राष्ट्रिय बाल दिवस

यो दिवस भदौ महिनाको २९ गते मनाइन्छ। वि.स.२०६३ साल भन्दा अघि बाल दिवस भाद्र ४ गते मनाईने गरिन्थ्यो भने हाल भाद्र २९ मा मनाईन्छ।
राष्ट्रिय बाल दिवसको प्रारम्भ
विसं २०२१ सालको भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरियो । इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देख्नुभयो । तत्काल भारतबाट फर्केपछि मुमा रत्नद्वारा आफ्नो जन्म दिनपारी विसं २०२१ भाद्र ४ मा नेपाल बाल संगठन स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी सो समयदेखि नियमित रुपमा बालदिवस मनाउन थालिएको पाइन्छ । ४ भाद्रका दिनलाई राष्ट्रिय बालदिवसको रुपमा देशले ४२ वटा बालदिवस मनायो । लोकतन्त्रको स्थापनापश्चात यसको पूरानो संरचनामा केही फेरबदल भयो परिणामस्वरुप देशमा स्थापना भएको लोकतन्त्रले बालदिवसका मितिलाई पनि परिवर्तन गर् यो ।
मिति परिवर्तनको कारण
वास्तवमा बिसं २०४६ सालको प्रजातन्त्रको पुनस्थापना पछि गठित आन्तरिम सरकारले संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धि-१९८९ लाई सन् १९९० को १४ सेप्टेम्बरमा अनुमोदन गरेको दिन नै बालदिवसको रुपमा मनाउने घोषणा नेपाल सरकारले गरेको थियो । जसअनुसार अहिले भाद्र २९ गते यो दिवसलाई देशव्यापी रुपमा मनाउने गरिएको हो । आजसम्म जुन ढङ्गबाट बालदिवस मनाइएको थियो । त्यसमा आधारभूत परिवर्तन खोजिएको अवस्थामा नयाँ ढङ्गबाट अधिकारमुखी समानुपातिक ढङ्गबाट सबै बालबालिकाले आफ्नो अधिकार पाउने र आफ्नो दिवसको रुपमा मनाउन सकुन् भन्ने अवधारणाका साथ राष्ट्रिय बालदिवसको मिति परिवर्तन गरिएको पाइन्छ । २०६३ साल अघी सम्मको बालदिवसको सार्थकता नरहेको तमाम सचेत जनताले महसुस गरी बालदिवसलाई बालबालिकाको आफ्नो दिवसको रुपमा मनाउन अवधारणाको साथ संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धि-१०८९ २० नोवेम्बरलाई सन् १९९० १४ सेप्टेम्बर २९ भाद्र मा नेपाल पक्षले अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा आत्मसाथ गरी सोही दिनलाई राष्ट्रिय बालदिवसको रुपमा मनाउने निर्णय गरिएको हो । २९ भाद्रलाई २०६३ देखि राष्ट्रिय बालदिवसको रुपमा मनाउने कार्यको थालनी भएको छ । यसले पहिलो बालदिवस मनाउने कामको थालनी गरेको मान्न सकिन्छ । यद्यापि २९ भाद्रमा राष्ट्रिय बालदिवस मनाउनुको एउटा सकारात्मक पक्ष त देखा परेको छ तर मूल कुरा बाल दिवस कुन दिन मनाइन्छ भन्ने मात्र होइन । यस्ता दिवसहरूलाई वास्तविक रुपमा तमाम नेपाली बालबालिकाको प्रत्याभूत गराउन सकिएन भने खासै अन्तर हुने छैन विगत र वर्तमानको बालविदसमा ।
