
प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको छाया दर्शन पर्व मंगलबार पशुपति क्षेत्रमा विशेष रुपमा मनाइएको छ ।
सूर्य उत्तरायणतर्फ लागेर दिन लामा र न्याना हुन थालेर हिउँद ओरालो लाग्दा यो पर्व मनाउने गरिन्छ । यस दिन पशुपतिनाथ मन्दिरमा विशिष्ट पूजाअर्चना गरेर सर्वसाधारणलाई पशुपतिनाथको शिवलिंगको छायादर्शन गराउने चलन छ ।
पशुपति क्षेत्र विकास कोषको आयोजनामा स्थानीय नेवा समुदायका भक्तजनले पशुपतिनाथको शिवलिंगको पूजा गर्ने र नयाँ मुकुट पहिराउने चलन छ ।
यसरी पूजा सकिएपछि मन्दिरको दक्षिणपट्टिको चोकमा जल भरेर शिवलिंगको छाया प्रतिविम्बित गराई त्यस स्थानमा आउने भक्तजन तथा तीर्थयात्रीलाई दर्शनको प्रबन्ध मिलाइन्छ ।
यस दिन पशुपतिमा विशेष रहन्छ । आराध्यदेवको प्रतिमाको छाया हेर्न भक्तजनको घुइँचो लाग्छ । यसरी छाया दिउँसोदेखि साँझको आरती अघिसम्म हेर्न पाइन्छ ।
पशुपति क्षेत्र देवपतन, जयबागेश्वरी, गौरीघाट, चाबहिल, कुटुम्वाहल, सिफल, गौशाला, पिंगलास्थान र श्लेष्मान्तक वन आसपासको विशाल क्षेत्रमा फैलिएको छ ।
सनातनदेखि पवित्र वाग्मती नदीको प्रवाहले सिञ्चित पाशुपत क्षेत्रभित्र करिब ४९२ साना ठूला विभिन्न शैलीका मन्दिर, सत्तल, ढुंगेधारा, देवालय, मठलगायत करिब एक हजार शिवलिंग रहेका छन् ।