
नवरात्रिको नवौ दिनलाई महा नवमी भनिन्छ । विशेष गरी महालक्ष्मी देवीको पूजाआजा गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ । कन्या पूजाका बारेमा लेखिएको छ कि दस वर्षभन्दा बढी उमेर भएकी कन्या रजस्वला हुने हुँदा पूज्नु हुँदैन । चढाएको फल आदि खान र चन्दन आदि बास्नाको स्वाद लिन नजान्ने, एक वर्षकी कन्या पनि पूज्नु हुँदैन । रोग नलागेकी, राम्रो अङ्ग भएकी, घाउचोट र खत नभएकी एउटै कुलमा उत्पन्न भएकी कन्याहरूलाई राम्ररी पूज्नु पर्दछ आदि ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।
काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एक दिन महानवमीमा मात्र खुल्ने गर्दछ ।