
हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्व समुदायमा भाइरल हेपाटाइटिसबारे जनचेतना फैलाउन विश्व हेपाटाइटिस दिवस मनाउने गरिन्छ। विश्व स्वास्थ्य संगठनले अधिकारिक रुपमा मनाउने दिवसहरु, विश्व स्वास्थ्य दिवस, विश्व रक्तदाता दिवस, विश्व खोप सप्ताह, क्षयरोग दिवस, विश्व सूर्तिजन्य रहित दिवस, विश्व औलो दिवस र विश्व एड्स दिवस) सँगै यो पनि एउटा महत्वपूर्ण दिवस हो।
हेपाटाइटिस दिवस मनाउने इतिहास सन् २००४ अक्टोबर १ मा युरोपियन र केही मध्य पूर्वीय एसियाका देशहरुका बिरामीहरुले हेपाटाइटिस ‘सी’ दिवस मनाएदेखि सुरु भएको मानिन्छ। त्यसपछि विभिन्न देशहरुमा विभिन्न मितिमा हेपाटाइटिस दिवस मनाउन थालिएपछि विश्व हेपाटाइटिस अलाइन्सले १८ मईमा विश्व हेपाटाइटिस मनाउने निर्णय गरिए तापनि सन् २०१० मे महिनामा विश्व स्वास्थ्य महासभाको ६३औँ बैठकले २८ जुलाई हेपाटाइटिस ‘बी’ का खोजकर्ता डा बारुच ब्लुमबर्गको जन्म दिवसमा विश्व हेपाटाइटिस दिवस मनाउने निर्णय गरेसँगै यो दिवस आधिकारिक रुपमा मनाउन लागिएको हो।
विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म हेपाटाइटिसमुक्त विश्वको लागि क्रियाशील रहन सबै देशहरुलाई एकजुट भई कार्य गर्न अनुरोध गरेको छ। हाल लगभग १०० भन्दा बढी देशले यो दिवसलाई अधिकारिता प्रदान गरी विश्व स्वास्थ्य संगठनले निर्धारित गरेको कार्यक्रम अनुसार विविध कार्यक्रम गरी मनाउने गर्छन्।
भाइरल हेपाटाइटिस आजको समयमा एउटा जनस्वास्थ्य संकटको रुपमा फैलिँदै गएको छ। खोपको विकास भइसके पनि विश्वभरि प्रतिवर्ष करिब ९ लाख जना व्यक्तिको मृत्यु हेपाटाइटिस बीको कारणले हुने गर्छ। त्यसैगरी जम्मा जनसंख्याको करिब १० प्रतिशत हेपाटाइटिस बी र १९ प्रतिशत हेपाटाइटिस सीले ग्रसित छन्। ३२५ मिलियन जति जनसंख्या हेपाटाइटिस बी र सीले पीडित छन् भने २९० मिलियनभन्दा बढी व्यक्ति पहिचान नभई हेपाटाइटिसले पीडित रहेको अनुमान छ। तसर्थ यस्तो भयावह रुपमा रहेको भाइरल हेपाटाइटिस विरुद्ध जनचेतना फैलाउन, करोडौंको संख्यामा लुकेर रहेका केसहरुको पहिचान गरी उचित रोकथाम, उपचार तथा यस विरुद्ध एकजुट भई लड्न ठोस योजना बनाउन प्रेरित गर्ने उद्देश्यले विश्व हेपाटाइटिस दिवस मनाउने गरिन्छ।
अहिलेसम्म हेपाटाइटिस ए र बी विरुद्धको खोप प्रचलनमा आइसकेको भए तापनि अन्य भाइरल हेपाटाइटिस विरुद्धका खोपहरु प्रयोगमा आइनसकेको र हेपाटाइटिस ए बाहेकका भाइरल हेपाटाइटिस जीर्ण रुपमा परिणत हुने र कतिपय अवस्थामा सुसुप्त अवस्थामा नै रही कलेजोको सिरोसिस तथा क्यान्सरसम्म भई मृत्यु हुने गर्छ। कलेजोको यस्तो संक्रमणमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धति लगायत परम्परागत चिनियाँ चिकित्सा प्रणालीमा प्रयोग हुने धेरै एकल तथा मिश्रण औषधिहरुले राम्रो प्रभाव पार्ने अध्ययनहरुले देखाएका छन्। यस परिस्थितिमा सबै पद्धतिहरुको वैज्ञानिक प्रयोगले यस रोगमाथि मानव समुदायले सहज जित निकाल्न सक्छ।
भाइरल हेपाटाइटिस के हो?
