
काग तिहार वा कागपूजा कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने तिहार पर्वको पहिलो दिन हो । यस दिन कागको पूजा गर्ने गरिन्छ । काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रीय भक्त पनि मानिन्छ । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषण, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् ।
यमपञ्चकको पहिलो दिन कागलाई मीठो मीठो खाना चढाएर काग तिहार मनाइँदैछ । वैदिक मान्यतानुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । यस दिन कागलाई खान नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूत मानिन्छ । कागलाई खानेकुरा चढाउने (बलि दिने) शास्त्रीय मान्यता भए पनि पूजा गर्ने प्रसंग कतै नभएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
भोलिका दिनदेखि यमदीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यमदीप दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि छ । “तिहारमा काग, कुकुर, गाई, गोवद्र्धन, दाजुभाइ र दिदीबहिनीका अतिरिक्त बलि राजालाई पनि मीठा खाना खान दिने र पूजा गर्ने धार्मिक विधि छ”, उनले भने । यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्यानुसार साँझमा यमदीप दान गरिन्छ ।
