विश्व रक्तदाता दिवस

रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्यान्डस्टिनरको जन्मदिन जुन १४ को सम्झनामा विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।

‘रगत दिँदा केही हुँदैन’ भन्ने चेतना विशेषगरी युवायुवतीमा आउन नसक्दा अझै पनि बिरामीले सहजरुपमा रगत पाउन सकिरहेका छैनन् ।

नेपालमा रक्तदान सुरु भएको ५१ वर्ष बितिसकेको छ । उसो त नेगेटिभ रगत समूहको रगत पाउन त झनै मुस्किल पर्ने गर्दछ । विसं २०२० भदौ १९ गते स्थापना भएको नेपाल रेडक्रस सोसाइटीले विसं २०२३ साउन १२ गतेदेखि रक्तदान कार्यक्रमको सुरुवात गरेको थियो ।

सोसाइटीका पूर्वकेन्द्रीय सदस्य डा गौरीशङ्करलाल दासका अनुसार चिकित्सक धनञ्जय रिमालले तत्कालीन राजा महेन्द्रको रगत झिकेर रक्तदान कार्यको विधिवत् सुरुवात गरेका थिए।  तर समाजसेवी दयावीरसिंह कंसाकारले पहिलो रक्तदान गरेका थिए ।

हालसम्म १५०औँ पटक रक्तदान गरेका प्रेमसागर कर्माचार्य भन्छन्, ‘रगत दिँदा केही हुँदैन’ भन्ने चेतना समाजमा आउन नसक्दा अझै पनि सहजरुपमा बिरामीले रगत पाउन सकिरहेका छैनन् । ‘रगत दान जीवन दान’ कुराकानीको विषय भएको छ, व्यावहारिकरुपमा अझै उत्रन सकेको छैन ।

“मैले १६ वर्षको उमेरदेखि वर्षको चारपटक नियमितरुपमा रक्तदान गर्दै आएको छु, रगत चाहियो भनेर फोन गर्नेलाई रित्तो हात फर्काएको छैन, स्वयम्सेवी रक्तदातालाई खोजेर रगतको जोहो गरिदिन्छु, यस कार्यमा रात दिन, घाम पानी केही भनेको छैन”, उनले भने।

सोसाइटीले सुरुका दिन मिलिटरी अस्पतालको उत्तरपट्टिको कोठालाई ‘लक्ष्मी ब्लड बैंक’ नामाकरण गरी आफ्नो सेवा सञ्चालनमा ल्याएको थियो । सुरुमा रगत दिने र चाहिनेका बीचमा मोलतोल भई खरिद बिक्री हुने गर्दथ्यो । अर्कोतर्फ ब्लड बैंकसित आधुनिक प्रयोगशाला नभएका कारण सामान्य प्रयोगशालामा परीक्षण गर्दा रगत समूह मिल्दैनथ्यो । रगत किन्न दुःख पाउँथे भने दिने पनि रक्त अल्पताको सिकार हुने गरेको कुरा पूर्वकेन्द्रीय सदस्य डा दासले सोसाईटीद्वारा प्रकाशित नेपाल रेडक्रस सोसाइटीः मानवीय सेवामा ५० वर्ष नामक स्मारिकाको आलेखमा जनाएका थिए।

रगत किनबेच बन्दः

सुरुका दिनमा रगत आवश्यक हुनेले रगत दिने व्यक्ति आफैँ खोजी खरिद गर्दथे । ‘रगत खरिद तथा बिक्री गर्ने वस्तु होइन, स्वःस्फूर्त रुपमा स्वयम्सेवी दान दिनुपर्छ’ भन्ने विश्वव्यापी मान्यतालाई स्थापित गराउन सोसाइटी र स्वयम्सेवी रक्तदाताको अथक प्रयासपछि सरकारले विसं २०३९ मा रगत बिक्री गर्न प्रतिबन्ध लगाएको थियो ।

