थकाली फालो पर्व

मुस्ताङको थाक सातसय क्षेत्रअन्तर्गतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलिक पर्व कुमार यात्रा (फालो) शुरु भएको छ ।

थकाली समुदायको उद्गमस्थल थासाङ गाउँपालिका– २ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्लपक्ष अनुराधा नक्षत्रका दिनदेखि तीन दिनसम्म कुमारयात्रा (फालो) पर्व मनाउने चलन छ । 

गौचन, तुलाचन, शेरचन र भट्टचन थरका थकाली समुदायका पाँचदेखि १३ वर्ष मुनिका छेवार गरिसकेका कुमारलाई कुमारयात्रामा सहभागी गराउने चलन छ । 

चार चनमा जन्मिएका छोरा कुमारयात्रा (स्योपेन) मा सहभागी भएपछि भगवान नरिच्हेबको आर्शिवादले जीवनका लागि सक्षम र योग्य भएको सांस्कृतिक मान्यता पाउँछन् । 

परापूर्वकालमा जङ्गलमा शिकार खेल्न गएका थकाली समुदायका युवाले मृगलाई मार्न खोज्दा नरिच्योहब देवता प्रकट भई नर्साङ भन्ने ठाउँमा लैजाने अनुरोध गरेको भनाइ छ । सो स्थानमा गुम्बा बनाइ राखे पश्चात गाउँमा अनिष्ट नहोस् भनेर पूजाआजा गर्ने र थकाली पुरुषले चुडा कर्म गरेपछि १३ वर्ष नपुग्दै अनिवार्य कुमारयात्रामा सहभागी हुने चलनको शुरुवात भएको प्रमुख मुखिया भीमप्रसाद गौचनले बताए ।

स्योपेनमा सहभागी कुमारले टुकुचेको चोकोपानीमा स्नान गरेर नर्साङ गुम्बामा नरिच्योहेब देवताको पूजाआजा गर्ने, आफन्तजनबाट आर्शिवाद लिने, देवताको पूजाआजा गर्ने र थकाली भाषामा गीत गाउँदै बाजागाजासहित गाउँ परिक्रमा गरेर लार्जुङमा पुगेपछि घोडा चढेर राक्षसको चित्रलाई तिर हान्ने चलन छ । 

कुमारयात्रामा सहभागी हुन देश, विदेशबाट थकाली कुमार कोवाङमा आएका छन् । थकाली भाषामा गीत गाएर परम्परागत पहिरनमा सजिएर नाचगानका साथै लामाहरुले कोतघरमा पूजाआजा गर्छन् ।

2514