शुक्र अस्त

जब शुक्र सूर्यसँग १० डिग्रीभन्दा कम कोणमा आउँछ तब अस्त मानिनेछ र उसले दिने फल कमजोर हुन्छ र पूर्ण रूपमा निष्क्रिय मानिनेछ । शुक्र ग्रहलाई धन, ज्ञान, धर्म, विवाह, प्रेम, विलासिता, सन्तान र शुभ कार्यको प्रमुख कारक ग्रह मानिन्छ । यो ग्रहलाई शुभता, मार्गदर्शन र विवेकको प्रतीक पनि मानिन्छ । त्यसैले जब यो ग्रह अस्त हुन्छ तब यसको शुभ प्रभावहरू पृथ्वीका कम आउने विश्वास गरिन्छ र शुभ कार्यहरू गरिँदैन । महत्त्वपूर्ण दुई शुभ ग्रहहरू शुक्र र बृहस्पति अस्तको समयमा शुभ कार्य थालनी गर्नुहुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

शुक्र अस्त हुँदा के गर्नु हुन्छ ?

शुक्र र बृहस्पति अस्त हुँदा अस्त भएको समयमा नित्य गरिने कर्म जस्तै स्नान, सन्ध्या, पाञ्चायन पूजा, चातुर्मास्यव्रत, तुलसी पूजा एवम् विवाह, तुलसीको मठमा हवन, रामनवमी आदीको व्रतजस्ता अर्को गति नभएका नित्य कर्महरू र श्राद्ध, तर्पण, आशौच, मृतकको क्रिया, ग्रहणस्नानादी, नैमित्तिक कर्महरू गर्नुहुन्छ ।

शुक्र अस्त हुँदा के गर्नु हुँदैन ?

तर शुक्र अस्तको समयमा इनार, बगैँचा, तलाउ वा कुवा निर्माण गर्नु, गृहरम्भ वा गृहप्रवेश, मन्दिर आदि निर्माण, देवतास्थापना, प्राणप्रतिष्ठा आदी, चान्द्रायाणदी व्रतको आरम्भ र उद्यापन, वधुप्रवेश, तुलादानादि माहादान, सोमयाग, अष्टकाश्राद्ध, आग्रायणेष्टि, जलशाला निर्माण, प्रथमउपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, शिशुको अतिक्रान्त संस्कार, दीक्षाग्रहण, चुडा, व्रतबन्ध, विवाह, कहिल्यै नगरिएको देवताको दर्शन, कहिल्यै नगएको तीर्थयात्रा, अग्निहोत्र, सन्यासव्रत, चतुर्मास्ययाग, प्रथम राजदर्शन, राज्याभिषेक, समावर्त, कर्णवेध जस्ता शुभ कार्यहरू गर्नु हुँदैन भनी शास्त्रमा वर्णन गरिएको छ ।

2308