
नेपाली प्रजातान्त्रिक जागरुकता अनि बहुदलको इतिहासमा लेखक अनि साहित्यकारहरुको ठुलो देन छ । त्यासैले हरेक वर्ष चैत्र ३ मा राष्टिय लेखक दिवस मनाउने चलन छ । चैत्र तीन मा यही कुरा अनि प्रसंगको सम्झना स्वरुप लेखक दिवस मनाइएको हो ।
नेपाली प्रजातन्त्रको आन्दोलनको दियोको संरक्षणमा कलाकार अनि लेखको विशिष्ट योगदानको कदर गरिँदै चैत्र ३ का दिन हरेक वर्ष लेखक दिवस मनाइन्छ । हामी सबैजना लेखक नै हौं, शब्दमा भाव अनि यर्थाथ हुन जरुरी छ । समाजको दर्पण शब्द हो अनि प्रतिबिम्ब लेखकले बनाउँदछन् ।
राष्टिय लेखक दिवस २०४६ को आन्दोलनपछि औपचारिक रुपमा घोषणा भएको हो । निरकुंश राजतन्त्र विरुद्ध वामपन्थीहरुले छेडेका आन्दोलनमा नेपाली कांग्रेसका गणेशमान सिंहले आफ्नो नेतृत्वमा समर्थन गरेका थिए । उनलाई यस आन्दोलनको सर्वोच्च कमाण्डर नै मानिन्छ ।
नेपालको हरेक सामाजिक र राजनैतिक विकासक्रम अनि आन्दोलनमा प्रगतिशील लेखकहरुको ठुलो भूमिका छ । आन्दोलनमा गाइने गीत देखि प्लेकार्डका शब्द अनि गीत देखि व्यङ्ग्यसम्म यिनै लेखकले तय गरिदिन्छन् । कविताका फोहोराले प्रहरीको गोली त बिर्साएको थियो। चाहे त्यो ४६ साल होस् या ६२ र ६३ कै आन्दोलन किन नहोस् ?
अहिले त सामाजिक सञ्जालको डीजिटल युगमा लेखक अनि विश्लेषकहरुले विचार र विश्लेषणको दिनहुँ उजागर कार्य गर्दछन् । तर उतिबेला ४६ साल ताका कुरा पृथक थियो । फेसबुकको स्ट्याटस हैन भौतिक उपस्थिति र चिच्याहटले आन्दोलनलाई साकारोक्ति दिने गर्दथ्यो । वि.सं. २०४६ चैत्त ३ मा जनआन्दोलनलाई समर्थन गर्दै लेखक अनि कलाकारहरुले मुखमा कालोपट्टी बाँधेर आन्दोलन गर्ने निश्चय गरियो ।
एकेडेमी हल अगाडि गरिने भनिएको उक्त आन्दोलनको सुइको सरकारले पहिल्यै पाएकाले चैत्र ३ मा उक्त स्थानमा प्रहरी विहानैबाट तैनाथ थिए । पछि उक्त विरोध कार्यक्रम त्रिचन्द्र कलेजमा गरियो । कलाकार अनि लेखकको यो आन्दोलनले जनमानसको आन्दोलन प्रतिको विश्वास अझ बढ्ने तय थियो ।
करिब १७५ जति श्रष्टाहरु त्रिचन्द्रमा बसेर आन्दोलनको समर्थनमा बस्न मात्र के लागेका थिए। प्रहरीले बर्बरतापूर्वक हस्तक्षेप गरेको थियो । तत्कालीन सरकारलाई लेखक अनि नागरीक समाजको यो ठाडो चुनौती थियो । विभिन्न श्रष्टाहरुलाई समातेर महेन्द्र पुलिस क्लबमा राखियो । साहित्यकार पारिजातको स्वास्थ्य ठिक नभएको र समातेर गाडीमा राख्नुपर्ने भएकाले पक्राउ गरिएन । धेरैलाई त प्रहरीले बग्गीखानामा लगेर भीडियो क्यामेराले बयान पनि खिचेरै लियो ।
निन्दा अनि जनताको सरकार प्रतिको हेयभाव लेखक पक्राउ पछि झनै बढेको पत्तो पाएर एक एक गरि लेखक र कलाकारलाई मुक्त गरियो । यसरी ४६ सालको जनआन्दोलनले पुनः गतिशीलता पायो र चैत्र १६, १७ हुँदै आन्दोलन अघि बढ्दा काठमाण्डाँैका हरेक चोक र चौराहमा आन्दोलन दन्किन थालिसकेको थियो । चैत्र २६ गते महाप्रदर्शनीको तयारी थियो र कफ्र्यू आदेशका बावजूद जनमानसको भीमकाय सहभागिताको त्रास र चापमा तत्कालीन सरकारले बहुदलको घोषणा गरेको थियो ।