
नेपालमा गोरखापत्र प्रकाशन आरम्भ भएको विसं १९५८ वैशाख २४ गतेको स्मरणमा सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो ।
विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो । एक शताब्दीभन्दा लामो इतिहास बोकेको गोरखापत्र मुलुकको गौरवशाली प्रकाशन हो । गोरखापत्र प्रकाशनको प्रारम्भदेखि १९९१ साल वैशाख ८ गतेसम्म हप्ताको एक दिन सोमबार र त्यसपछि २००१ साल असोजसम्म बुधबार प्रकाशन हुन थाल्यो । पछि साताको दुई र तीन पटक हुँदै २०१७ साल फागुन ७ बाट दैनिक भएको हो ।