
आज पुस्तक लेख्नेहरुको उत्सव तथा पुस्तक पढ्नेहरुको उत्सव । अझ भनौँ न पुस्तकमा रमाउनेहरुको उत्सव । सन् १९९५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा साँस्कृतिक संगठन युनेस्काको महासभाले अप्रिल २३ को दिनलाई विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । सोही अनुसार हरेक वर्ष यो दिव मनाउने गरिएको छ । यो वर्ष आदिवासी भाषालाई जोड दिएर दिवस मनाईंदै छ ।
विश्व पुस्तक दिवस कार्यक्रमको अपनत्व युनेस्कोले लिँदै आएको छ । विशेष गरी युवा पुस्तामा पढ्ने बानीको विकास गर्न पुस्तक दिवस मनाइन लागिएको हो ।
सन् १६१६ अप्रिल २३ मा विश्व साहित्यमा महत्वपूर्ण योगदान गर्ने विलियम्स शेक्सपियर र इनका गार्सिलासो पी ला वेगाको स्मृति दिवसको दिनको सम्झनामा हरेक वर्ष विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाउने गरिएको हो । यो दिन विश्व साहित्यमा महत्वपूर्ण दिनको रुपमा लिइन्छ । नेपालमा भने केही वर्ष अघिदेखि मात्र यो दिवस मनाउन थालिएको हो ।
त्यसो त अप्रिल २३ का दिन अन्य विश्वप्रसिद्ध साहित्यकारहरुको स्मृति दिवस पनि पर्दछ । प्रसिद्ध स्पेनिस साहित्यकार मिगेल डि सेर्भान्टेसको स्मृति दिवस पनि आजकै दिन पर्दछ । त्यस्तै मौरिस ड्रुअन, जोसेप प्ला तथा ह्यालडोर ल्याक्सनेसको पनि जन्म तथा स्मृति दिवस अप्रिल २३ का दिन नै पर्दछ ।
पुस्तक दिवसको प्रचलन स्पेनबाट सुरु भएको हो । अप्रिल २३ का दिन स्पेनमा ‘गुलाब दिवस’ मनाइन्थ्यो । भ्यालेन्टाइन दिवसका दिन जस्तै एक अर्का गुलाब साटासाट गरेर एकअर्काप्रति माया र सद्भाव साट्ने गर्थे । तर सन् १९२६ मा स्पेनिस लेखक मिगेल डि सेर्भेन्टासको स्मृति दिवस पारेर गुलाबको साटो स्पेनी नागरिकहरुले पुस्तक आदान–प्रदान गर्न थालियो । स्पेनमा सन् १९२६ बाटै पुस्तक दिवस जस्तै गरी विशेष कार्यक्रम मनाइन्थ्यो । त्यसैबाट विश्व पुस्तक दिवस मनाउने अवधारणा आएको थियो । विश्व पुस्तक दिवसका दिन विश्वभर नै विभिन्न साहित्यिक उत्सव तथा समारोहहरु मनाइन्छ ।
तर बेलायत र आयरल्याण्डमा भने अप्रिल २३ का दिन पुस्तक दिवस मनाइँदैन । अप्रिल २३ का दिन बेलायत र आयरल्याण्डमा सेन्ट जर्ज डे मनाइने भएकाले मार्च १ का दिन नै पुस्तक दिवस मनाइने गरिन्छ ।
कुनै पनि सृजनशील व्यक्तिले आफ्नो बुद्दी, विवेक, समय, श्रम र रकम खर्च गरि समाजलाई हित गर्ने उपयोगी रचना, भिडियो, अडियो या आविष्कारक गर्दछ भने त्यो उसको आफ्नो व्यक्तिगत बौद्दिक सम्पती हो । पछिल्लो समय विश्वमा यस्ता बौद्दिक सम्पती प्रविधिको सहजताका कारण समाजमा सजिलैसँग उपलब्ध छ । संचार र सुविधाको यस युगमा यस्ता बौद्दिक सम्पतीको अतिक्रमण, चोरी र दुरुपयोग पनि सहजताका साथ भइरहेको छ ।
कुनै पनि बौद्दिक सम्पती यदि मौलिक रुपले सिर्जित छन् र ठोस मध्यम( कुनै पनि सोच या विचार लिखित या अधिकारिक रुपमा) प्रसारित छन् भने प्रतिलिपि अधिकारबाट सुरक्षित रहने छन् । र, यस्ता अधिकार प्राप्त बौद्दिक सम्पतीको नक्कल, पुनरुत्पादन, बिक्री वितरण एवं व्यवसाय गरेमा एक पटकमा रु. एक लाख सम्मको जरिवाना वा ६ महिनासम्मको जेल या दुवै सजायका अतिरिक्त अन्य क्षेतिपूर्ति तिर्नुपर्ने व्यवस्था प्रतिलिप अधिकार ऐन, २०५९ मा रहेको छ ।
नेपालमा पनि पछिल्ला केही वर्ष यता विभिन्न कार्यक्रम गरेर पुस्तक दिवस मनाइने गरिन्छ । पुस्तक दिवसकै अवसर पारेर साथीसंगीबीच पुस्तक उपहार दिने चलन पनि नेपालमा बढ्दै गएको छ ।