
रंगहरुको पर्व होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदै छ। पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ।
पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो। तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ।
सत्ययुगमा भगवान् विष्णुका भक्त प्रह्लाादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा खराब प्रवृत्तिको अन्त्यका रुपमा लिई त्यसैको खुसियालीमा रंग र अवीर दलेर होली मनाउने परम्परा रहेको धार्मिक मान्यता छ।
होली पर्वका अवसरमा विभिन्न रंग दल्ने परम्परा रहे पनि पछिल्लो समय विभिन्न खालका इनामेल, पेन्टहरुले अनुहार, कपाल र शरीर रंगाउने गरिएको छ। त्यस्ता, इनामेल पेन्टहरु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले सचेत भई रंग खेल्न चिकित्सकले आग्रह गरेका छन्। होली पर्व मनाउने तराईका जिल्लाहरुमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।
यसैबीच, सरकारले झापालाई पनि पहाडी जिल्लामा पारेर अघिल्लो दिन बिदा दिएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन्। उनीहरुले हिजो सार्वजनिक बिदा दिइए पनि आज मात्रै होली मनाउने बताएका छन्। सरकारले तराईमा पर्ने झापालाई पहाडसँग जोडेर अरू पहाडी जिल्लासरह होली पर्वको सार्वजनिक बिदा हिजो दिएकोमा असन्तुष्टि व्यक्त गर्दै झापावासीले आज मात्रै होली मनाउने बताएका छन्।