
हरेक वर्ष नोभेम्बर ४ तारिखका दिन संसारभर “युनेस्को दिवस” मनाइन्छ। दोस्रो विश्वयुद्धपछि विश्वले देखेको विभाजन, हिंसा र घृणाले मानव सभ्यतालाई गम्भीर संकटमा पारेको थियो। त्यही पृष्ठभूमिमा शान्ति, शिक्षा, विज्ञान र संस्कृतिको माध्यमबाट विश्व एकता र आपसी समझदारी कायम गर्न सन् १९४५ १६ नोभेम्बर मा लन्डनमा भएको थियो। यसको संविधान ४ नोभेम्बर १९४६ मा लागू भएको हो। यही ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष नोभेम्बर ४ मा युनेस्को दिवस मनाउने परम्परा सुरु भएको हो।
नेपालमा युनेस्कोको स्थापना
नेपालले १ मे १९५३ मा युनेस्कोको सदस्यता प्राप्त गरेको हो। नेपालको काठमाडौँमा युनेस्कोको कार्यालय १९९८ मा स्थापना भएको हो। यस कार्यालयले शिक्षा, विज्ञान, संस्कृति र सञ्चारका क्षेत्रमा नेपाल सरकार र विभिन्न संघसंस्थासँग मिलेर कार्य गर्दै आएको छ।
युनेस्कोको मुख्य उद्देश्य
युनेस्कोको मुख्य उद्देश्य विश्वभर शान्ति र सहयोग प्रवर्द्धन गर्नु हो। यस संस्थाले शिक्षा, विज्ञान र संस्कृति क्षेत्रमार्फत राष्ट्रहरूबीचको आपसी सम्बन्ध मजबुत बनाउन योगदान पुर्याउँदै आएको छ। शिक्षा सबैको पहुँचमा पुर्याउने, निरक्षरता अन्त्य गर्ने र हरेक बालबालिकालाई आधारभूत सिकाइको अवसर उपलब्ध गराउने यसको प्रमुख लक्ष्य हो। साथै, सांस्कृतिक सम्पदाहरूको संरक्षण, परम्परागत ज्ञानको सम्मान, र विभिन्न समुदायका सांस्कृतिक विविधतालाई प्रवर्द्धन गर्न युनेस्कोले विश्वभर धेरै कार्यक्रम सञ्चालन गरेको छ।
यस संस्थाको कार्यक्षेत्र शिक्षा र संस्कृति मात्र सीमित छैन। प्राकृतिक सम्पदा संरक्षण, जलवायु परिवर्तनका असरहरू घटाउने प्रयास, र सञ्चार तथा सूचनाको स्वतन्त्रता प्रवर्द्धनमा पनि युनेस्कोको उल्लेखनीय योगदान छ। विश्वका विभिन्न देशहरूमा सञ्चार माध्यमहरूको स्वतन्त्रता र विविधता सुनिश्चित गर्न यस संस्थाले विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गरेको छ।
युनेस्को दिवसले हामीलाई शिक्षा र ज्ञानको महत्व सम्झाउँछ। शिक्षा केवल व्यक्तिगत सफलता र रोजगारीका लागि होइन, सामाजिक एकता र मानवताको मूल आधार हो। यसले हाम्रो सोच, दृष्टिकोण र व्यवहारलाई सभ्य र समावेशी बनाउँछ। युनेस्कोले देखाएको बाटो भनेको सबैले समान अवसर पाउन सक्ने, विविधतालाई स्वीकार गर्ने र सहअस्तित्वमा विश्वास गर्ने विश्व निर्माण गर्ने प्रयास हो।
नोभेम्बर ४ को यो दिन हामी सबैका लागि स्मरणको दिन हो – शान्ति, शिक्षा र संस्कृतिको माध्यमबाट मानवताले एकअर्कासँग कसरी मिलेर अघि बढ्न सक्छ भन्ने कुरा पुनः आत्मसात् गर्ने अवसर हो। युनेस्को दिवसले हामीलाई हाम्रो समाज, संस्कार र मूल्यप्रतिको जिम्मेवारी सम्झाउँछ र साँचो अर्थमा शान्तिपूर्ण तथा समावेशी विश्वको कल्पनालाई बल दिन्छ।