
हरेक वर्ष नेवा: समुदायले तछ्लाथ्व (ज्येष्ठ शुक्ल) षष्ठीको दिन “सिथि नख:” भनेर मनाउने गर्दछन् । नेवा: संस्कृति र परम्परा अनुसार, गथांमुग:लाई पहिलो पर्व मानिन्छ भने सिथि नख:लाई वर्षको अन्तिम पर्व मानिन्छ । यसै तिथिका दिन महादेवको जेठो छोरा कुमारको जन्म भएको मानिन्छ । कुमार जन्म भएको दिन भएकोले यस दिनलाई “कुमार षष्ठी” पनि भन्ने गरिन्छ ।
सिथि नख:को दिन घर-घरमा बिहान नुहाइ धुवाइ गरी चोखो भएर क्षत्रपाल कुमार (पिखालखु) अर्थात् घरको मूल ढोका अगाडि सिथि द्य:-भाग भनेर सानो टपरीमा चिउरा, मुस्या(भट्मास)-पालु(अदुवा), बारा(मासको रोटी), सानो चतामरि(चामलको पिठोको रोटी) हालेर पुजा गरिन्छ । काठमाडौंमा बसोबास गर्ने नेवा:हरू मध्ये देवाली (द्यो-पुजा / दुगुद्यो-पुजा / कुल-पुजा)को निश्चित तिथि नभएकाहरूले यसै दिन कुल देवताको पुजा गरी देवाली मनाउने गर्दछन् । यसै दिन घर वरपरका आँगन, इनार, धाराहरू पनि सफा गरिन्छ । सिथि नख:को दिन नेवा: समुदायले विशेषत मास, मुगि, केराउको बारा/व बनाएर खाने गर्दछन् । यसै गरी शुद्ध ताइचिन चामलको पीठोबाट बनाइएको चतामरी र लोंचामरी पनि खाने गर्दछन । सिथि नख:को दिन देखि ज्यापु समुदायले धिमे बाजा थन्क्याउने गर्दछन् र रोपाइँ तिर लाग्दछन् जसलाई सिनाज्या भनिन्छ । त्यसैले सिथि नख:को भोलि पल्ट देखि गथांमुग: नआएसम्म एक महिना अविधिभर धिमे बाजा र भुस्या बजाउन नहुने मान्यता रहि आएको छ र यद्यपि यस अविधिभर कुनै पनि स्थानमा धिमे बजाइँदैन ।
यसै गरी काठमाडौंको क्वने (तल्लो भागको बस्ती)को न्हूघ: टोलमा रहेको रक्त वर्ण, एक मुखे, दुई हाते, धनुसधारी, मयुर आरुढ काठको कुमार मुर्तिलाई तछलाथ्व (जेष्ठ शुक्ल) सप्तमीका दिन खटजात्रा गर्ने चलन रहेको छ l यसै गरी तछलाथ्व (ज्येष्ठ शुक्ल) तृतीयाका दिन यस मुर्तिलाई मन्दिर अगाडिको डबलीमा महास्नान गराउने र षष्ठीका दिन होम् सहित जन्म पछिको सम्पूर्ण कर्मकाण्ड (उपनयन, चुडाकर्म आदि) गर्ने पनि प्रचलन छ l यो जात्रा सो स्थानका ज्यापूहरूले गर्ने गरेका छन् l यो जात्रामा बाजा बजाउन भने बलम्बुवासी आउने गर्छन् l यो देवता बलम्बुको बच्चा हो भन्ने अलग्गै किम्वदन्ती पनि पाइन्छ जसकारण बलम्बुवासीहरू यहाँ बाजा बजाउन आउनु पर्ने चलन रहेको मानिन्छ । यद्यपि यो चलन अझै निरन्तर चलिरहेको छ । जात्रा स्थानिय कर्माचार्य अनि ज्यापुहरू मिलेर गर्छन् र त्यो मुर्तिलाई कर्माचार्यहरूको गुथि-छेंमा राखिन्छ ।