विश्वका वैज्ञानिकले हालसम्म मानव शरीरलाई आवश्यक पर्ने कृत्रिम रगत र तिनका प्रकार आविष्कार गर्न सकेका छैनन् । यसैले स्वच्छ व्यक्तिले दिने रगतले नै अर्को बिरामी व्यक्तिले प्रयोग गरी नयाँ जीवन प्राप्त गर्दछ ।

अर्कोतर्फ रक्तदान गरेर दातालाई कुनै हानि हुँदैन । चिकित्सकका अनुसार रगतमा भएको रातो रक्तकण भरिइरहन्छ, त्यसको परिपूर्ति तीन महिनामा भइहाल्छ । मानिसको वजनको करिब आठ प्रतिशत रगत हुन्छ । औसत तौलको मानिसमा चार लिटर रगत हुन्छ । यसैले तीनसय देखि ३५० मिलिलिटर रगत झिक्दा शरीरलाई केही हानि नपुग्ने केन्द्रीय रक्तसञ्चार केन्द्रका निर्देशक डा मनिता राजकर्णिकार बताउँछिन्।
पहिलो स्वास्थ्य नीति–२०४८ ले नेपाल रेडक्रस सोसाइटीलाई रक्तसञ्चारसम्बन्धी सम्पूर्ण कार्य गर्ने जिम्मेवारी प्रदान गरेको थियो । यही जिम्मेवारीअन्तर्गत केन्द्रले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअन्तर्गत रही रक्तदाताले दान गरेका रगत र तिनको तत्व सुरक्षित र गुणस्तरीय रुपमा बिरामीसम्म पुर्‍याइरहेको छ । रगत तथा रक्ततत्वलाई तापक्रमको खराब असर पर्न नदिन ब्लड कोल्ड चेन प्रणालीलाई प्रभावकारी बनाइएको केन्द्रले जनाएको छ ।

रगतको माग बढ्दोः

विभिन्न दुर्घटना, प्रसूति, क्यान्सर, शल्यक्रिया गर्नुपर्ने रोग जस्ता बिरामीको सङ्ख्या बढ्दै जाँदा रगतको मागसमेत दिन प्रतिदिन बढ्दै गएको छ । केन्द्रका निर्देशक डा राजकर्णिकारका अनुसार देशभर दैनिकरुपमा दुई हजार युनिट रगतको खोजी रक्तसञ्चार केन्द्रमा हुने गर्दछ । हाल सोसाइटीअन्तर्गत आफ्ना ७२ जिल्लाका १०५ स्थानबाट रक्त सञ्चार सेवा सञ्चालनमा रहेको छ । रगतको माग र आवश्यकतालाई पूरा गर्न केन्द्रलाई मुस्किल परिरहेको बताइन्छ ।

रक्तदान कार्यक्रम सुरुवात भएको पहिलो वर्ष १५७ युनिट रगत सङ्कलन भएको थियो । गत वर्ष करिब तीन लाख ११ हजार युनिट रगत सङ्कलन भई रगत तथा रगत तत्व वितरण भएको केन्द्रले जनाएको छ ।

अर्कोतर्फ दैनिकरुपमा सङ्कलन भएपनि करिव १० प्रतिशत रगत शोधभर्नाबाट सङ्कलन गर्नुपर्ने बाध्यता केन्द्रसित छ । अर्कोतर्फ चिकित्सकले शल्यक्रियालगायत अन्य जटिल उपचार गर्नुपूर्व बिरामीका आफन्तलाई रगत जम्मा गर्न लगाउने तर सो रगत पूरै प्रयोगमा नआउँदा कति रगत मिति नाघेर खेर जान्छ भन्ने यकीन तथ्याङ्क कुनै निकायसित छैन ।

कुल रक्तदातामध्ये ८४ प्रतिशत पुरुष र १६ प्रतिशत महिला रहेका छन् । सोसाइटीका उपमहामन्त्री हरिप्रसाद न्यौपाने युवा रेडक्रस सर्कलमार्फत युवामा रक्तदानसम्बन्धी सचेतना अभियानलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँछन्। उनी भन्छन्, “पछिल्लो समय विशेषगरी महिला पनि रक्तदानमा स्वतःस्फूर्त रुपमा लागिरहेका छन् ।”

712