हेपाटाइटिस भन्नाले कलेजोको कोषहरुको इन्फ्लामेसन वा तीव्र र जीर्ण संक्रमणलाई बुझाउँछ। भाइरल हेपाटाइटिस भन्नाले पाँच किसिमका भाइरसहरुले कलेजोमा गराउने तीव्र (एक्यूट) तथा जीर्ण (क्रोनिक) किसिमको संक्रामक स्थिति हो। यसमा हेपाटाइटिस ए, बी, सी, डी र ई पर्छन्। यसमध्ये हेपाटाइटिस ए र ई संक्रमित खाना तथा पानीबाट सर्छ भने हेपाटाइटिस बी संक्रमितको रगत, वीर्य तथा अन्य तथा शरीरबाट निस्किने तरल पदार्थबाट सर्छ। त्यसैगरी हेपाटाइटिस सी रगतबाट वा ब्लड द्रान्सफ्युजनबाट सर्छ तथा हेपाटाइटिस डी र हेपाटाइटिस बी सँगसँगै भएको पाइन्छ। संक्रमणहरुको यही समूहले विश्वभरि वर्षेनी लगभग १.४ मिलियन अर्थात् चौध लाख मानिसको मृत्यु हुने गरेको छ।
हेपाटाइटिस र आयुर्वेद
हेपाटाइटिस अर्थात् कलेजोको संक्रमणलाई आयुर्वेदका संहिताहरुमा कामला रोगको नामले उल्लेख गरिएको पाइन्छ। आयुर्वेद अनुसार कामला रोगमा रोगीको आँखा, नङ, त्वचा, मूत्र आदि पहेलो वर्णको हुन्छ, यस अनुसार कामलालाई भाइरल हेपाटाइटिसमा देखिने एक लक्षण जन्डिससँग समन्वय गर्न सकिन्छ। यद्यपि जन्डिस लक्षणको रुपमा अरु रोगहरुमा पनि देखिन्छ। कामलालाई शाखागत, कोष्ठाश्रित, कुम्भकामला, हल्लिमक आदि विभिन्न भेद गरिएको छ। यस बाहेक आयुर्वेद संहिताहरुमा यकृत विकार, यकृतप्लीहोदर (हेपाटोस्प्लिनोमेगाली), जलोदर (एसाइटिस) आदि नामले कलेजोका रोगहरुको उल्लेख पाइन्छ।
हेपाटोप्रोटेक्टिभ औषधजन्य वनस्पति
प्रायःजसो आयुर्वेद चिकित्सा प्रणालीमा यकृतविकार तथा कामलामा प्रयोग हुने औषधिहरु नयाँ अध्ययनहरुले हेपाटोप्रोटेक्टिभ अर्थात् कलेजोलाई संक्रमणबाट जोगाउने तथा केही औषधिहरु हेपाटाइटिस बी तथा हेपाटाइटिस सीका भाइरसहरु विरुद्ध कार्य गर्ने हुन्छन्। आयुर्वेदको विभिन्न संहितामा कामला तथा यकृत विकारमा प्रयोग हुने अनेकौं औषधिहरु उल्लेख गरिएका छन्। आयुर्वेदमा मेटेरिया मेडिका भनिने मुख्य निघण्टु भावप्रकाश निघण्टुमा वर्णित ४२६ द्रव्यहरुमध्ये १६ औषधजन्य वनस्पत्ति (द्रव्य) कामलाहर वा यकृतविकारहरको रुपमा, २३ वटा द्रव्य प्लिहाहर (स्प्लिन वा फियो रोग नाशक) र २३ वटा द्रव्य पाण्डुहर (एनिमिया रोगमा उपयोगी) द्रव्यको रुपमा उल्लेख गरिएको छ।
हर्रा, गुर्जो, एरण्ड, घ्युकुमारी, इन्द्र वारुणी, द्रोणपुष्पी, शरपुंखा, द्राक्षा आदि कामलाहर द्रव्यहरुको उल्लेख भावप्रकाश निघण्टुमा पाइन्छ। यस बाहेक भुईं अमला, अमला, रोहितक, कटुकी, कालमेघ, जेठिमधु, टटेलो, काकमाची आदि प्रमुख औषधीय वनस्पतिहरु कामला वा यकृत विकारमा प्रभावकारी मानिन्छन्। विभिन्न आधुनिक अध्ययन अनुसन्धानहरुले पनि यी औषधजन्य वनस्पतिहरु हेपाटाइटिस तथा अन्य कलेजो विकारहरुमा उपयोगी सिद्ध हुने देखाएको छ। हेपाटोप्रोटेक्टिभ औषधजन्य वनस्पतिहरुलाई मुख्यतः तीन किसिमले वर्गीकरण गर्न सकिन्छः
