहिले व्याख्या गरेका हुन् । त्यस पछि अनेक व्याख्या गरिएको छन् । जैन गुरु हेमचन्द्रले यसलाई जैन धर्मको ध्यानविधिमा प्रयोगमा ल्याएका हुन् । अरु संस्कृतिको कुनै पनि कुरा स्वीकार नगर्ने यहुदी समुदायले समेत योगसूत्रको अनसावद गरेर यसलाई व्यवहारमा ल्याइरहेका छन् ।

यसलाई योग र ध्यानका आधारको रुपमा लिइएको छ । पहिलो योग सूत्रको रचयिता भगवान शिवलाई मानिन्छ । शिवले गरेको ध्यानको मूर्ति सबभन्दा प्राचीन मूर्ति हो । महावीर जैनको पनि ध्यानका मूर्तिहरु पाइन्छन् । भगवान् बुद्धको ध्यान मूर्ति विश्वप्रसिद्ध नै छ । यसै गरी योगशास्त्र भने भगवान् कृष्णको योगदान मानिन्छ र उनलाई योगेश्वर भनिन्छ । उनको उपदेश गीतालाई योगशास्त्र भनिन्छ । योग सूत्रमा बताएका अधिकांश कुरा गीतामा पनि छन् । यस प्रकार अप्रत्यक्ष रुपमा अन्तराष्ट्रिय योग दिवस गीताका उपदेशको सामान्य स्वीकृति पनि हो ।

विश्व योग दिवस

अन्तर्राष्ट्रिय योग दिवसलाइ विश्व योग दिवसपनि भनिन्छ । विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाइने भएको हो्।[१]

योगका केही प्रचलनहरु

वर्तमान समयमा योगका केही वर्तमान प्रचलनहरु यस प्रकार छन्

  1. विपश्यना ध्यान,
  2. कुण्डिलीनी ध्यान,
  3. राजयोग ध्यान,
  4. भावातीत ध्यान
  5. सक्रिय ध्यान
  6. ज्योतिध्र्यान
  7. सहजध्यान
  8. सुदर्शन ध्यान

योग र ध्यानबाट फाइदा

योगलाई आज शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिले सर्वाधिक महत्त्वपूर्ण मानिन्छ । यूरोपका देशहरुले योगासन गर्नका लागि सार्वजनिक स्थलहरु निर्माण गरेका छन् । खडी देशहरुमा योगासनको माध्यमबाट शयकडौं मानिसहरुले स्वास्थ्यलाभ गरिरहेका छन् । योग र ध्यानबाट निम्नलिखित फाइदा प्राप्त हुने कुरालाई आधुनिक चिकित्सापद्धति र व्यवस्थापन शास्त्रका दृष्टिले समेत स्वकार गरिएको छ–

  • राम्रो स्वास्थ्य
  • कार्यक्षमतामा वृद्धि
  • चिन्ताबाट छुटकारा
  • मानसिक शान्ति
  • रोग प्रतिरोध क्षमतामा वृद्धि
  • तन, मन र आत्मा बीचको लयात्मकता
  • अनावश्यक विचारबाट मुक्ति
  • सकारात्मक सोचको विकास
  • ऊर्जाको केन्द्रीकरण
  • आन्तरिक शक्तिको सञ्चार
  • आफ्नो परिस्थितिलाई ठीक ठीक बुझ्ने क्षमताको विकास
  • आत्म ज्ञान प्राप्ति

विश्व संगीत दिवस

संगीतले मानव जीवनमा पार्ने सकारात्मक प्रभाव र यसको महत्व स्मरण गर्दै हरेक वर्ष जुन २१ मा  विभिन्न सांगीतिक कार्यक्रम गरी संगीत दिवस मनाउने गरिन्छ ।

कसरी सुरु भयो विश्व संगीत दिवस ?

सन्  १९८२ मा फ्रान्सको पेरिसमा पहिलो पटक संगीत दिवस मनाइएको थियो।  विश्व संगीत दिवसको परिकल्पना अमेरिकी संगीतकार  जोल कोहेनले गरेका थिए। फ्रान्सका राजनीतिज्ञ ज्याक ल्याङ र संगीतकार मकाउरिस फ्रेलेरेटले संगीत दिवस मनाउने प्रस्ताव गरेका थिए। अतः सन् १९८२ देखि विश्व संगीत दिवस मनाइँदै आएको छ। 

नेपालमा भने विसं २०५४ सालदेखि यो दिवस मनाउन थालिएको हो । त्यो समय विदेशी संगीतकारले विश्व संगीत दिवसको अवसर पारेर नेपाली राग बनाएका थिए । त्यसयता प्रत्येक बर्ष आजकै दिन विभिन्न कार्यक्रम हुँदै आएका छन् ।नेपाली मौलिक संगीतसँगै पछिल्लो क्रममा विश्वमा विकास हुँदै आएका संगीतका बारेमा अध्ययन, अनुसन्धान र सिर्जनाका लागि जोड दिनु पर्ने यस क्षेत्रमा लागेकाले बताउछन ।

699