
बागमती प्रदेश सरकारले नेपाली भाषाका अतिरिक्त तामाङ भाषा र नेपाल भाषा (नेवाः भाषा) लाई पनि सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने ऐतिहासिक निर्णय गरेको दिन २०८१ साल वैशाख २४ गते हो। यस दिनलाई प्रदेश सरकारले सरकारी कामकाजको ‘आधिकारिक भाषा दिवस’ (Official Language Day) का रूपमा मनाउने निर्णय गर्दै प्रदेशभर सार्वजनिक विदा पनि घोषणा गरेको थियो।
प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० अनुसार कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । ऐनको दफा (१) को उपदफा (३) बमोजिम प्रदेश राजपत्रमा प्रकाशित भएको एक सय ८० दिनदेखि कार्यान्वयन हुने व्यवस्था गरिएको थियो । जसअनुसार २०८१ वैशाख २४ गते ऐन कार्यान्वयन भएको एक सय ८० दिन पुगेकाले त्यस वर्ष पहिलो पटक प्रदेश भाषा दिवस मनाइएको हो ।
नेपालको संविधानको धारा ७ अनुसार संघीय सरकारले नेपाली भाषालाई सरकारी भाषा मानेको भए पनि, प्रत्येक प्रदेशलाई आफ्ना भाषिक सन्दर्भअनुसार एक वा बढी भाषालाई सरकारी कामकाजका लागि अपनाउने अधिकार छ। यसै सन्दर्भमा बागमती प्रदेशले नेवारी (नेपाल भाषा) र तामाङ भाषालाई समेत कार्यान्वयनमा ल्याईसकेको छ, जसले भाषिक पहिचान र समावेशीतामा नयाँ अभ्यासको सुरुवात गरेको छ।
यो दिवसले प्रदेशभित्र भाषिक विविधताको सम्मान, संरक्षण, र प्रवर्द्धनको सन्देश दिन्छ। प्रदेश सरकारले सबै नागरिक, समुदाय, र सरकारी निकायहरूलाई यो दिनलाई भाषाको अधिकार र पहिचानको उत्सवका रूपमा मनाउन आह्वान गरेको छ।