विश्व एड्स दिवस

विश्व एड्स दिवस हरेक वर्ष डिसेम्बर महिनाको १ तारिखका दिनमा मनाइन्छ । यो दिवस मनाउने निर्णय सन् १९८८ मा संयुक्त राष्ट्र संघीय महासभाले गरेको हो ।

सन् २०१७ को अन्त्यसम्म संसारभर ३ करोड ६९ लाख व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान गरिएको छ भने नेपालमा हालसम्म ३१ हजार २० जनामा रहेको अनुमान गरिएको छ । तीमध्ये पुरुष १९ हजार २० र महिलाको संख्या १२ हजार रहेको छ । नेपालमा १५ देखि १९ वर्ष उमेर समुहको जनसंख्यामा एचआईभीको व्याप्तता दर ०.१५ प्रतिशत रहेको निर्देशक डा.पोख्रेलले बताए । 

नेपालमा एचआईभीको वर्तमान अवस्थालाई केन्द्रीकृत महामारीको रुपमा परिभाषित गरिन्छ । यसको अर्थ एक वा सो भन्दाबढी एचआईभी सर्न सक्ने जोखिममा रहेका समूहको एचआईभी संक्रमणदर ५ प्रतिशत भन्दा कम र सामान्य जनसंख्यामा एचआईभी संक्रमणदर १ प्रतिशतभन्दा कम हुनु हो । 

नेपालमा सुईद्धारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेश्रो लिङ्गीहरु, रोगजारीका लागि विदेशिनेहरु र जेलका कैदीहरु नेपालको एचआईभी संक्रमणको उच्च जोखिममा रहेका छन् ।

नेपालको कुरा गर्ने हो भने सन् २०१० को तुलनामा सन् २०१७ सम्ममा ६१ प्रतिशतले नयाँ संक्रमण घटेको छ भने ६३ प्रतिशत बच्चाहरुमा हुने नयाँ संक्रमणमा कमी आएको बुझिएको छ । सोही वर्षहरुमा मुत्यू हुने संख्यामा पनि २३ प्रतिशतले कमी आएको सरकारको भनाई छ । सन् २०१० देखि सन् २०१७ लाई हेर्ने हो भने ५३ प्रतिशत अर्थात १६ हजार ४ सय २८ जना एचआइभी उपचारमा छन् ।

सन् २०३० सम्ममा महामारीलाई अन्त्य गर्नको लागि सरकार, दातृ निकायले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेको हुदाँ योजनाअनुसार काम सफल हुने सरकारको विश्वास छ ।  हाल सरकारले एचआईभी संक्रमितलाई निशुल्क औषधी, निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । निर्देशक पोखरेलका अनुसार प्रतिव्यक्ति संक्रमितलाई औषधि खुवाउनको लागि वर्षमा १५ हजारको खर्च गर्दै आइरहेको छ ।   

251