तिलकुन्द चौथी

आजको दिन विवेक र ज्ञानका स्वामी भगवान् गणेशको जन्मोत्सवका रूपमा मनाइन्छ। माघ शुक्ल पक्षको यस चौथीलाई गणेश जयन्ती, विनायक चौथी वा वरद चौथी भनेर पनि चिनिन्छ।

यस दिन विशेष रूपमा तिल र कुन्द (चमेलीको फूल) भगवान् गणेशलाई अर्पण गरिन्छ। तिल र चमेलीको सुगन्धयुक्त परिकारहरू भगवानलाई चढाउने परम्परा रहिआएको छ।

यस अवसरमा व्रत बस्ने, साँझमा गणेश र चन्द्रमाको पूजा गर्ने चलन छ। उत्तर–पूर्व दिशामा पूजा स्थान राखी, नरिवलको तेलको दियो बालेर आरती गर्नुपर्छ। साथै, “ॐ गं गणेश्वराय विघ्ननायकाय नमः” मन्त्रलाई १०८ पटक जप गर्ने विधान छ। भगवान् गणेशलाई तिलको मिठाइ प्रिय मानिन्छ, त्यसैले आज विशेष रूपमा “तिल कुट” अर्थात् तिलको लड्डु चढाइन्छ।

यस दिनको पूजाले दुख–कष्ट निवारण गरी बाधा–अड्चन हटाउने विश्वास गरिन्छ। शास्त्रअनुसार, नियमित रूपमा गणेश पूजाले जीवनका कष्टहरू समाप्त हुन्छन्। प्रथम पूज्य गणेशलाई “संकथरण” पनि भनिन्छ। तसर्थ, तिलकुन्द चौथीको व्रत तथा पूजा गर्नाले सुख–समृद्धि, ऐश्वर्य, वैभव र आन्तरिक शान्ति प्राप्त हुने विश्वास गरिन्छ। साथै, व्यापारमा सफलता र घरमा सधैं समृद्धि रहने मान्यता छ।

1418