नेपाल विविध धार्मिक तथा सांस्कृतिक धरोहर, कला, संस्कृति, जात्रापर्वहरूले चिनिएको देश हो । त्यसमध्ये पनि हरिशंकर जात्रा नेपालको एक उल्लेखनीय जात्राको रूपमा चिनिन्छ । यस जात्रामा शिखनारायणलाई हरि र गोपालेश्वरलाई शंकरको रूप पनि मानिन्छ । काठमाडौं उपत्यकाबाट करिब २२ किमी टाढा फर्पिङ सहर अवस्थित छ । सोही फर्पिङमा लिच्छवीकालदेखि नै प्रसिद ‘हरिशंकर’ जात्रा काठमाडौंको इन्द्रजात्रा सकेलगत्तै प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिनदेखि नै सुरु गरिन्छ । यस जात्रामा फर्पिङका सातओटै टोलमा धुमधामका साथ मनाइन्छ ।

यस जात्राको सबैभन्दा पहिलो दिन जोरगणेश मन्दिर परिसरमा (कोटालटोल) गोपालेश्वर (शंकर) चर्तुरमुखी राखिने र दोस्रो दिनमा देवता घर (आगम छें) मा होम गरिन्छ । तेस्रो दिन खटमा राखी कोटालटोल जोरगणेश लाछीबाट कोटालटोलकै दथुलाछीसम्म विभिन्न बाजागाजाका साथै विधिपूर्वक पूजाआजा गरी खट बोकी त्यसै ठाउँमा राखिने चलन छ । खट बोक्ने क्रममा जोरगणेश शिलाको अनुहारमा हुबहु त्यही अनुहारको मुकुट (मुकुण्डो) लगाइन्छ । गोपालेश्वर जात्राको चार दिनपछि बाँकी सम्पूर्ण देवदेवीलाई (सातैवटा) खटमा विराजमान गराइन्छ । सोही दिनदेखि बेलुका बाजागाजासहित फर्पिङ सहरका सातैटोलका बासिन्दाले सातैवटा खटमा राखिएका देवदेवीलाई बत्ती दिने प्रचलन पनि छ ।
त्यसपछि पाँचौ दिन (आश्विन कृष्णनवमी) मा ‘छोयला बु’ (नेवारी भाषा) को रातमा कनकेश्वर, अघोरेश्वर, नन्दीकेश्वर, क्रमशः दक्षिणकाली, निलबराही, इन्द्रायणी खटको यात्रा गरिन्छ । सोही खट यात्राको क्रममा स्थानीय बासिन्दाद्वारा कोछुटोलको झम्केश्वरी मन्दिर परिसरमा काठबाट बनाइएको करिब दुई सय प्वाल भएको (गोनाल) मा घ्यू बत्ती बाल्ने गरिन्छ ।
यहाँ आमधारणा के छ भने फर्पिङ सहरको हरिशंकर जात्रा र भक्तपुरको बिस्केट जात्रा हेरेको छ छैन भन्ने विषयमा मृत्यृपश्चात् यमराजले पनि प्रश्न गर्दछन् । दक्षिणकाली जात्रा (हरिशंकर जात्रा) को समयमा कसैले पनि आफ्नो घरको झ्याल, बरण्डा, कौँशीबाट हेरेको खण्डमा त्यो घरमा अकाल मृत्यृ तथा अनिष्ठ हुने विश्वास रहेको पाइन्छ । ‘छोयला बु’ सोही दिन बिहान सबेरै पिठ–पिठमा ६ राँगा बलि चढाई टोलवासीहरूलाई राँगाको मासु प्रसादस्वरूप वितरण गरिन्छ ।
‘छोयला बु’ को भोलिपल्टको दिन ‘जाभु’ गरिन्छ र जात्रामा सहभागी हुन आउने अदृश्य भूत, प्रेत, पिचाश, राक्षसहरूको आहारको लागि पाकेको निस्तै भात (जाभु) टोल टोलमा राखिन्छ । (जाभुको अर्थ जाः भन्नाले चामलको भात र भुः भन्नाले थाल बुझिन्छ । यो नेवारी भाषा हो ।) तर कतैकतै जाभु अर्थात् पाकेको भात भनेर अपभ्रम्ष गरेको पाइन्छ । तसर्थ बिहान गरिने ‘जाभु’ कोटाल टोलमा रहेको कालभैरव र कोठेपटोलको स्वच्छन्द्द रक्तभैरवलाई क्रमशः राँगा र बोका बलि चढाई दिनभर नै ‘घ्याम्पे’ जात्रा गरिन्छ । बेलुकी बाजागाजाका साथ बत्ती चढाइन्छ । सोही रातमा महालक्ष्मी र शेषनारायण (तिलविक्रमेश्वर, शिखरेश्वर) को खटलाई रातको १÷२ बजेसम्म जात्रा गराएर सम्पन्न हुन्छ ।
