मगर संघको प्रथम महाधिवेशन भएको २०३९ फागुन १५ लाई नै हामीले मगर दिवस तथा मगर संघको स्थापना दिवसको रुपमा मनाउँदै आएका छौं ।

मगरहरुले हरेक फागुन १५ लाई मगर दिवसको रुपमा मनाउँदै आएका छौं । माथि चर्चा गरिएजस्तै नेपाल मगर संघको प्रथम महाधिवेशन भएको मितिलाई नै मगर दिवस मानिन्छ । २०३९ मा मगर संघको पहिलो महाधिवेशन भए तापनि त्यसअघि देखि नै मगरहरु विभिन्न ढंगले संगठित हुँदै आएको पाइन्छ । यहाँ मगरहरु कहिलेदेखि कसरी संगठित हुँदै आए र मगर संघको इतिहास के हो भन्ने बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।
वि.सं. १९९७ मा पहिलो पटक संगठित
मगर समुदायलाई सङ्गठित पार्न सङ्गठनको आकार दिने क्रममा सबभन्दा पहिले वि.सं. १९९७ साल अगावै दार्जीलिङमै थालनी भएको पाइन्छ । नेपालमा पनि शासकहरूको आँखा छल्दै मगर समुदायलाई सङ्गठित गरी चेतना जगाउन वि.सं. २०१२ मा गुल्मीको भार्से भत्रे मगर गाउँमा मगर समाज सुधार संघको भेला श्री गिरीप्रसाद बुढाथोकीमगरको नेतृत्वमा सम्पन्न भएको थियो । त्यसैगरि वि.सं. २०१३ सालमा म्याग्दी जिल्लाको औलो गाउँमा बाढी पीडितलगायत प्राकृतिक विपत्तिमा परेकाहरूलाई सहयोग गर्न र गाउँमा विद्यालय खोली सञ्चालन गर्न तथा मगर समुदायलाई चेतना जगाउने लगायत उद्देश्य राखी मेजर टेकबहादुर पुनमगरको नेतृत्वमा मगर भेला सम्पत्र भएको थियो ।
वि.सं. २०१४ साल फागुन २७ गतेदेखि २९ मेची–कालीबाट विभित्र जिल्लाको ५०० जना प्रतिनिधिहरूको उपस्थितिमा र हजारौं जनताको सहयोगमा मगर सुधार संघको पश्चिमाञ्चल सम्मेलनले गिरीप्रसाद बुढाथोकीमगरलाई नै सभापति चयन गरेको थियो । वि.सं. २०१३ सालमा रणबहादुर आलेमगरले गोर्खामा मगर भेला गरेका थिए भने वि.सं. २०१३ मै एकदेव आलेमगरले तनहुँमा मगर भेला गरेका थिए । वि.सं. २०१४ मा सङ्गठनलाई आकार दिन तनहुँको कुलुङ गाउँमा एकदेव आलेमगरकै नेतृत्वमा मगर सम्मेलन सम्पत्र भएको थियो ।
वि.सं. २०१७ को परिवर्तपछि पञ्चायती व्यवस्थाले राजनीतिक तथा सामाजिक संघ÷संस्थामाथि प्रतिबन्ध लगाएपछि मगरहरूलाई एकजुट पारी अधिकारप्रति सचेत पार्न मगर अग्रजहरूको सल्लाह तथा सुझावमा वनभोज आयोजना गरेर प्रशिक्षण दिने र गोप्य रूपमा सङ्गठित गर्ने गरिन्थ्यो ।
२०२८ मा बन्यो लाङ्घाली परिवार
सुषुप्त रूपमा भएपनि सङ्गठित हुने क्रममा वि.सं. २०२८ मा अध्यक्ष खिलध्वज थापामगर, उपाध्यक्ष माया रानामगर र महासचिव कुलबहादुर रानामगर रहने गरी काठमाडौंमा ‘लाङ्घाली परिवार’ गठन भयो । वि.सं. २०३२ सालमा ‘कानुङ लाङ्घाली परिवार’ रूपन्देहीमा पनि स्थापना भयो । वि.सं. २०३५ देखि २०३६ मा बागलुङ, सुर्खेत, बाँके, दैलेखलगायतका जिल्लामा मगर सुधार समिति, पाल्पामा ‘मगर सुधार समिति’ बन्यो भने कास्कीमा ‘लाङ्घाली परिवार’ गठन गर्ने काम व्यापक हुँदै गयो ।
