
नेपाल संवतको नयाँ वर्षको अवसर पारेर नेवार समुदाय मौलिक पर्व म्हपूजा( शरीरको पूजा) गर्दछन्। आत्मशुद्धिका साथै सारा संसारलाई चिन्न र अन्धकार नाश गरी ज्ञानको ज्योति फैलियोस् भन्ने कामनासहित नेवार समुदाय म्हपूजा मनाउने गर्छन्।
म्हपूजाका लागि बिहानैदेखि घरसफा गरिन्छ। विभिन्न पक्वान्न तयार गरी म्हपूजाको तयारी गरिन्छ। साँझमा गरिने म्हपूजाका लागि सुरुमा मण्डप बनाउने स्थानमा रातो माटोले लिपेर शुद्ध बनाइन्छ। पानीको मण्डला बनाई त्यसमाथि तेलको मण्डला बनाइन्छ। अनि चामलको पिठोको मण्डला बनाई त्यसलाई कालो भटमास, आख्य (धानको बोक्रा निकालेर तयार गरेको कालो चामल), लावा, मासको गेडाको सजाई मण्डप तयार गरिन्छ। त्यसको माथि खेलुइता (शिरदेखि चिउँडोसम्मको नापमा बनाइएको मलमल कपडा)को बत्ती राखिन्छ।

घरका सदस्यहरु क्रमशः घरको मूलीदेखी लस्करै मण्डला अगाडि पारेर बस्छन। मण्डलामा बिमिरो, भोगटे, सुन्तला, केरा, ओखर, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, बयर लगायतका फलफूल सजाइन्छ। त्यसको माथि कोखा (काँचो धागोमा पञ्चरंगी कपडाराखेर बनाइएको माला), फूलको माला र सयपत्री फूल राखिन्छ।