सार्थकता
बालदिवस कस्तो हुनुपर्दछ त वा भनौं बालदिवस कसरी मनाउनुपर्दछ त यो आम रुपमा उठिरहेको बिषय हो । तर पनि हामीले बालदिवसलाई बेसी औपचारिकतामा मात्रै सीमित गरिरहेका छौं कि खासगरी बालबालिकाको निम्ति चाहिने आधारभूत हकअधिकार वा उनीहरूको संरक्षणको सवालमा हामीले कति उपलब्धी हासिल गर्न सक्यौं वा सकेनौं । त्यस्ता पक्षले पनि राष्ट्रिय बालदिवसको सार्थकतालाई मापन गर्न सकिन्छ । बालदिवस आफैमा एउटा महत्वपूर्ण दिवस हो । झण्डै आधाआधी जनसङ्ख्या ओगटेका बालबालिकालाई मान्यता दिएर बालबालिकाकै दिवसका रुपमा सम्पन्न गर्न खोज्नु राम्रो पक्ष हो । कुनै पनि दिवस आफैमा एउटा परम्पराको रुपमा पनि लिन सकिन्छ । तर त्यसमा अहिलेको परिवर्तन र नयाँ नेपालको दृष्टिकोणका त्यसलाई पुनर्परिभाषित गरिनुपर्दछ । तिनीहरूको पुनर्ब्याख्या गरिनुपर्दछ । नयाँ दृष्टिकोण अपनाएर बालदिवस मनाउनुको सार्थकतालाई बुझाउन सक्नुपर्दछ । त्यसको साथै बालअधिकारको बिषयमा के कस्ता राम्रा काम गर्यौं कति उपलब्धी प्राप्त गर्यौं कति चुनौतीहरू आए प्रतिबद्धता पूरा भए कि भएनन् जस्ता कुराहरूको समीक्षा हुनु पनि जरुरी छ । अहिलेको सन्दर्भमा बालसहभागितोको कुरा गरिराखेको छौं । ती कुराहरू सहज र सरल भाषामा उनीहरूबीच अन्तरक्रिया गर्ने काम गर्नुपर्दछ । बाल सहभागिताकै दृष्टिकोणबाट कुरा गर्ने हो भने त्यस्ता कार्यक्रम तर्जुमा गर्दा उनीहरूको साथमा बसेर कार्यक्रमको उद्देश्य के हो प्रक्रिया के हेा र उनीहरूलाई त्यो त्यसमा कसरी समावेश गर्ने भन्ने सोच्नु अनिवार्य रहेको छ । जबसम्म हामीभित्रको सोचमा परिवर्तन हुन सक्दैन यसको सार्थकता त्यति हुन सक्दैन । यसका लागि केन्द्र देखी स्थानिय तह सम्मका यस क्षेत्रमा क्रियाशिल बालअधिकारकर्मी गैरसरकारी संस्थाहरू सरकारका विभिन्न निकायहरू मन्त्रालय केन्द्रीय बाल कल्याण समिति लगायतका निकायहरू बीचमा पनि यसको सैद्धान्तिक पक्षका बारेमा छलफल हुनु जरुरी छ ।
फर्पिङ हरिशंकर जात्रा
नेपाल विविध धार्मिक तथा सांस्कृतिक धरोहर, कला, संस्कृति, जात्रापर्वहरूले चिनिएको देश हो । त्यसमध्ये पनि हरिशंकर जात्रा नेपालको एक उल्लेखनीय जात्राको रूपमा चिनिन्छ । यस जात्रामा शिखनारायणलाई हरि र गोपालेश्वरलाई शंकरको रूप पनि मानिन्छ । काठमाडौं उपत्यकाबाट करिब २२ किमी टाढा फर्पिङ सहर अवस्थित छ । सोही फर्पिङमा लिच्छवीकालदेखि नै प्रसिद ‘हरिशंकर’ जात्रा काठमाडौंको इन्द्रजात्रा सकेलगत्तै प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिनदेखि नै सुरु गरिन्छ । यस जात्रामा फर्पिङका सातओटै टोलमा धुमधामका साथ मनाइन्छ ।

