टोखा सपन तीर्थ स्नान

काठमाडौँको उत्तरी भेगमा पर्ने टोखाको प्रसिद्ध बिस्केट जात्रा आज सुरु भएको छ । प्रत्येक वर्ष वैशाख १ गतेदेखि चार दिनसम्म जारी रहने सो जात्रामा पञ्चबलि, विभिन्न देवदेवीका खटजात्रा तथा पूजा गरिन्छ । स्थानीय चण्डेश्वरीमा ध्वजापताकाले सजाएर हाँस, बोका, राँगालगायतको बलि दिने प्रचलन छ ।

त्यसैगरी, स्थानीय बज्रयोगिनी, चण्डेश्वरीको विशेष पूजा गरिने यस जात्रामा जीवित देवी कुमारी, गणेश र नारायणको समेत पूजा र सिन्दूर जात्रा गरी भजन कीर्तनसमेत गरिन्छ । तर यहाँको बिस्केट जात्रामा भने जिब्रो छेड्ने चलन छैन ।

यसैबीच, सोही स्थानमा सपन तीर्थ मेलाका लागि ‘सपन तीर्थ पोखरी’ क्षेत्रमा मेला लागेको छ । सो मेला भर्न भक्तजनको घुइँचो लागेको मेला व्यवस्थापन समितिका सदस्य देवराज डङ्गोलले जानकारी दिए ।

काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रका विभिन्न स्थानबाट नयाँ वर्षको दिन उक्त स्थानमा मेला भर्न भक्तजन आउने गर्दछन् । मेला भर्न आउने भक्तजनले पोखरीमा स्नान गर्दछन् ।

काठमाडौँबाट करिब १० किलोमिटर उत्तरी भेग तथा शिवपुरी राष्ट्रिय निकुञ्जको काखमा रहेको पोखरीमा स्नान गर्नाले निःसन्तानलाई सन्तान हुने तथा छालासम्बन्धी रोग नलाग्ने जनविश्वास रहेको छ ।

2375