विश्व द्वन्द्वमा यौन हिंसा उन्मूलनको दिवस

नेपालसहित संसारभर प्रत्येक वर्ष जुन १९ मा यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष यो दिवस मनाउने घोषणा सन् २०१५ जुन १९ मा गरेको हो । 

युद्धका समयमा यौन हिंसामा पर्नेहरूका वेदनाको सम्बोधन गरी अधिकारको प्रत्याभूत गर्दै विश्वसमक्ष उनीहरूका आवाज बुलन्द बनाउन तथा द्वन्द्वका समयमा हुने यौन हिंसाको उन्मूलनका लागि दिवस महत्वपूर्ण मानिन्छ ।  द्वन्द्वमा हुने यौन हिंसाको अन्त्य गर्न आवश्यक जनचेतना जगाउने मुख्य उदेश्य दिवसको रहन्छ । 

दिवसका अवसरमा विश्वमा विभिन्न समयमा भएका द्वन्द्वका बेला यौन हिंसाबाट पीडित भएका र यस्ता अपराधको अन्त्यका लागि साहसपूर्वक आफ्नो जीवन समर्पण गर्नेहरुलाई सम्मान गर्ने गरिन्छ । बलात्कार, यौन दासत्व, जबरजस्ती वेश्यावृत्ति, गर्भावस्था, गर्भपतन, बिहे लगायत यौनसँग जोडिएका जबरजस्तीपूर्ण घटनालाई यौन हिंसा मान्ने गरिन्छ । 

यस्ता घटना विशेष गरेर महिला र बालबालिकासँग जोडिने गरेको छ । यस्ता अपराधको सम्बन्ध द्वन्द्वसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको हुन्छ । द्वन्द्वको अवस्थामा प्रतिवद्ध भएका वा नभएकामाथि पनि यौन हिंसा वा शोषणजस्ता अपराध हुने गरेको छ । 

नेपालमा चलेको एक दशक लामो सशस्त्र द्वन्द्वमा पनि यस्ता अपराध धेरै भए । यस्ता अपराध हुनुमा राज्य र तत्कालीन विद्रोही माओवादी उत्तिकै जिम्मेवार छन् । त्यतिबेला मुलुकमा यौन हिंसा लगायत मानवअधिकार उल्लङ्घनका गम्भीर अपराधहरु भए । 

तर शान्ति प्रक्रिया सुरु भएको १६ वर्ष पुग्न लाग्दा पनि सशस्त्र द्वन्द्वका समयमा महिला तथा बालबालिकामाथि भएका यौन अपराधजस्ता  गम्भीर मानव अधिकार उल्लङ्घनका सवालहरूलाई सम्बोधन गर्ने प्रयास भइरहेको छैन । द्वन्द्व पीडित तथा प्रभावित महिलाको आत्मसम्मानसहितको सत्य, न्याय र परिपूरणका लागि आवाज उठाइएको छैन । 

सङ्क्रमणकालीन न्यायलाई कानुनी व्याख्याको परिधिबाट फराकिलो पार्दै स्वन्याय, पारीवारिक न्याय र सामाजिक न्यायको अनुभूति गर्ने संयन्त्र र वातावरण निर्माण नगर्दा पीडितहरु अझै पनि छटपटाइरहेका छन् । द्वन्द्वमा यौन हिंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवसका अवसरमा यौनजन्य अपराधबाट पीडित बनेकाको संरक्षणका लागि आवाज उठाउने गरिए पनि राज्यले त्यसको सुनुवाइ गरेको पाइँदैन । 

1310