सबै जिल्लामा छरिएर रहेका सङ्गठनलाई एउटै योजना र साङ्गठनिक पद्धतिभित्र ल्याउने उद्देश्यका साथ वि.सं. २०३६ मा काठमाडौंमा अध्यक्ष डा. हर्षबहादुर बुढामगर, उपाध्यक्ष टोपबहादुर थापामगर, सचिव सुरेश आलेमगर, कोषाध्यक्ष डा. केशरजङ बरालमगर रहेको ‘लाङ्घारी परिवार’ केन्द्रीय तदर्थ समिति गठन भयो ।
वि.सं. २०३८ साल माघ २८ देखि २९ गते बुटवलको रूपन्देहीमा २२ जिल्लाका प्रतिनिधिको उपस्थितिमा ‘कानुङ लाङ्घाली परिवार’ का अध्यक्ष बाबुराम रानामगर र सचिव जयबहादुर हितानमगर रहेको सङ्गठन र पुरानो लाङ्घाली परिवारलाई एउटैमा गाभेर ‘नेपाल लाङ्घाली परिवार संघ’ केन्द्रीय तदर्थ समिति निर्माण भयो । यो नै मगरहरुको पहिलो एकीकृत संगठन हो । सो ९ सदस्यीय तदर्थ समितिमा अध्यक्ष हेमबहादुर पुनमगर, उपाध्यक्ष रणबहादुर आलेमगर, सचिव सुरेश आलेमगर, प्रचारप्रसार सचिव जयबहादुर हितानमगर र कोषाध्यक्ष मनवीर गर्बुजा पुनमगर हुनुहुन्थ्यो ।
प्रहरी घेराबन्दीमा प्रथम महाधिवेशन
वि.सं. २०३९ फागुन १४, १५ देखि १६ गते तनहुँको दमौलीमा तानाशाही पञ्चायती व्यवस्थाको प्रहरी घेराबन्दीबीचमा नै हजारौं मगर समुदायको उपस्थितिमा ‘नेपाल लाङ्घाली परिवार संघ’ को ऐतिहासिक प्रथम महाधिवेशन भव्यताका साथ सम्पत्र भयो । प्रथम महाधिवेशनले अध्यक्षमा हेमबहादुर पुनमगर र महासचिवमा सुरेश आलेमगरलाई निर्वाचित गरी १५ सदस्यीय ‘नेपाल लाङ्घाली परिवार संघ’, केन्द्रीय समिति चयन ग¥यो । त्यसैले फागुन १५ गतेलाई संघको स्थापना दिवसको रूपमा मनाउने गरिन्छ । जसलाई हामी मगर दिवस पनि भन्छौं ।
मगर जातिको इतिहासको विभित्र उतारचढाव बीच गुज्रिरहेको छ भने सङ्गठनको जीवनमा चुनौति र सम्भावनाले लुकामारी गर्दै अगाडि बढ्नेक्रममा समय र युगको छालसँगै आफ्नो संरचना, योजना, कार्यक्रम र मुद्दाहरूलाई परिमार्जित गरेर रूपान्तरण गर्दै आएको छ ।
सङ्गठनलाई फराकिलो, वैज्ञानिक, व्यावहारिक र विकसित गर्नको लागि २०४८ को चौथो महाधिवेशनले ‘नेपाल लाङ्घाली परिवार संघ’लाई नाम परिवर्तन गरी ‘नेपाल मगर संघ’ मा रूपान्तरण गरेको हो । मगर समाज सेवाको नामबाट प्रारम्भ भएको संगठनको विकसित रूप आज संसारभरका मगर समुदायलाई एक ठाउँमा केन्द्रित गर्ने विशाल छाता सङ्गठनको रूपमा नेपाल मगर संघ उपस्थित छ । नेपाल मगर संघले अहिले ६ वटा राष्ट्रियस्तरका भातृ सङ्गठनहरू निर्माण गरी व्यापक परिचालन गरेको छ ।
जसमा, (१) मगर विद्यार्थी, (२) मगर सांस्कृतिक, (३) मगर महिला, (४) मगर सम्पर्क समन्वय, (५) मगर युवा र (६) मगर भूतपूर्व सैनिक÷प्रहरी संगठन छन् । त्यसै गरी नेपाल बाहिर विदेशमा पनि २२ वटा मगर संघ छन् । अन्य सामाजिक संघ÷संस्थाहरू जसले संघको विधान मानेर जाने संस्थालाई संघमा आवद्ध गरेर आवद्धताको प्रमाणपत्र प्रदान गरी सँगसँगै लैजानेसमेत विधानले प्रावधान दिइसकेको छ । नेपाल मगर संघको आफ्नो साङ्गठनिक यात्रामा २५ वटा राष्ट्रिय सम्मेलन सम्पत्र गरिसकेको छ भने ११ वटा राष्ट्रिय महाधिवेशन निम्न समयहरूमा सम्पत्र गरिसकेको छ ।