
हरेक वर्षको मे १७ तारिख विश्व उच्च रक्तचाप दिवस् मनाइन्छ । विश्वभर उच्च रक्तचाप बिरामीको सङ्ख्या दिनानुदिन बढिरहेको छ । उच्च रक्तचाप मुटुरोगका कारकभध्ये एउटा प्रमुख कारक हो जुन विश्वव्यापी रुपमा एक मुख्य स्वास्थ्य समस्याको रुपमा बढिरहेको छ । उच्च रक्तचाप मुटुरोगका कारकभध्ये एउटा प्रमुख कारक हो जुन विश्वव्यापी रुपमा एक मुख्य स्वास्थ्य समस्याको रुपमा बढिरहेको छ ।
विश्वभर उच्च रक्तचापले चार बयस्कमध्ये १ जनालाई असर गरिरहेको छ भने बर्षेनि १ करोड जनाको मृत्यु भईरहेको छ ।
नेपाल डेमोग्राफिक हेल्थ सर्भे (एन.डि.एच.एस) ले गरेको अनुसन्धान अनुसार नेपालमा १७% महिला र ३१% पुरुषमा उच्च रक्तचाप देखिएको छ । पहिले उच्च रक्तचापलाई बुढ्यौली रोगको रुपमा लिइन्थ्यो भने अहिले यस रोगले उमेर नभनि वयस्कहरुमा समेत देखिएको छ जसको प्रमुख कारण अव्यवस्थित जिवनशैली र मानसिक तनाव रहेको छ ।
के हो उच्च रक्तचाप ?
कुनै व्यक्तिले आराम गरिरहेको अबस्थामा दुई वा त्योभन्दा बढी पटक भिन्दा भिन्दै परिस्थितिमा रक्तचाप जाँच गर्दा उक्त व्यक्तिमा माथिको रक्तचाप १३० वा बढि र तलको रक्तचाप ८० वा बढि भएको अवस्थालाई उच्च रक्तचाप अर्थात हाईपरटेन्सन भनिन्छ । उच्च रक्तचापलाई निम्नाअनुसार बर्गिकरण गरिएको छ (अमेरिकन र्हाट असोसियसन, २०१७)
- नर्मलः १२०/८० भन्दा कम
- एलिभेटेडः १२०—१२९/८०
- हाईपरटेन्सन :
१) स्टेज १: १३०—१३९/८०—८९
२) स्टेज २: १४०/९० भन्दा बढि
उच्च रक्तचाप प्राईमेरी र सेकेन्डरी गरि दुई प्रकारका हुन्छन् । प्राईमेरी रक्तचाप ९५% र सेकेन्डरी रक्तचाप ५% जति हुन्छ । प्राईमेरी रक्तचापको खास कारण थाहा नभएपनि अव्यवस्थित जिवनशैली (चुरोट रक्सी सेवन, मोटोपना, निष्कृय जिवनशैली) र बंशाणुगत मुख्य रहेको छ भने सेकेन्डरी रक्तचापको कारण मृगौलाका रोगहरु, गर्भ निरोधक चक्की, थाईराईड, प्याराथाईराईणका समस्याहरु, मुटुको समस्याहरु हुनसक्छन ।
लक्षणहरु :
- सामान्यतया उच्च रक्तचापका लक्षणहरु नदेखिन पनि सक्छन त्यसैले यसलाई थाहै नपाई सिध्याउने रोग भनिन्छ । नियमित बिरामीको जाँच गर्दा अथवा यसको कारणले भएको कुनै जटिलता पछि मात्र पत्ता लाग्छ जस्तै हृदयघात, पक्षघात ।
- कुनै बिरामीहरुमा रिँगटा लाग्ने, टाउको दुख्ने (पछाडीको भाग), मुटु हल्लने, आँखा धमिलो देख्ने, नाक वा मुखबाट रगत आउने आदि इत्यादि जस्ता लक्षण देखिन सक्छन ।
जाँचहरुः
- उच्च रक्तचापले मुटु, मस्तिष्क, मृगौला, आँखालाई असर गर्ने हुँदा उच्च रक्तचापको बिरामीले चिकित्सकको सल्लाह अनुसार छातीको एक्स रे, इ.सि.जि वा इको, मृगौलाको जाँच, सुगर, बोसो, थाईराईड जाँच गर्नुपर्छ ।
उपचारहरु :
- हाम्रो जनमानसमा एकपटक उच्च रक्तचापको औषधि सेवन गरेपछि जिवनभरी सेवन गर्नुपर्छ त्यससैले औषधि सकेसम्म खानुहुन्न भन्ने गलत सोचाई छ जसले गर्दा दिनानुदिन आकस्मिक रुपमा मानिसहरुको अकालमा ज्यान जानुको साथै हृदयघात र पक्षघात जस्ता जटिलता बढिरहेको छ ।
उपचारको विधि औषधि सेवन र स्वस्थ जिवनशैली गरि दुई प्रकारका छन्
१) जिवनशैली
- रोगीको तौल घटाएर बि.एम.आइ. २५ भन्दा कम राख्नुपर्छ ।
- नुनको मात्रा कम खानुपर्छ । (१ दिनमा ६ ग्राम भन्दा कम)
- फलफूल, सागपात, तरकारी र कम मात्रामा फ्याट भएको डेरी प्रोडक्ट्स खानुपर्छ
- स्याचुरेटेड टोटल फ्याट कम खानुपर्छ ।
- दिनमा लामो लामो पाइला (ब्रिस वाक) कम्तिमा ३० मिनेट हप्ताको ५दिन हिड्नुपर्छ ।
- खाईरहेको औषधि एक्कासी चिकित्सको सल्लहबिना छोड्नुहुँदैन ।
- मानसिक तनाबबाट टाढा रहने जसको लागि दैनिक रुपमा योगा र ध्यान गर्ने ।
- दैनिक रुपमा कम्तिमा ६ घन्टा सुत्नुपर्छ ।
- धुम्रपान र मद्यपानबाट टाढा हुनुपर्छ ।
२ ) माथि उल्लेख गरिएका जिवनशैलीबाट केहि मात्रामा उच्च रक्तचाप घटाउन सकिन्छ र यदि त्यसबाट रक्तचाप लक्ष्यअनुसार नियन्त्रण नभएमा चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुको साथै नियमित फलोअपमा आउनुपर्छ ।
-डा. आनन्द जि.सी
(बरिष्ठ फिजिसियन)