यस जात्राको सबैभन्दा पहिलो दिन जोरगणेश मन्दिर परिसरमा (कोटालटोल) गोपालेश्वर (शंकर) चर्तुरमुखी राखिने र दोस्रो दिनमा देवता घर (आगम छें) मा होम गरिन्छ । तेस्रो दिन खटमा राखी कोटालटोल जोरगणेश लाछीबाट कोटालटोलकै दथुलाछीसम्म विभिन्न बाजागाजाका साथै विधिपूर्वक पूजाआजा गरी खट बोकी त्यसै ठाउँमा राखिने चलन छ । खट बोक्ने क्रममा जोरगणेश शिलाको अनुहारमा हुबहु त्यही अनुहारको मुकुट (मुकुण्डो) लगाइन्छ । गोपालेश्वर जात्राको चार दिनपछि बाँकी सम्पूर्ण देवदेवीलाई (सातैवटा) खटमा विराजमान गराइन्छ । सोही दिनदेखि बेलुका बाजागाजासहित फर्पिङ सहरका सातैटोलका बासिन्दाले सातैवटा खटमा राखिएका देवदेवीलाई बत्ती दिने प्रचलन पनि छ ।
त्यसपछि पाँचौ दिन (आश्विन कृष्णनवमी) मा ‘छोयला बु’ (नेवारी भाषा) को रातमा कनकेश्वर, अघोरेश्वर, नन्दीकेश्वर, क्रमशः दक्षिणकाली, निलबराही, इन्द्रायणी खटको यात्रा गरिन्छ । सोही खट यात्राको क्रममा स्थानीय बासिन्दाद्वारा कोछुटोलको झम्केश्वरी मन्दिर परिसरमा काठबाट बनाइएको करिब दुई सय प्वाल भएको (गोनाल) मा घ्यू बत्ती बाल्ने गरिन्छ ।
यहाँ आमधारणा के छ भने फर्पिङ सहरको हरिशंकर जात्रा र भक्तपुरको बिस्केट जात्रा हेरेको छ छैन भन्ने विषयमा मृत्यृपश्चात् यमराजले पनि प्रश्न गर्दछन् । दक्षिणकाली जात्रा (हरिशंकर जात्रा) को समयमा कसैले पनि आफ्नो घरको झ्याल, बरण्डा, कौँशीबाट हेरेको खण्डमा त्यो घरमा अकाल मृत्यृ तथा अनिष्ठ हुने विश्वास रहेको पाइन्छ । ‘छोयला बु’ सोही दिन बिहान सबेरै पिठ–पिठमा ६ राँगा बलि चढाई टोलवासीहरूलाई राँगाको मासु प्रसादस्वरूप वितरण गरिन्छ ।
‘छोयला बु’ को भोलिपल्टको दिन ‘जाभु’ गरिन्छ र जात्रामा सहभागी हुन आउने अदृश्य भूत, प्रेत, पिचाश, राक्षसहरूको आहारको लागि पाकेको निस्तै भात (जाभु) टोल टोलमा राखिन्छ । (जाभुको अर्थ जाः भन्नाले चामलको भात र भुः भन्नाले थाल बुझिन्छ । यो नेवारी भाषा हो ।) तर कतैकतै जाभु अर्थात् पाकेको भात भनेर अपभ्रम्ष गरेको पाइन्छ । तसर्थ बिहान गरिने ‘जाभु’ कोटाल टोलमा रहेको कालभैरव र कोठेपटोलको स्वच्छन्द्द रक्तभैरवलाई क्रमशः राँगा र बोका बलि चढाई दिनभर नै ‘घ्याम्पे’ जात्रा गरिन्छ । बेलुकी बाजागाजाका साथ बत्ती चढाइन्छ । सोही रातमा महालक्ष्मी र शेषनारायण (तिलविक्रमेश्वर, शिखरेश्वर) को खटलाई रातको १÷२ बजेसम्म जात्रा गराएर सम्पन्न हुन्छ ।