एन्टिहेपाटोटौक्सिक एजेन्टः यस्ता औषधिहरुले कलेजो विषाक्तता उत्पन्न गर्ने द्रव्यहरु विरुद्ध एन्टागोनिस्टको भूमिका खेल्छ। जस्तैः इन्द्रवारुणी। इन्द्रवारुणीमा पाइने कुकरबिटिन र कोलोसिन्थिनले लिपिड परअक्सिडेसनलाई घटाउने तथा ग्लुटाथियोनलाई बढाउने कार्य गर्छ।
हेपाटोद्रोपिक एजेन्टः यस्ता औषधिहरुले कलेजोका बिग्रेका कोषहरुलाई निको पार्ने कार्य गर्छन्। जस्तैः एरण्ड। एरण्डमा पाइने रोडोजेन्थिनले ग्लुटाथियोनलाई बढाउने र कलेजोको नेक्रोज्ड पार्ट वा सडेको बिग्रेको भागलाई निको पार्ने कार्य गर्छ।
हेपाटोप्रोटेक्टिभ एजेन्टः यस्ता औषधिहरुको प्रयोगले कलेजोको संक्रमण हुनबाट जोगाउँछ। जस्तैः हरितकी। हरितकीमा पाइने चेबुलागिक एसिडले रिएक्टिभ अक्सिजन स्पेसिज तथा साइक्लो अक्सिजिनेज २ उत्पन्न हुनबाट रोक्छ।
औषधजन्य वनस्पत्तिहरुमा पाइने सक्रिय फाइटोकन्स्टिच्युएन्टहरु फ्लेवोन्वाइड्स, टरपेन्वाइड्स, पोलिफेनोल्स् (एलाजिक एसिड, गैलिक एसिड, टैनिन), अल्काल्वाइड्स, स्यापोनिन, भिटामिन, क्यारोटेन्वाइड्स, कपर, म्याग्निज, जिंक, जैन्थिन जस्ता तत्वहरुले, सुपरअक्साइड डिस्मुटेज, क्याटलेज, ग्लुटाथिओन, परअक्साइडेज आदि इन्जाइमहरु तथा एन्टिअक्सिडेन्ट तत्वहरुले हेपाटोप्रोटेक्टिभ वा कलेजोलाई सुरक्षित गर्ने कार्य गर्छ। औषधिजन्य वनस्पतिहरुमा पाइने क्वरसेटिन र रुटिन भन्ने सक्रिय तत्वले हेपाटाइटिस सी भाइरसको संख्यात्मक वृद्धिलाई रोक्छ।
त्यसैगरी द्राइटरपेन्वाइड्स, ओलियानोलिक एसिड र युरसोलिक एसिडले पनि हेपाटाइटिस सीको संक्रमकतालाई कम गर्छ। बाइकालिन भन्ने फाइटोकन्स्टिच्युएन्टले हेपाटाइटिस बी भाइरसको भाइरल प्रोटिन र डिएनएको संशलेषनलाई रोक्छ। हेपाटोप्रोटेक्टिभ एक्टिभिटी परीक्षणको लागि एएलपी, एसजिओटी, एसजिपिटी, टोटल बिलिरुबिन, डाइरेक्ट बिलिरुबिन आदि बायोकेमिकल टेष्टहरु गरिन्छ र यिनीहरुको मात्रामा पर्याप्त रुपमा कमी आएको हुनुपर्छ।
भुइँअमलाका प्रजातिहरु फाइलेन्थस एमारस, फाइलेन्थस निरुरी र फाइलेन्थस युरिनेरिया हेपाटाइटिस बी विरुद्ध प्रभावकारी भएको अध्ययनहरुले देखाएको छ। फाइलेन्थस निरुरीले हेपाटाइटिस बी भाइरसको सरफेस एन्टिजेन र डिएनए पोलिमरेज एक्टिभिटीलाई हटाई हेपाटाइटिस बी विरुद्ध प्रभावकारी भएको देखियो। फाइलेन्थिस एमारसको त्यागराजन र टिमद्वारा गरिएको क्लिनिकल द्रायलमा हेपाटाइटिस बी संक्रमित व्यक्तिहरुको रगतबाट हेपाटाइटिस बी सरफेस एन्टिजेन क्लियर भएको देखियो।
एउटा अर्को अध्ययन अनुसार फाइलेन्थस युरिनेरियाको प्रभावकारिता बढी देखियो। त्यसैगरी हेपाटाइटिस सीको सन्दर्भमा बबुल, जेठीमधु, ज्वानो, ल्वाँङ, चव्य, सिलिमेरिन आदिमा गरिएको अध्ययन अनुसन्धानले यिनीहरुको प्रभावकारिता सिद्ध गरेको छ। एउटा अध्ययन अनुसार जेठीमधुमा पाइने ग्लाइसेरिजिन तत्वले हेपाटाइटिस सीको संक्रामक टुक्राहरुलाई रिलिज हुनबाट रोक्छ र पूर्ण आकारको हेपाटाइटिस सी भाइरस र यसको कोर जिनलाई रोक्ने कार्य गर्छ।