घ्याम्पे जात्राको भोलिपल्ट बेलुकीतिर सातै टोलका बासिन्दाहरू बाजा बजाईं सातैओटा खटमा बत्ती दिइन्छ । साथै बत्ती दिइसकेपछि पशुपति मृगस्थलीबाट आउनु भएका कानफट्टा महन्त योगीहरूद्वारा चक्रपूजा (जसलाई प्रसिद्ध जोगी चक्र पूजा ) गरिन्छ । यस समयमा समितिका पदाधिकारी, स्वयंसेवक, जात्रामा सुरक्षा प्रदान गर्नको लागि नेपाल प्रहरी र जताततैबाट यस जात्रा हेर्नका लागि आएका भक्तजनको उपस्थितिमा नौवटा जाँडले भरिएका स–साना घैँटालाई नवदुर्गाको प्रतीक मानेर राँगा (जन्मेको ७ महिना पुगेको) बलि दिइन्छ । साथै कुखुरा पनि बलि दिइन्छ र उक्त स्थानलाई परिक्रमा गरिन्छ ।
यो जोगीचक्र पूजा मृत्यृपश्चात् यमराजले हेरेको छ कि छैन भनेर सोच्छन् भन्ने जनविश्वास रहिआएको छ । जोगीचक्र पूजा सम्पन्न भइसकेपछि सोही रात कुमारी, गोपालेश्वर, महालक्ष्मी, शोषनारायणसहित चारैओटा खटको रातभर जात्रा हुने गर्दछ । गोपालेश्वर (शंकर) र शेषनारायण (हरि) को खट कोछुटोलमा अवस्थित एउटा ठूलो ढुंगामा लगेर सँगै जात्रा गराइन्छ, जसलाई प्रसिद्ध ‘हरिशंकर जात्रा’ भनिन्छ ।
जोगी चक्र पूजा सकेको भोलिपल्ट बिहान फर्पिङ सहरका राजा मानिँदै आएका थकुः जुजु, देवदेवताका पूजारीहरू, रकमीहरू, फर्पिङ सहरका सबै बासिन्दा र जात्रा हेर्नका लागि आएका पाहुना, भक्तजनले बाजागाजाका साथ प्रत्येक खटमा सिन्दुर चढाएर (सिन्दुर जात्रा) जात्रा गरिन्छ । दिउँसोको समयमा नीलबाराही, महालक्ष्मी, कुमारी, शेषनारायणसहित ६ खट प्रत्येक खटलाई लगभग ४०-५० जनाले बोकी जात्रा गरिन्छ । यसको भोलिपल्ट कोटालटोलका बासिन्दाद्वारा बिहानै ‘पुनिखेल’ मा भात पकाई तथा जात्रा सञ्चालन गर्ने परिवारद्वारा (चाकुको योःमरी, लोंचामरी, ठूलो केराउ, नुन, फलफूल, दही चिउरा) पूजाआजा गरी सर्वसाधारणलाई प्रसादस्वरूप खुवाइन्छ ।
त्यसपश्चात् गोपालेश्वरको खटलाई फर्पिङ सहरकै (हालः मनमोहन हस्पिटल, प्रहरी चौकी नजिकै) गोपालेश्वर महादेव मन्दिर परिसर पु¥याएर धुमधामका साथ जात्रा समापन गरिन्छ र रकमी बिसेटहरूले बाँकी सबै खटमा विराजमान भएका देवमूर्ति झिकी संरक्षणमा लाने गर्दछन् । त्यसैले यी सातओटा खटको जात्रा कठोर तान्त्रिक नियममा रही मनाउने चलन छ ।
मुख्य खट दक्षिणकाली माई हो भने हरेक भगवानको खटमा हरिशंकरको मूर्ति राखिएकै हुन्छ । यदि, कुनै भगवानको खटको गहना या कपडा मात्र हराए पनि खट आफ्नो गन्तव्यमा नपुगी घुमिरहने जनविश्वास रहेको पाइन्छ । हरेक खटको मूर्तिको आकार चतुर्मुखी लिंग आकारमा बनाइएको हुन्छ । जुन अरू ठाउँहरूको खटमा राखिने भगवानको मूर्तिभन्दा फरक छ ।
तसर्थ, कुनै समयमा राजा समेतले हेर्ने गरेको यो हरिशंकर जात्रा धेरै नै महत्वपूर्ण मानिन्छ । त्यसैले यो जात्रा फर्पिङ सहरका बासिन्दाले निक्कै हर्षोल्लासका साथ मनाउने गर्दछन् ।