
महान कलाकार अरनिको स्मृति दिवस नेपाल र चीन दुबै देशमा विशेष महत्वको साथ मनाउने गरिन्छ । अरनिकोको निधन भएको दिन पारेर विभिन्न कार्यक्रम गरी प्रत्येक वर्षको पुष २३ गते मनाईने यो परम्परा विसं २०५८ सालदेखि सुरु भएको हो ।

सन् १३०६ मार्च ११ तारिखमा ६३ वर्षको उमेरमा कलाकार अरनिकोको चीनमा निधन भएको थियो । उनको समाधिस्थलमा सन् १३१६ मा स्थापित शिलास्तम्भमा उल्लिखित इस्वी मितिलाई रूपान्तरण गरी इतिहास शिरोमणि बाबुराम आचार्यले विसं १३६३ चैत १७ गते उनको मृत्यु भएको उल्लेख गरेका छन् । पञ्चांग समितिले रूपान्तरण गरिदिएको आधारमा हरेक वर्ष पुस २३ गते अरनिको स्मृति दिवस मनाइँदै आएको छन् । ७ सय वर्षअगाडिको इस्वी मितिलाई गरेको रूपान्तरणमा तथ्यता हुन नसक्ने र त्यसरी भिन्नभिन्न मितिमा मनाउने गर्दा वास्तविक मितिमै अन्योल पैदा भएको छ । चीनमा अरनिकोको समाधिस्थलमा स्थापित शिलास्तम्भमा रहेको मिति आधिकारिक मान्नुपर्छ भन्ने मत छ ।
चीन र नेपालको सम्बन्ध सुमधुर बनाउन हाम्रो इतिहासमा धेरै महत्त्वपूर्ण घटना भए । भृकुटीको विवाहपछि महत्त्वपूर्ण घटना मानिन्छ– कलाकार अरनिकोको चीनगमन । दुई देशको सम्बन्ध युगयुगान्तरसम्म मजबुत हुन उनको चीनगमनले ठूलो महत्त्व राख्छ ।
सन् १२४४ मा ललितपुरको पाटनमा जन्मनु भएका अरनिकोले चीनमा गएर आफ्नो कलाकौशलका माध्यमबाट स्वदेशी वास्तुकलाको विदेशमा प्रवद्र्धन गरेका थिए ।

अरनिकोलाई पञ्चायतकालमै राजा महेन्द्रले राष्ट्रिय विभूति घोषणा गरेका थिए । त्यसपछि सन् १३ अप्रिल १९७२ मा नेपाल सरकार, हुलाक सेवा विभागले राष्ट्रिय विभूतिको संस्मरणमा अरनिको चिनाउने पूर्णकद र पृष्ठभूमिमा पैचिङको श्वेत चैत्य चित्रांकित हुलाक टिकट प्रकाशन गर्यो।
अरनिकोको जीवनकाल
कलिलै उमेरमा तिब्बत र त्यसपछि चीन गएर बौद्ध वास्तुकलामा ख्यातिप्राप्त वास्तुकार थिए अरनिको को जन्म कतिपयले पाटनमा भएको उल्लेख गरेका छन् ।
अरनिको राजा अभय मल्लको पालामा सन् १२४५ मा र कसै कसैले १२४४ भन्ने गरेका पाइन्छ । उनको मृत्यु भने १३०६ मा भएको थियो ।

अरनिको कला निर्माणका शैलीबारे जानकार भएका चीनका तत्कालीन सम्राट कुब्ला खाँका गुरु पाहसपाले अरनिकोको नेतृत्वमा, राजा जय भीमदेव मल्लको पालामा ८० जना नेपाली कलाकारलाई चीन जाने व्यवस्था गरेको इतिहास छ । ज्योतिष विज्ञानसमेत जानेका अरनिकोले नेपाली वास्तुकला र नेपाली कलाकारितालाई तिब्बत, बेइजिङ, उथाइसान, भित्री मङ्गोलिया लगायत स्थानमा स्वदेशी मौलिकताका आकर्षक मन्दिर, चैत्य, गुम्बा तथा मूर्ति निर्माण गरेका थिए । अरनिको प्यागोडा शैलीको मन्दिरहरु निर्माण गर्ने दक्ष कलाकार हुन् ।
वाङ्मय शताब्दी पुरुष तथा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी विसं २०१६ मा पहिलोपटक चीन पुग्दा श्वैत चैत्य देखेपछि अरनिकोबारे थप अध्ययन गर्नुभएको थियो । उहाँले ‘नेपालया राष्ट्रिय विभूति कलाकार अरनिकोया श्वेत चैत्य’ नाममा नेवारी भाषामा कृति प्रकाशन गर्नुभएको थियो । त्यस पुस्तकलाई अङ्ग्रेजीमा अनुवाद गरी प्रकाशित गरिएको थियो । ‘कलाकार अरनिको’ कृति समेत प्रकाशन गरिएको थियो ।
मियाओयिंग मन्दिर, बेइजिङ – केही तस्बिर हरु ।





अरनिकोको वास्तविक नाम बलबाहु भए पनि अरनिको नामले परिचित भएपछि चीनको बादशाहले उनलाई क्वान्ह्यु नाइफ र नासथु उपाधि दिएका थिए । उनी र उनको समूहले वास्तुकलाको माध्यमबाट निर्माण गरेका कला, कृति र सम्पदाले नेपाल र चीन दुई देशबीचको सम्बन्धलाई बलियो बनाउनाका साथै सांस्कृतिक धरोहरका रुपमा संरक्षण गर्न महत्व देखिएको प्राज्ञ सुष्मा राजभण्डारीले बताउनुभयो ।
तत्कालीन समयको तिब्बतमा सुनको जलप भएका मूर्ति बनाउने, प्राचीन मूर्तिलाई जीर्णोद्धार गर्दा स्वदेशी शैलीको प्रयोग, नेपाली शैलीका बुद्ध मूर्ति, देवदेवी, पौभा चित्रको विकासमा योगदान गरेको उक्त समूहले बौद्धधर्मका विभिन्न कृति तिब्बतमा पुरायको विश्वास छ ।
नेपाल र चीनको मैत्रीपूर्ण एवं सांस्कृतिक सम्बन्धको प्रतीक बनेको श्वेत चैत्यलाई चीन सरकारले राष्ट्रिय अमूल्य सांस्कृतिक सम्पत्तिको रुपमा घोषणा गरेको छ ।