
बिक्रम सम्बतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्र अनुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति‘ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्व पूर्ण मानिन्छ ।साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिरा जस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ । विवाहित महिलाहरू साउने संक्रान्ति देखि साउन महिनाभर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्दछन् ।

लूतो फाल्ने दिन
साउन १ अर्थात् आज नेपाली गाउँघरमा लुतो फाल्ने दिन । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण छालामा देखिन सक्ने सम्भावित रोगबाट मुक्ति पाउनको लागि भनेर परापूर्वकालदेखि नै यो संस्कार चलाउँदै आइएको बुढापाकाहरु बताउँछन् । यो एकातिर सांस्कृतिक महत्वको पर्व हो भने अर्काेतिर मानव स्वास्थ्यको लागि महत्वपूर्ण वनस्पती रक्षा गर्ने एउटा माध्यम पनि हो । तर हिजोआज लुतो फल्ने चलन कम भएसँगै यी वनस्पतिको संरक्षण पनि हुन नसकेको वरिष्ठ पत्रकार भैरव रिसाल बताउँछन् ।
साउन १ गते लुतो फालेपछि छालासम्बन्धी विभिन्न रोगबाट मुक्ति पाउने शास्त्रीय विश्वास छ । पछिल्लो समय यो संस्कारमा कमी आइरहेको भए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याँक्ने संस्कृति मनाउने गरिएको छ । कास्की जिल्लाको भरतपोखरीस्थित प्रसिद्ध कोटभैरव मन्दिरजस्ता केही धार्मिक तीर्थस्थलमा सामाजिक रुपमा नै लुतो फाल्ने प्रचलन रहेको कोटभैरव मन्दिर संरक्षण एवं व्यवस्थापन समितिले जनाएको छ ।
दक्षिणायन आरम्भ
यो दिन देखि सूर्य उत्तरी गोलार्द्धबाट दक्षिणि गोलार्द्ध तर्फ प्रवेश गर्ने भएकोले दिनपछि छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ । यद्यपि प्रत्यक्ष सूर्योदय र सूर्यास्तका बीचको समयलाई दिनमान भनिन्छ । सबैभन्दा छोटो दिनबाट उत्तरायण र लामो दिनमान हुने दिनबाट दक्षिणायन शुरु हुनेकुरा विज्ञान सम्मत र शास्त्र सम्मत पनि कुरा हो । यसरी हेर्दा हाल चलन चल्तीको असार ७ गतेबाट दिनछोटो हुँदै जाने र पौष ७ गतेबाट दिन लामो हुँदै जाने कुरा प्रमाणित हुन्छ । साउन महिनाले नेपाली खास गरी हिन्दू धर्मसँग सम्बन्धित परम्पराका चाडहरूलाई भित्र्याउने भनाइ छ । नेपालभर स्नान, दान, होम, श्राद्धजस्ता विशेष कार्यको सुरूवात यहि दिन देखि गरिन्छ । हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दू धर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ ।