श्री स्वस्थानी व्रत समाप्त

श्री स्वस्थानी व्रत कथाको आज समापन गरिएको छ । पौष शुक्ल पूर्णिमादेखि शुरू भएर एक महिनासम्म चलेको व्रतको आजकोदिन विधिवतरूपमा समापन गरिन्छ ।

महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकाङ्क्षा पूरा हुने धार्मिक जनविश्वास छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रमण गर्ने र पूजाआजा गर्ने चलन छ ।

विशेष गरी काठमाण्डुको साँखुको शाली नदीमा व्रतालुहरूको आज भीड हुन्छ । यसका साथै देशका विभिन्न जलाशययुक्त स्थानमा पनि श्रद्घालु भक्तजनहरूको भीड हुन्छ । हात गोडाका नङ काटी नुहाइधुवाइ, शुद्ध चोखो लुगा लगाई सक्नेले एक महिनासम्म र नसक्नेले शुरु र आज अन्तिमदिनमा व्रत लिन्छन् । रातो पहिरन, सिन्दूर र हातमा रातो चुरामा सजिएकी विवाहिता महिलाले आफ्नो श्रीमान्को दीर्घायु तथा सम्पन्नताको कामना गर्दछन् भने अविवाहिताले श्री बुद्धि तथा राम्रो भविष्य तथा सुयोग्य वरको कामना गर्दै व्रत बस्छन्् । रातो पहिरन आकर्षक हुनुका साथै यसलाई श्रीवृद्धिको प्रतीक पनि मानिन्छ ।

469