बैशाख ०१ – खाइ संल्हु / खायुसंल्हु (मेष संक्रान्ती – तिते संक्रान्ती)

हरेक वर्ष बैशाख ०१ गतेको दिनलाई नेवा: समुदायले खाइ संल्हु अर्थात् तिते संक्रान्तीको रुपमा मनाउने गर्दछन्। यस दिनमा तितो क्वाति पकाएर खाने गरिन्छ। ठाउँ अनुसार विभिन्न अन्न तथा खानेकुरा जस्तै मूला सुकाएर बनाएको सिन्की, सुकाएको कर्कलो, मूलाको बीउ आदिसँग विभिन्न गेडागुडी मिसाएर तितो क्वाति बनाउने गरिन्छ।
प्राय: सबैलाई जनै पूर्णिमाको दिन क्वाति खाने थाहा हुन्छ तर यस दिन पनि क्वाति खाइन्छ भनेर कमैलाई मात्र थाहा छ। जनै पूर्णिमाको दिन ९ गेडागुडी पकाएर सुख्खा रोटीसँग मीठो क्वाति खाइन्छ भने यस दिन चतामरीसँग तितो क्वाति खाने गरिन्छ। यस दिन तितो क्वातिसँग चतामरी खाएमा शरिरमा ताकत हुने र वर्षा ऋतुमा रोगले नसताउने जनविश्वास रहेको पाइन्छ। यस दिन मटरकोसा खाने र भगवानलाई चढाउने पनि गरिन्छ।