घ्याम्पे जात्राको भोलिपल्ट बेलुकीतिर सातै टोलका बासिन्दाहरू बाजा बजाईं सातैओटा खटमा बत्ती दिइन्छ । साथै बत्ती दिइसकेपछि पशुपति मृगस्थलीबाट आउनु भएका कानफट्टा महन्त योगीहरूद्वारा चक्रपूजा (जसलाई प्रसिद्ध जोगी चक्र पूजा ) गरिन्छ । यस समयमा समितिका पदाधिकारी, स्वयंसेवक, जात्रामा सुरक्षा प्रदान गर्नको लागि नेपाल प्रहरी र जताततैबाट यस जात्रा हेर्नका लागि आएका भक्तजनको उपस्थितिमा नौवटा जाँडले भरिएका स–साना घैँटालाई नवदुर्गाको प्रतीक मानेर राँगा (जन्मेको ७ महिना पुगेको) बलि दिइन्छ । साथै कुखुरा पनि बलि दिइन्छ र उक्त स्थानलाई परिक्रमा गरिन्छ ।
यो जोगीचक्र पूजा मृत्यृपश्चात् यमराजले हेरेको छ कि छैन भनेर सोच्छन् भन्ने जनविश्वास रहिआएको छ । जोगीचक्र पूजा सम्पन्न भइसकेपछि सोही रात कुमारी, गोपालेश्वर, महालक्ष्मी, शोषनारायणसहित चारैओटा खटको रातभर जात्रा हुने गर्दछ । गोपालेश्वर (शंकर) र शेषनारायण (हरि) को खट कोछुटोलमा अवस्थित एउटा ठूलो ढुंगामा लगेर सँगै जात्रा गराइन्छ, जसलाई प्रसिद्ध ‘हरिशंकर जात्रा’ भनिन्छ ।
जोगी चक्र पूजा सकेको भोलिपल्ट बिहान फर्पिङ सहरका राजा मानिँदै आएका थकुः जुजु, देवदेवताका पूजारीहरू, रकमीहरू, फर्पिङ सहरका सबै बासिन्दा र जात्रा हेर्नका लागि आएका पाहुना, भक्तजनले बाजागाजाका साथ प्रत्येक खटमा सिन्दुर चढाएर (सिन्दुर जात्रा) जात्रा गरिन्छ । दिउँसोको समयमा नीलबाराही, महालक्ष्मी, कुमारी, शेषनारायणसहित ६ खट प्रत्येक खटलाई लगभग ४०-५० जनाले बोकी जात्रा गरिन्छ । यसको भोलिपल्ट कोटालटोलका बासिन्दाद्वारा बिहानै ‘पुनिखेल’ मा भात पकाई तथा जात्रा सञ्चालन गर्ने परिवारद्वारा (चाकुको योःमरी, लोंचामरी, ठूलो केराउ, नुन, फलफूल, दही चिउरा) पूजाआजा गरी सर्वसाधारणलाई प्रसादस्वरूप खुवाइन्छ ।
त्यसपश्चात् गोपालेश्वरको खटलाई फर्पिङ सहरकै (हालः मनमोहन हस्पिटल, प्रहरी चौकी नजिकै) गोपालेश्वर महादेव मन्दिर परिसर पु¥याएर धुमधामका साथ जात्रा समापन गरिन्छ र रकमी बिसेटहरूले बाँकी सबै खटमा विराजमान भएका देवमूर्ति झिकी संरक्षणमा लाने गर्दछन् । त्यसैले यी सातओटा खटको जात्रा कठोर तान्त्रिक नियममा रही मनाउने चलन छ ।
मुख्य खट दक्षिणकाली माई हो भने हरेक भगवानको खटमा हरिशंकरको मूर्ति राखिएकै हुन्छ । यदि, कुनै भगवानको खटको गहना या कपडा मात्र हराए पनि खट आफ्नो गन्तव्यमा नपुगी घुमिरहने जनविश्वास रहेको पाइन्छ । हरेक खटको मूर्तिको आकार चतुर्मुखी लिंग आकारमा बनाइएको हुन्छ । जुन अरू ठाउँहरूको खटमा राखिने भगवानको मूर्तिभन्दा फरक छ ।
तसर्थ, कुनै समयमा राजा समेतले हेर्ने गरेको यो हरिशंकर जात्रा धेरै नै महत्वपूर्ण मानिन्छ । त्यसैले यो जात्रा फर्पिङ सहरका बासिन्दाले निक्कै हर्षोल्लासका साथ मनाउने गर्दछन् ।